उपसभापतिमा केन्द्रीय सदस्य धनराज गुरूङले निकै कडा प्रतिस्पर्धाबीच बाजी मारेका छन् । महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्माले जीत हात पारेका छन् । पार्टी कार्यालय सञ्चालन र नीति तय गर्ने दुबै पदमा युवाको प्रवेशले कांग्रेसको बुढो रूखमा अब पालुवा पलाएको हो ?
काठमाडौँ — १४ औं महाधिवेशन जित्न प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई निकै धामा पर्यो । पहिलो चरणको निर्वाचनमा ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणमा मात्र उनले २ हजार ७ सय ३३ मत (५९ प्रतिशत) प्राप्त गरी विजय हासिल गरे । १ हजार ८ सय ५५ मतसहित डा. शेखर कोइराला उपविजेता बने ।
हुन त देउवाले यसअघिको महाधिवेशनमा पनि रामचन्द्र पौडेललाई दोस्रो चरणकै निर्वाचनमा पराजित गरेका थिए । सभापति र प्रधानमन्त्री दुवै भएर चुनावमा जाँदा पनि देउवाले पहिलो चरणमा शेखरलाई जित्न सकेनन् । सभापतिका प्रत्यासी प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङहरूको सहयोगमा मात्र जीत हात पार्न सफल भए । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला यता न उताका भए । नेपाली कांग्रेसको विधानमै सभापति निर्वाचित हुन ५० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ ।
आन्तरिक लोकतन्त्रको अभ्यास
१३ औं महाधिवेशनदेखि कांग्रेसले बहुमतले पार्टी प्रमुख निर्वाचित गर्ने लोकतान्त्रिक विधि अपनाएको हो । सभापति निर्वाचित हुन पार्टी विधानमा उल्लेख गरिएको छ, ‘सभापतिमा निर्वाचित हुनका लागि खसेको मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले पचास प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाकाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।’
सायद् दक्षिण एसियामै कांग्रेस लोकतान्त्रिक विधिद्वारा पार्टीमा वडादेखि केन्द्रसम्मका कार्यसमितिहरू निर्वाचित गर्ने आन्तरिक निर्वाचन पद्धतिमा अब्बल होला । सभापति, दुईजना उपसभापति, दुईजना महामन्त्री र क्लस्टरअनुसार महिला, दलित, आदिवासी–जनजाति, खस–आर्य, मधेसी, मुस्लिम, थारू र पिछडिएको क्षेत्रबाट १/१ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था रहेको छ । निर्वाचनबाट महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित १ सय ३४ जनाको समावेशी केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने व्यवस्था छ । यसका लागि कांग्रेसमा ७ चरणको निर्वाचनको चरण पार गर्नु पर्छ ।
निर्वाचनको पहिलो खुड्किलोको रूपमा टोल कार्यसमिति रहेको छ । टोलभित्रका क्रियाशील सदस्यहरूले आफूमध्येबाट टोल कार्यसमिति निर्वाचित गर्ने गर्छन् । गाउँ/नगरभरिका क्रियाशील सदस्यहरूले गाउँ/नगर कार्यसमिति चुन्छन् । गाउँ/नगरका निर्वाचित प्रतिनिधिहरूले प्रदेशसभा क्षेत्रीय कार्यसमितिको निर्वाचन गर्छन् । प्रतिनिधिसभा क्षेत्र (१६५) मा प्रत्येक क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधिहरू चुनिन्छन् । तिनै केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्छन् । र, तिनैले सभापतिसहित १ सय ३४ जनाको केन्द्रीय कार्यसमिति निर्वाचित गर्छन् । यही प्रक्रियाबाट अघि बढेर गरेको यसपालिको महाधिवेशनले पारिवारिक राजनीतिमा मात्र विराम लगाएन, कांग्रेसको बूढो रूखमा पालुवा लागेको स्पष्ट संकेत गरेको छ ।
वंशवादको राजनीतिमा विराम
वंशवादको राजनीतिले दक्षिण एसियामा जरो गाडेको छ । भारतका गान्धी परिवार होस् कि बंगलादेशका खालिदा जिया, शेख हसिना होऊन् उनीहरू पारिवारिक राजनीतिकै पृष्ठभूमिबाट आएका हुन् । उता श्रीलंकामा बन्दरानायके हुन् कि पाकिस्तानमा भुट्टो आफ्ना मातापिताकै राजनीतिक पदचाप पच्छ्याएर राजनीतिमा उदाएका पात्रहरू हुन् । दक्षिण एसियामा हुर्किएको पारिवारिक राजनीतिबाट नेपाल पनि अछूतो रहेन । खासगरी कांग्रेसमा धेरै समयदेखि कोइराला परिवारको वर्चश्व रहँदै आयो । विश्वेश्वरप्रसाद कोइरालाले खडा गरेको विरासतका अन्तिम कडीका रूपमा उनकै कनिष्ठ पुत्र डा. शशांक कोइराला उभिन पुगेका छन् । कांग्रेस स्थापनाको ७५ वर्षमा झण्डै ५० वर्ष कोइराला परिवारकै सदस्यहरू नेतृत्वमा रहे । तर १४ औं महाधिवेशनले वंशवादको राजनीतिमा विश्राम लगाइदिएको छ ।
शेरबहादुर देउवाबाट अब राजनीति गगन पुस्तामा पुग्दैछ । यो महाधिवेशनले गरेको स्पष्ट संकेत हो । यो महाधिवेशनले कोइराला परिवारसँगै गणेशमान सिंह र महेन्द्रनारायण निधिको परिवारबाट कांग्रेसको राजनीतिक नेतृत्व लिन चाहिरहेका प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई पनि बाहिर पारिदिएको छ । कुनै ठूलो उलटपुलट भएन भने देउवा पछिको कांग्रेस सभापतिमा कोइराला, सिंह, निधि परिवारबाट आउन नसक्ने यसपालिको महाधिवेशन परिणामले देखाएको छ । अब कांग्रेस पदाधिकारीमा कोइराला, सिंह र निधिहरू रहने छैनन् । जबकि यसअघि सायद् कोइरालाहरू पदाधिकारी नभएको कांग्रेस केन्द्रीय कार्यसमिति थिएन ।
कांग्रेसमा पारिवारिक वर्चस्व केन्द्रमा मात्र होइन, जिल्ला–जिल्लामा पनि झांगिन सुरू हुँदै थियो । यस्तै पारिवारिक राजनीतिबाट पीडित नुवाकोटका कांग्रेसजन पनि हुन् । नुवाकोटमा केसी (अर्जुननरसिंह केसी) र महत (डा. रामशरण महत) परिवारबार बाहेक कांग्रेस नेतृत्व अरूलाई लिनै मुस्किल छ । यसपालि केसीका भाइ डा. केदारनरसिंह केसी जिल्ला सभापतिमा पराजित भए भने अर्का भाइ जगदीश्वरनरसिंह केसी वाग्मती प्रदेश सभापतिमा पराजित भए । यता महामन्त्रीमा प्रकाशशरण महत पनि पराजितै भए ।
सक्रिय रूपमा खट्ने र जनताका पीरमर्का बुझ्ने कार्यकर्तालाई पाखा लगाएर आफ्ना छोरा, श्रीमती, भाइलगायत परिवारका सदस्यहरूलाई पार्टी राजनीतिमा प्रवेश गराउने/गराउन चाहनेहरूलाई पनि महाधिवेशनले कांग्रेस राजनीतिमा अब परिवारवाद चल्दैन भन्ने सिद्द गरिदिएको छ ।
पुस्तान्तरणको प्रस्तावना
यो महाधिवेशनले सभापति देउवा, उपसभापति पूर्णबहादुरबाहेक अर्का उपसभापति गुरूङ, महामन्त्रीद्वय विश्वप्रकाश र गगन २०४६ सालपछिका राजनीतिक पुस्ता हुन् । गुरूङ र शर्मा २०४६ सालको आन्दोलनमा होमिएका पुस्ता हुन् भने थापा २०६२/६३ सालको गणतान्त्रिक आन्दोलनले जन्माएको पुस्ता हो ।
जनतामाझ लोकप्रिय नभएकाहरूलाई निर्वाचन सामना गर्न हम्मे पर्छ भन्ने शिक्षा पनि यो निर्वाचन परिणामले देखाएको छ । भलै, यो दलभित्रको आन्तरिक निर्वाचन किन नहोस् । यसको प्रभाव आगामी तीनै तहको निर्वाचनमा समेत देखिने छ । पहिले पहिलेजस्तो नेताहरूले आफ्नो गोजीबाट उम्मेदवार झिकेर मतदातासामु भोट हाले हाल, नहाले नहाल भनेर माथीबाट लाद्ने परम्परामा पनि यो निर्वाचनले सबक सिकाएको मान्न सकिन्छ । कांग्रेस राजनीतिबाट २०४६ सालअघिको पुस्ता बिस्तारै राजनीतिक मैदानबाट दर्शक/सहयोगी/शुभेच्छुकका रूपमा बस्न महाधिवेशन प्रतिनिधिहरूले मतबाटै व्यक्त गरेको देख्न सकिन्छ । महाधिवेशनले प्रौढ पुस्तालाई विश्राम लिन र युवा पुस्तालाई सक्रियता बढाउन पुस्तान्तरणको प्रस्तावना गरेको छ ।
६०/४० को भागबन्डा अन्त्य होला ?
कांग्रेसमा स्थापनादखि नै गुट–उपगुटहरू हाबी हुँदै आइरहेको पाइन्छ । किनकि, यो पार्टीको स्थापना नै भारत प्रवासमा रहेका राणाविरोधी युवाहरूको विभिन्न समूह, उपसमूहहरू मिलेर भएको हो । कांग्रेस नेता प्रदीप गिरिका शब्दमा ‘राजनीतिक दलहरूमा गुट–उपगुटरू हुन्छन् । तिनले नै पार्टीभित्र विभिन्न एजेन्डा प्रवेश गराउँछन् । छलफल हुन्छ । पार्टीमा एजेन्डा बाहिरबाट आउँदैन । भित्रैबाट विभिन्न समूह बीचको टकरावमा एजेन्डाहरू जन्मिने गर्छ ।’ गिरिले भनेजस्तै एजेन्डा सिर्जना गर्न लाग्नुपर्ने समूहका नेताहरू नेता नभई ‘नाइके’ जस्ता हुनपुगेकाले ६०/४० को प्रतिशत तोकेर भागबन्डा लगाउने परिपाटी बसाले ।
२०६४ सालमा देउवा नेतृत्वको प्रजातान्त्रिक र नेपाली कांग्रेसबीच एकीकरण हुँदा संस्थापन (गिरिजाप्रसाद) र प्रजातान्त्रिक (देउवा) समहूबीच केन्द्रदेखि जिल्लासम्मै ६०/४० को भागबन्डा लगाउने सहमति गरियो । पछिल्लो समयसम्म देउवा र रामचन्द्र पौडेलले पनि यसै परिपाटीमा पार्टीभित्र भागबन्डा मिलाउँदै आएका थिए । अब यो परम्परा तोड्न महाधिवेशन प्रतिनिधिहरूले नेतृत्वलाई निर्देश गरेका छन् ।
जो लोकप्रिय छन्, जनतामाझ पुग्न र आफ्ना कुरा राम्ररी सञ्चार गर्न सक्छन् तिनैलाई नेतृत्व सुम्पने महाधिवेशन प्रतिनिधिहरूको मतले संकेत गरेको छ भन्ने धनराज, विश्वप्रकाश र गगनहरूको जीतले स्पष्ट गरेको छ । नेतृत्वले समाधान गर्न नसकेर वर्षौँदेखि भागबन्डाले कचल्टिएका समस्या यसपटक महाधिवेशनले नै समाधान गरिदिएको छ । यद्यपि, अझै पनि कांग्रेस गुट–उपगुटको समस्याबाट मुक्त भइहाल्छ भन्ने अवस्था छैन । किनकि, नयाँ पदाधिकारीहरूले फेरि नयाँ गुट–उपगुट जन्माउने खतरा पनि त्यतिकै छ । ‘हार्नेले अब सहयोग गर्ने हो, जित्नेसँग भाग खोज्ने होइन’ राजनीतिशास्त्री कृष्ण हाछेथुले भने, ‘हार्नेले राजनीतिक मैदान नछाडेकैले समस्या भएको हो ।’
महाधिवेशनको सन्देश
पार्टी सचिवालय सञ्चालन महामन्त्रीले गर्छन् भने नीति तथा कार्यक्रमको अगुवाइ उपसभापतिले गर्छन् । यी दुवै ठाउँमा युवा हुनु भनेकै कांग्रेसको सचिवालय र संगठन दुवैको नियन्त्रण युवाले गर्नु हो । केन्द्रीय कार्यालयको व्यवस्थापन र पार्टीको नीति निर्माण गर्ने ठाउँमा युवाहरूलाई निर्वाचित गरेर कांग्रेसमा पुनर्जागरणको थालनी गरेको अधिकांश महाधिवेशन प्रतिनिधिहरू बताउँछन् । महामन्त्रीको मतगणनाको परिणाम आइसकेपछि सानेपास्थित पार्टी कार्यालय परिसरबाहिर खुशीयाली व्यक्त गर्ने क्रममा महाधिवेशन प्रतिनिधिहरू भन्दै थिए, ‘गगन र विश्वप्रकाश पार्टी रूपान्तरणका बाहक हुन् ।’ अर्काथरी महाधिवेशन प्रतिनिधिहरू ‘पार्टीमा युवा र प्रौढको सन्तुलन मिलाइएको, जित्नेलाई नियन्त्रण गरिएको, हार्नेलाई उत्साहित बनाइएको, गुटमा नलाग्नेलाई पनि संरक्षण गरिएको र भागबन्डाको राजनीति सकेर पार्टीलाई रचनात्मक रूपान्तरणको एजेन्डामा प्रवेश गराइएको’ बताउँछन् ।
उनीहरूका अनुसार यो महाधिवेशनले कम्युनिष्ट र कांग्रेसबीच फरक देखाइदिएको छ । एमालेले सौराहाबाट पार्टी अध्यक्षको सूचीअनुसार नेतृत्व छनोट गर्यो । कांग्रेसले प्रधानमन्त्रीलाई पनि चीसो रातमा भृकुटीमण्डपको सडकमा उभिएर महाधिवेशन प्रतिनिधिहरूसँग हात जोडेर मत माग्न वाध्य पार्यो । पार्टीको आन्तरिक निर्वाचनमा पराजय व्यहोरेका नेता/कार्यकर्ताले मनमा तुष राखेर बदलाको भावना देखाए भने पार्टीलाई आगामी निर्वाचनमा नोक्सान हुनसक्ने महाधिवेशनका पर्यवेक्षकहरू बताउँछन् ।
