३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हारमा पनि हार्दिकता देखाउने नेताको जित

पर्वत पाेर्तेल

काँकडभिट्टा — यदि विश्वप्रकाश शर्मा महामन्त्रीमा पराजित भएको भए, सम्भवत विजयीहरुलाई माला पहिऱ्याएर बधाई दिन अग्रसर बनेका हुन्थे । भलै यसपटक यिनले यो कष्ट गर्नु परेन । किनकि नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापासँगै उनी पनि विजयी बने । 

हारमा पनि हार्दिकता देखाउने नेताको जित

३ दशकभन्दा लामो राजनीतिक यात्रामा पटक–पटक पराजय भोगेका यिनमा हार स्वीकार्ने सकारात्मक राजनीतिक संस्कार छ । यो संस्कारप्रति विपक्षी राजनीतिक पार्टीका नेता कार्यकर्ता पनि प्रभावित बन्ने गरेका छन्। ‘विश्वप्रकाश राजनीतिमा सकारात्मक थिति बसाल्ने नेता हुन्,’ झापा कांग्रेसका नेता राम कट्टेल भन्छन् ।

नेपाल विद्यार्थी संघको विद्यालय इकाई समितिबाट राजनीति सुरु गरेका विश्वप्रकाश २०५७ मा नेविसंघको सभापतिमा निर्वाचित भएका थिए । राजनीतिक यात्रामा विश्वको त्यो पहिलो जितको अनुभव थियो । त्यसअघि २०४५ साल ताका झापाको मेची क्याम्पसमा स्ववियू सभापतिमा पराजित भए । हार स्वीकार्ने राजनीतिक संस्कारको सुरुवात त्यहीँबाट गरेका थिए ।

लामो समय राजधानीमा केन्द्रित भएर राजनीति गतिविधिमा संलग्न विश्वप्रकाश झापा सभापतिमा लड्न काठमाडांै छाडेर गृह जिल्ला आएका थिए । तर, २०६८ सालमा भएको झापा अधिवेशनमा उद्धव थापासँग पराजित भए । पराजय उनका लागि नौलो कुरा थिएन । विजयी सभापति थापालाई माला पहिराए, शुभकामना दिए । अनि पुन: राजनीतिक कर्ममा लागे ।

जिल्ला सभापतिमा पराजित भएको दुई वर्षपछि अर्थात दोस्रो संविधानसभा निर्वाचनमा झापा १ बाट फेरि उम्मेदवार बने । विश्वप्रकाशको पराजय पुन: दोहोरियो । एमालेका रविन कोइरालासँग पराजित भए । कोइरालालाई फोन गरेर जितको शुभकामना मात्रै दिएनन्, गणनास्थलमै बोलाए । अंकमाल गरे, माला लगाइदिए अनि हार्दिकतापूर्वक बधाई दिए ।

विश्वप्रकाश २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पुन: उम्मेद्वार बने झापा १ वाट । यिनको हारको श्रृंखला दोहारियो । नेकपा माओवादीका राम कार्कीसँग पराजित भए । सधैंझैं जिविस झापाको कार्यालय परिसरको मतगणनास्थल पुगेर कार्कीलाई अबिर लगाएर न्यायो अंकमाल गरे ।

५० वर्षीय विश्वप्रकाशले अघिल्लो महाधिवेशनमा खुला केन्द्रीय सदस्य जितेका थिए । उनले १ हजार ६ सय २० मत पाएका थिए । महामन्त्री जित्दै गर्दा १ हजार ९सय ८४ मत पाए ।

जानकारहरुका अनुसार कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग यिनको व्यक्तिगत प्रतिस्पर्धा छ । झापा अधिवेशनमा विश्वप्रकाश र सिटौलाका अलग–अलग गुट सभापतिमा भिडेका थिए । सिटौलानिकटका देउमान थेवेले जित्दा विश्वप्रकाश पक्षका राम कट्टेल पराजित भएका थिए । ‘वडादेखि जिल्लासम्म नै सिटौला–विश्वप्रकाशको गुट प्रस्ट देखियो,’ झापाका एक कांग्रेस नेताले भने,‘सिटौला विश्वप्रकाशको राजनीतिक प्रगतिका बाधक हुन्।’

प्रकाशित : पुस २, २०७८ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?