कांग्रेस उपसभापति निर्वाचित भएपछि खड्का किसुनजीको आश्रममा

पुस १, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — उपसभापति निर्वाचित भएपछि कांग्रेस नेता पूर्णबहादुर खड्का कृष्णप्रसाद भट्टराई (किसुन) आश्रम ललितपुरको बाडेगाउँ पुगेका छन् । बिहीबार दिउँसो बाडेगाउँ पुगेका उनले भट्टराईको सालिकमा माल्यार्पणसहित पूजा गरेका थिए ।

कांग्रेस नेता रामहरि खतिवडा, सुर्खेत जिल्ला कार्य समितिका उपसभापति विष्णुबहादुर खड्कासहित उपसभापति खड्का दिउँसो ४ बजे भट्टराई आश्रम पुगेका थिए । खड्काले भट्टराईलाई आफ्नो राजनीतिको आदर्श गुरु मान्ने गरेका छन् । कुनै पनि राजनीतिक निर्णय लिनुपर्दा, राजनीतिमा सफलता पाएमा उनी सबैभन्दा पहिले बाडेगाउँ पुग्छन् । 

भट्टराईको जन्मजयन्ती र स्मृति दिवसमा पनि उनी नियमित रुपमा बाडेगाउँ जान्छन् । गत असारमा सर्वोच्च अदालतको आदेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि पनि उनी बाडेगाउँ पुगेका थिए । ‘पूर्ण दाइ किसुनजीको अनुयायीमात्र होइन, उहाँको राजनीतिक विरासतको हकदार पनि हो,’ नेता खतिवडाले भने, ‘लामो राजनीतिक जीवनमा किसुनजीको निकट भएर पूर्ण दाइले उहाँजस्तै जीवन अनुशरण गर्न खोज्नु भएको छ ।’

कांग्रेसको बिहीबार बिहान सम्पन्न मतगणनाबाट ६६ वर्षीय खड्काले २ हजार १ सय २१ मत ल्याएर उपसभापति निर्वाचित भएका थिए । अर्को उपसभापतिमा धनराज गुरुङ निर्वाचित भएका छन् ।

कान्तिपुर

Link copied successfully