कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कांग्रेसमा युवा पुस्ताको उदय

पार्टीलाई विधिमा चलाउने, नेतृत्वलाई कार्यकर्तासँग जोड्ने, संगठन क्रियाशील बनाउने र मुलुकको हितमा पार्टी नीति कार्यान्वयन गर्ने जिम्मेवारी

काठमाडौँ — सभापतिपछिको मुख्य कार्यकारी पदमा युवा नेतृत्व आएपछि प्रश्न उब्जिएको छ– अब कांग्रेसको रूपान्तरण कसरी होला ? सभापति शेरबहादुर देउवाको परम्परावादी सोच र शैली बदल्न उनीहरू सफल होलान् ?

कांग्रेसमा युवा पुस्ताको उदय

यी प्रश्नको जवाफ दिने जिम्मा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको काँधमा आएको छ । कांग्रेसको राजनीतिक सिद्धान्तमा आधारित मूल्य–मान्यतालाई मजबुत गरी मुलुकको हितमा पार्टी नीति कार्यान्वयन गर्ने अहम् जिम्मेवारी उनीहरूसामु छ । पार्टी रूपान्तरणको पक्षमा तल्लो पंक्तिदेखि नै उठ्दै आएको ठूलो आवाजलाई महाधिवेशनले अनुमोदन गरेको छ ।

पार्टीलाई समयअनुसार रूपान्तरण गरी कामकाजी बनाउनुपर्ने युवा पुस्ताको प्रमुख माग हो । पटक–पटक सरकारको नेतृत्व गरे पनि कमजोर प्रदर्शन गरेको कांग्रेसले अब मुलुकको समृद्धिका लागि खेल्ने भूमिका महत्त्वपूर्ण हुनेछ । त्यो काम युवा नेतृत्वले गर्नुपर्नेछ । सनातनी ढंगले चल्दै आएको कांग्रेसमा परिवर्तनको आवेगलाई युवा नेतृत्वले सम्बोधन गर्नुपर्ने विश्लेषक हरि शर्माले बताए । गगन–विश्वप्रकाशको छलाङले अनुहार मात्रै नभएर पार्टीको एजेन्डालाई पनि पुस्तान्तरण गराएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा राजनीति गरेर लोकप्रिय हुने बाटो उनीहरूका लागि अब काम नलाग्ने उनको भनाइ छ । ‘यथार्थ र ठोस राजनीति गर्नुपर्ने ठाउँमा धनराज, गगन र विश्वप्रकाश आइपुगेका छन्,’ शर्मा भन्छन्, ‘२०६२/६३ को आन्दोलनबाट उदाएकाले परिवर्तनलाई बोक्न र स्वामित्व लिन सक्ने पुस्ता हो यो । संघीयता, गणतन्त्र र समावेशिताको प्रतिनिधित्व गर्न सक्ने पुस्ता हो । यसले समाजको अवस्था, गतिलाई बुझेर नेतृत्व दिन सक्छ भन्ने प्रमाणित गर्ने ठाउँमा उनीहरू आइपुगेका छन् ।’

महामन्त्रीमा उम्मेदवारी दिँदै गर्दा थापाले सुनिने र देखिने कांग्रेस बनाउने र आगामी निर्वाचनसम्म १०/१५ लाख नयाँ मतदाता जोड्ने संकल्प सुनाएका थिए । करिब त्यस्तै संकल्प अर्का महामन्त्री शर्माले पनि गरेका थिए । नेविसंघको राजनीतिबाट सँगै उदाएका यी दुई युवा नेताका लागि आफैंले अघि सारेका पार्टी पुनर्जागरण र रूपान्तरणका मुद्दालाई अघि बढाउन अघिल्लो पुस्ताका नेतृत्व र त्यसपछिको दोस्रो पुस्तासँग अघि बढाएर सहकार्य र संघर्ष दुवै गर्नुपर्ने अवस्था खडा छ ।

हिजो प्रश्न गर्ने ठाउँमा थिए, आज जवाफ दिने ठाउँमा उनीहरू आइपुगेका छन् । विश्लेषक पुरञ्जन आचार्य नेतृत्वमा पहिलो पुस्ता रहे पनि त्यसपछिका मुख्य कार्यकारी पदमा युवाकै बाहुल्य रहेकाले अबको कांग्रेस यथास्थिति र पुरातन विचार चिरेर अघि बढ्ने विश्वास गर्छन् । ‘नेतृत्वमा युवाको द्वार खुलेको छ, पार्टीका नीति र कार्यक्रममा पनि हस्तक्षेप हुन्छ, परिवर्तनको आवेगलाई चाहेर पनि रोक्न नसक्ने ठाउँमा नेतृत्व आइपुगेको छ,’ उनले भने, ‘बूढो र रोगी भनिँदै आएको कांग्रेस १४ औं महाधिवेशनले स्वस्थ र तन्नेरी पार्टीका रूपमा रूपान्तरण भएको छ ।’

गुरुङ, थापा र शर्मालाई यो स्थानमा ल्याइपुर्‍याउनुका पछाडि दस लाख क्रियाशील सदस्यको पृष्ठभूमि जोडिएको छ । कांग्रेसमा ४ लाख ७० हजार मात्रै क्रियाशील सदस्य थिए । यसैपटक बढाएर करिब साढे ९ लाख पुर्‍याइएको थियो । यसले सदस्यताको संख्या मात्रै बढाएन, एकैसाथ ठूलो संख्यामा युवा अनुहारको प्रवेश भयो । त्यसैको प्रभाव धनराज, गगन, विश्वप्रकाशलगायतका अनुहार हुन् ।

‘केन्द्रमा आफ्नै अनुहार खोज्दा धनराज, गगन र विश्वप्रकाशमा आशा र भरोसा गरेको पाइयो,’ आचार्यले भने, ‘अब नेतृत्वलाई परिवर्तनको भावनासँग डोर्‍याएर अघि बढ्ने चुनौती थपिएको छ ।’ कांग्रेसलाई बदल्ने अभियानसँग जोडिएर आएका युवा नेतालाई पार्टी सञ्चालनको पुरानो कार्यशैली सच्याउनेदेखि पार्टीको बैठक कहाँ, कसरी सञ्चालन गर्नेबारेमा थिति बसाल्नै चुनौतीहुने देखिएको छ ।

पार्टीका महत्त्वपूर्ण निर्णयहरूमा दुई/चार जना नेता बसेर निर्णय गर्ने र केन्द्रीय समितिबाट अनुमोदन गराउने पुरानै परम्परा कायम छ । अधिकांश समय पार्टीका बैठक बूढानीलकण्ठ र बालुवाटारबाट सञ्चालन भएका हुन्छन् । विधानमा व्यवस्था नभएको पदाधिकारीको बैठक चलाउने पद्धति परम्परा नै बनेको छ । पार्टीको सर्वोच्च निकाय केन्द्रीय कार्यसमिति पदाधिकारीले गर्ने निर्णयलाई अनुमोदन गराउने थलोका रूपमा परिणत भइरहेको छ ।

‘विगतमा चर्को विरोध गर्दै आएका युवा अहिले नेतृत्व तहमा पुगेका छन्, उनीहरू आफैंले विरोध गरेका विगतका यस्ता अभ्यासलाई निरन्तरता दिन्छन् वा पार्टीलाई साँच्चै संस्थागत रूपमा अघि बढाउन सक्छन् ? अब उनीहरूको परीक्षाको घडी सुरु भएको छ,’ कांग्रेसका एक नेता भन्छन् । थापाले देउवालाई सभापतिमा निर्वाचित भएकै दिन बधाई दिँदै थिति बसाल्ने काममा आफूहरूको सहयोग हुने, नत्र संघर्ष गर्ने संकेत गरेका छन् । ‘आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात् गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्नु हुनेछ भन्ने अपेक्षा गर्दछु,’ थापाले बधाई सन्देशमा उल्लेख गरेका छन्, ‘समुन्नत नेपालको अभियान र पार्टी रूपान्तरणको मुद्दामा सहकार्य हुनेछ ।’

अर्का महामन्त्री शर्माले पनि महामन्त्री निर्वाचित हुनासाथ पार्टी रूपान्तरण अभियान प्रारम्भ भएको उद्घोष गरे । ‘यो व्यक्तिको विजय होइन, गुटको विजय होइन । यो सिंगो नेपाली कांग्रेसलाई रूपान्तरण गर्ने प्रारम्भ हो,’ उनको भनाइ थियो । नेतृत्वको चाहना र उनीहरूको गतिसँग मेल खाएन भने पार्टीभित्र द्वन्द्व बढ्न सक्ने अनुमान नेताहरूमा छ । उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्काबाहेक दोस्रो पुस्ताका अधिकांश नेताहरू प्रतिस्पर्धाबाट बाहिरिएका छन् । कतिपय केन्द्रीय सदस्यको प्रतिस्पर्धामा सीमित छन् । दुःखद संयोग यसपटक जुर्‍यो, बीपी, गणेशमान र महेन्द्रनारायण निधि तीनै परिवारका सदस्य नेतृत्वको प्रतिस्पर्धाबाट पराजित भए । कांग्रेसको संगठनमा यी तीन परिवारको ठूलो छाप छ । उनीहरूको विरासतलाई समेत बेवास्ता गरेर जान सक्ने स्थितिमा नयाँ पुस्ता छैन । पराजित भए पनि पार्टीको ४० प्रतिशत हैसियतसहित शेखर कोइराला पार्टीभित्रको प्रतिपक्ष नेताका रूपमा उदाएका छन् ।

उनको भूमिका अझै बढेको छ तर गणेशमान पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण पुत्र विमलेन्द्र निधिको दायरा साँघुरिएको छ । अर्का वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार हुन नसकेपछि तटस्थ भूमिकामा रहँदै आएका छन् । शक्तिका दिग्विजयजस्तै ठानिएका विजय गच्छदार उपसभापतिबाट पराजित भएका छन् । सभापतिका सबैभन्दा विश्वासिला र निकट मानिने प्रकाशशरण महत महामन्त्रीको प्रतिस्पर्धाबाट बाहिरिएका छन् । शेखरको टिमबाट महामन्त्री प्रतिस्पर्धा गरेका मीनेन्द्र रिजालले महामन्त्री पराजित भएपछि नैतिक रूपमा मन्त्रीबाट पनि राजीनामा दिएका छन् ।

भोटका आधारमा मूल्यांकन गरेर दोस्रो तहका नेतालाई बेवास्ता गरेर अघि बढ्ने हो भने पार्टी अर्को अतिवादमा फस्न सक्ने राजनीतिक विश्लेषकसमेत रहेका कांग्रेस नेता पुरुषोत्तम दाहालले बताए । पार्टीमा विद्यमान तीन वटा पुस्तालाई जोडेर गति अघि बढाउने दिशामा उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्काको भूमिका अब महत्त्वपूर्ण हुने उनको ठम्याइ छ । ‘शेरबहादुरजी पुरानो पुस्ताको हुनुहुन्छ, उहाँको सोच र शैली अहिलेको पुस्तासँग नमिल्न सक्छ, पार्टी सञ्चालन गर्ने कुशलता पनि देखिन्न । दोस्रो पुस्ताको सोच र चिन्तनको धारलाई नयाँ पुस्तासँग जोड्न सकियो भने मात्रै कांग्रेस अघि बढ्न सक्छ,’ दाहालले भने, ‘गगन र विश्वप्रकाश भविष्यका कांग्रेसका पुँजी हुन् । अहिले उत्तेजनामा नआई यो पुस्ता जिम्मेवार ढंगले अघि बढ्न सक्नुपर्छ । पार्टीका यी तीन पुस्तालाई जोड्ने मध्यमार्गी भूमिका निर्वाह गर्ने ठाउँमा पूर्णबहादुरजी आइपुग्नुभएको छ ।’ विश्लेषक शर्माका अनुसार दुई महामन्त्रीकै बीचमा वरीयताको विषयले सम्बन्धमा फरकपन आउन सक्छ । ‘पार्टीको विधानले महामन्त्रीमा पहिलो र दोस्रो भनेको छैन । सभापतिले कामको विभाजन तोक्दा कसलाई के दिने भन्ने कुरा हुन्छ । त्यतिबेला कसको वरीयता के हुन्छ भन्न सकिन्न,’ उनले भने । कतिपय नेताहरूले विधानमा पदाधिकारी निर्वाचित हुने मात्रै प्रणाली राखेर सभापतिको हात बाँध्न खोजिएको बताउँदै अहिलेको नतिजाले काम गर्न झनै अप्ठ्यारो पर्ने बताएका छन् ।

देउवानिकट नेता श्याम घिमिरेले केन्द्रीय कार्यसमितिमा सभापति अल्पमतमा नपर्ने सुनिश्चितता भएकाले पनि काम गर्न अप्ठ्यारो नपर्ने बताए । सभापतिले पदाधिकारीमा नपाए पनि ३३ जना केन्द्र्रीय सदस्य मनोनयन गर्न पाउँछन् । ‘टिमबाटै पूर्णबहादुर खड्का उपसभापति निर्वाचित हुनुभएको छ, प्यानलमा नपरे पनि विश्वप्रकाश शेरबहादुर दाइसँगै काम गरेको महामन्त्री हुनुहुन्छ, यसले पनि उहाँलाई अप्ठ्यारो पर्ने मैले देख्दिनँ,’ घिमिरेले भने ।

हिजो जसरी चलेको थियो, त्यसरी नै चल्छ भन्ने मनोविज्ञानबाट पार्टी सञ्चालन गर्दा साढे पाँच वर्षमा देउवाले समयमै पदाधिकारी नियुक्ति गर्न सकेनन् । महत्त्वपूर्ण विभागहरू महाधिवेशनको मुखमा आएर गठन गर्दा पार्टीभित्र विवाद चर्कियो । पार्टी नेतृत्वकै अनिच्छाले दर्जन बढी पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले अधिवेशन गर्न सकेका छैनन् । कतिपय भ्रातृ संस्था स्थापनाकालदेखि नै अधिवेशन नगराई तदर्थवादमा चल्दै आएका छन् । यी सबै कुरालाई अनदेखाजस्तै गरे पनि अब नेतृत्व सुन्नुपर्ने ठाउँमा आइपुगेको विश्लेषक शर्माले बताए । ‘देख्न नसक्ने हो भने सुन्न सक्नुपर्छ, सुन्ने धैर्य राख्नुपर्छ । संगठनको परिवर्तनमा युवाको कुरा सुन्न सक्ने धैर्य हुनुपर्छ । नेतृत्वको धैर्यता र युवाको जोस मिलाएर अघि बढ्न सकियो भने संगठनलाई धेरै माथि पुर्‍याउन सकिन्छ ।’

प्रकाशित : पुस २, २०७८ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?