दाहालको प्रतिवेदनमा समूहगत छलफल : कार्यान्वयनबारे प्रतिनिधिहरु सशंकित
काठमाडौँ — माओवादी केन्द्रको ८ औँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको 'एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो' शीर्षकको राजनीतिक प्रतिवेदन कार्यान्वयनको विषयलाई प्रतिनिधिहरुले आशंका व्यक्त गरेका छन् ।
अध्यक्ष दाहालले सोमबार बन्दसत्रमा पेस गरेको राजनीतिक प्रतिवेदनमा मंगलबार २५ समूहमा छलफल भएको थियो । समूहगत छलफलमा दाहालको प्रतिवेदन सकरात्मक रहेको तर त्यसलाई कार्यान्वयमा शंका रहेको प्रतिनिधिहरुले बताएका हुन् । २५ औँ समूहको नाम दिइएको जनवर्गीय संगठनका फ्याक्सन इन्चार्जहरूले अध्यक्ष दाहालको दस्तावेजको कार्यान्वयनको पक्षबारे चिन्ता र शंका व्यक्त गरेका छन् । उक्त समूहमा रहेका तिलकराज भण्डारीले भने, 'सबैको दस्तावेजप्रति सकरात्मक बुझाइ छ । कार्यान्वयनको पक्षमा भने प्रश्न छ । दस्तावेज कार्यान्वयन हुन्छ कि हुँदैन ? अध्यक्ष प्रचण्डले जे समीक्षा गर्नुभएको छ त्यो कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने सबैको प्रश्न छ ।'
सबै विभागका प्रतिनिधिहरू रहेको समूहको संयोजन गरिरहेका मायाप्रसाद शर्माले प्रतिवेदन कार्यान्वयनमा अध्यक्ष दाहालले नै कस्तो भूमिका खेल्छन् भन्ने प्रश्न उठेको बताए । 'प्रतिवेदनमा जुन रुपान्तरणको विषय ल्याउनुभएको छ त्यो उहाँबाटै व्यवहारमा लागु गर्नुपर्छ भन्ने कुरा उठेका छन्,' उनले भने ।
सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीसमेत रहेका मानबहादुर धामीले अध्यक्ष दाहालले आफ्नोबारे नै निर्मम आत्मसमीक्षा गरेको विषयलाई लिएर प्रतिनिधिले सकरात्मक रूपमा लिएको बताए । 'पार्टीमा पुरक प्रस्ताव पनि आएको छ । त्यसलाई पनि सम्मान गर्नुपर्छ भन्ने कुरा उठेका छन् । अध्यक्षको प्रस्ताव कार्यान्वयनमा लैजाने विषयमा अहिलेको अवस्थामा चुनौतीपूर्ण छ भन्ने कुरा आएका छन् । अध्यक्षले दस्तावेजमा उठाउनुभएका कुरालाई हामीले आम सर्वसाधारण र मजदुर वर्गलाई सम्झाउन सक्नुपर्छ भन्ने सुझाव आए,' उनले भने ।
बागमती प्रदेश कमिटी कोषाध्यक्ष संगीता भट्टराईले समूहगत छलफलमा प्रतिवेदनको व्यवहारिक कार्यान्वयनको चुनौती रहेको कुरा बढी उठेको बताइन् । 'पार्टीमा विचार फरक हुनु स्वाभाविक रूपमा हुन्छ । विचार राख्न पाइन्छ तर गुटबन्दी अन्त्य गर्नुपर्छ भन्ने कुरा प्रतिवेदनमा समावेश गर्नुपर्ने सुझाव आएका छन्,' समूहमा उठेका विषयबारे जानकारी दिँदै उनले भनिन्, 'सारमा प्रतवेदन ठिक छ । व्यवहारिक हिसाबले कार्यान्वयन गर्ने कुरा चुनौती हो भन्ने विषय उठेका छन् । समाजवादी क्रान्ति गर्ने भन्ने प्रतिवेदनमा उल्लेख छ । यो नीतिसहित आउनुपर्छ । कस्ता नीति लिएर समाजवदी क्रान्ति सम्पन्न गर्ने ? भन्ने कुरा पनि सुझावका रूपमा आएका छन् ।'
दाहालको प्रतिवेदनमाथि समूहगत छलफलमा उठेका विषयबारेमा बुधबारको बन्दसत्रमा आफ्नो धारणा राख्ने कार्यक्रम छ ।
प्रकाशित : पुस १३, २०७८ २१:५२