दाहालको प्रतिवेदनमा न्यौपानेको फरक मत

'ओलीसँग छापामार तरिकाको एकता गम्भीर सैद्धान्तिक गल्ती थियो'

काठमाडौँ — माओवादी केन्द्रको ८ औँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् । अध्यक्ष दाहालले विगतमा गरेका राजनीतिक निर्णय र आगामी कार्यदिशाबारे न्यौपानेले फरक मत राखेका हुन् । 

'ओलीसँग छापामार तरिकाको एकता गम्भीर सैद्धान्तिक गल्ती थियो'

प्रज्ञा भवन कमलादीमा जारी बन्दसत्रको चौथो दिन बिहीबार न्यौपानेले फरक मत राखेका हुन् । उनले एमालेसँगको एकतादेखि लिएर अध्यक्ष दाहालको व्यक्तिवादी प्रवृत्तिको आलोचना फरक मतमा राखेका छन् ।

'एमालेसँगको चुनावी तालमेल र कार्यगत मोर्चासम्मलाई सही मान्न सकिन्छ तर शान्तिपूर्ण संसद्‌वादमा डुबेको, उदारवादी अर्थतन्त्रको घोडा चढ्ने र ओलीजस्तो दक्षिणपन्थी विचारको नेतृत्वसँग छापामार तरिकाले गरिएको एकता सैद्धान्तिक र प्रक्रियागत हिसाबले गम्भीर गल्ती थियो,' न्यौपानेले राखेको फरक मतमा लेखिएको छ, 'हामी सबै मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ । तपाईंका प्राय: सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिँदैन । सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र । यसको एउटा उदाहरण तपाईंले नेकपाकालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको छ भने हामी भन्ने एक ठाउँमा मात्र ।'

एमालेमा देखिएको 'बा' प्रवृत्ति माओवादीमा पनि देखिन थालेको भन्दै न्यौपानेले फरक मतमा लेखेका छन्, 'हामीले ओलीभित्रको 'बा' प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको 'बा' प्रवृत्ति देखिएको छ ।'

न्यौपानेले श्रम नगर्ने तर लाखौं खर्च गर्ने नेता र कार्यकर्ताका कारण पार्टीमा समस्या उत्पन्न भएको बताएका छन् । 'श्रम नगर्ने वा उत्पादनसँग नजोडिएका नेता–कार्यकर्ताको सघनता जब पार्टीमा देखा पर्दछ तब त्यहाँ दलाल पुँजीले हैकम चलाउँछ । बिनापसिना, उत्पादनसँगको बिनासहकार्य दैनिक लाखौं गरिने हाम्रा नेता–कार्यकर्ताहरूको खर्चको स्रोत के हो ? हामीमाथि विरोधीले आक्रमण गर्ने हतियार यही हो,' उनले लेखेका छन् ।

अध्यक्ष दाहालको प्रतिवेदनले धरातलीय यथार्थ नबोकेको पनि न्यौपानेको फरक मतमा उल्लेख छ । 'यो प्रतिवेदन माथि-माथि उडान गरेको तर जमिनमा खुट्टा टेकेको छैन । जमिनमा खुट्टा टेकाउनका लागि नेपाली समाजको आजको चरित्र अथवा अन्तरविरोधहरू, वर्गहरूबीचको सम्बन्ध र संघर्ष, उत्पादन प्रणाली, उत्पादनका साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे अनिवार्य विश्लेषण हुनुपर्छ,' उनले लेखेका छन् ।

पढ्नुहोस् पूर्णपाठ :

प्रकाशित : पुस १५, २०७८ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?