आर्थिक वर्ष २०६८/०६९ सालबाट सुरु भएको केन्द्र हालसम्म ७७ वटा जिल्लामा ८८ वटा अस्पतालमा विस्तार
काठमाडौँ — ललितपुरकी ४२ वर्षीया एकल महिला एक दिन बाटोमा पाठेघर खसेर बेवारिसे अवस्थामा लडिरहेकी भेटिइन् । उनलाई वडाका प्रतिनिधिहरुले देखे र पाटन अस्पताल पुर्याए । डिभोर्सी त्यसमाथि छोराछोरी नभएकी उनी एक्लै तरकारी खेती गरेर गुजारा चलाउँदै आएकी छन् । हाल उनी पाटन अस्पतालको लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र(ओसीएमसी)को रेखदेखमा एक महिनादेखि उपचाररत छन् ।
आफ्ना दाजुहरुसँग डेरामा बस्दै आएकी २७ वर्षीया ज्यामी काम गर्ने युवतीलाई एकदिन मामाको छोराले होटलमा खाना पकाउने र भाँडा माझ्ने काम लगाइदिन्छु, ज्यामी काम भन्दा बढी पैसा आउँछ भनेर फकाएर काममा लगे । सुरुमा होटलकी साहुनीले सोही अनुसार काम गर्न लगाइन् । पछि त्यहाँ रक्सी खान आउने ड्राइभरले उनलाई यौन दुर्व्यवहार गर्न थाले । जबर्जस्ती रक्सी खुवाउने र काखमा बस्न लगाउने गरेपछि उनले यस्तो काम गर्दिन र घर जान्छु भन्दा उनलाई थुनेर राखियो । उनी होटल साहुनीका भाञ्जाबाट बलात्कृत भइन् । उनका मोबाइल र लुगा सबै जफत गरेर राखियो । एकदिन भागेर प्रहरीकोमा गइन् । प्रहरीले पाटन अस्पतालको ओसीएमसीसँग समन्वय गरायो ।
पाटन अस्पतालकी ओसीएमसी प्रमुख तथा मेडिको लिगल एक्सपर्ट डा. सिर्जना कुँवर ती युवतीको घटना सुनाउँदै भन्छिन्– ‘उनी लुगा च्यातिएको अवस्थामा आइपुगेकी थिइन् । हामीले नयाँ लुगा दियौँ । पेट दुखेको भनेपछि परीक्षणहरु गर्यौँ । थप जाँचहरू पनि गर्यौँ । उनी खुसी भएर फर्किइन् ।’
केही दिनपछि उनी पुनः झोला बोकेर अस्पताल आइपुगिन् । प्रहरीमा उजुरी गरेको र इज्जत फाली भनेर घरकाले आरोप लगाएपछि उनी पुनः अस्पतालको शरणमा आइन् । हाल उनी ओसीएमसीको समन्वयमा एक आवास गृहमा बसिरहेकी छन् ।
सरकारले उनीहरुजस्तै हिंसा पीडित वा प्रभावित व्यक्तिहरुलाई ओसीएमसीमार्फत स्वास्थ्य उपचार लगायत आवश्यक सेवाहरु निःशुल्क प्रदान गर्दै आइरहेको छ । आर्थिक वर्ष २०६८–२०६९ सालबाट सुरु भएको यस केन्द्र हालसम्म ७७ वटा जिल्लामा ८८ वटा अस्पतालमा विस्तार भइसकेको छ ।
डा. कुँवरका अनुसार स्वास्थ्य तथा चिकित्सकजन्य कानुनी सेवा, मनोसमाजिक परामर्श सेवा, सुरक्षा, कानुनी परामर्श र उपचार, सुरक्षित आवास गृह र पुन:स्थापनाको विषय हेर्नु यस केन्द्रको मुख्य उद्देश्य हो ।
२०७५ सालदेखि पाटन अस्पतालमा सुरु भएको ओसीएमसीमा पहिलो वर्ष ६६ वटा केस आएकोमा यो वर्ष १२० वटा केस पुगेको देखिन्छ । डा. कुँवर भन्छिन्– ‘आफ्नै श्रीमान्बाट घरेलु हिंसाबाट पीडित भएका केशहरु बढी आउने गरेका छन् । त्यसैगरी २० वर्षमुनि उमेर समूहमा यौन दुर्व्यवहारको घटना आउँछन् । जति उमेर बढ्दै गयो शारीरिक हिंसा बढी देखिएको छ । हिंसा सहनु त हाम्रो दैनिकी नै हो भनेर बसिरहेका छन् । हिंसा के हो भनेर बुझाइको कमी छ ।’
२०६९ देखि यो सेवा दिँदै आएको परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा वार्षिक २०० देखि ५०० सम्मले यो सेवा लिएका छन् । अस्पतालकी ओसीएमसी प्रमुख सुकु लामाले यो सेवा सुरु भएको हालको आर्थिक वर्षसम्म २ हजार ६७० जनाले सेवा पाएको बताइन् । अशिक्षा, गरिबी तथा चेतनाको कमीले हिंसाले प्रश्रय पाएको बताउँदै परिवार र विद्यालयबाट नै हिंसाको बारेमा सबैलाई जानकारी दिनुपर्ने उनको भनाइ छ ।
‘ओसीएमसी छ भन्ने धेरैलाई थाहै छैन’
लैंगिक हिंसाको जोखिमयुक्त परिस्थितिमा रहेका बेवारिसे एवं शारीरिक तथा मानसिक रुपले अशक्त महिला तथा बालबालिका, लैगिंक हिंसाबाट प्रभावित भइ मानसिक स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न भएका कारणले घर वा सार्वजनिक स्थानमा अलपत्र अवस्थामा जीवन जिउन बाध्य महिला तथा बालबालिका, लैंगिक हिंसा पीडित एकल महिला, अपांगता भएका महिला, बालबालिका वा ज्येष्ठ नागरिक महिला, मानव बेचबिखन तथा ओसारपसारमा परेका महिला तथा बालबालिकाले यो सेवा लिन सक्छन् ।
साथै, सशस्त्र द्वन्द्व तथा प्राकृतिक विपद्का कारण हिंसामा परेका र पर्नसक्ने महिला वा बालबालिका, एचआईभी तथा एड्सबाट संक्रमित भई लैंगिक हिंसाबाट प्रभावित महिला वा बालबालिका, तेस्रोलिंगी समूहका व्यक्तिहरुले यस केन्द्रमार्फत निःशुल्क सेवाहरु पाउने सक्ने अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना र सञ्चालन निर्देशिका २०७७ मा उल्लेख छ ।
स्थापना भएको १० वर्ष पुगिरहँदा लैंगिक हिंसा भोगेका धेरै पीडित र प्रभावित यसको पहुँचभन्दा बाहिर छन् ।
‘हिंसा पीडित र प्रभावितलाई ओसीएमसीले निःशुल्क उपचार दिँदै आइरहेको छ । एकद्वार भनेपछि एक प्रवाहरुपमा नै सेवा दिने प्रणाली हो । अस्पताल आउने धेरै मानिसलाई यसबारे जानकारी छैन । ओसीएमसी के हो र कहाँ छ भनेर अझै धेरैलाई थाहा नै छैन । जनचेतना र सूचना प्रवाहमा अझै पनि पछाडि नै छौँ,’ डा. कुवँर बताउँछिन् ।
प्रसूति गृह ओसिएमसी प्रमुख -सुकु लामा
ओसीएमसीमा आइपुग्ने केसहरु धेरैजसो प्रहरीमार्फत आएका छन् भने केही संघसंस्थाबाट, स्थानीय तहबाट र कोही आफन्तले पनि लिएर आएका हुन्छन् ।
महानगरपालिका तथा महिला विकास शाखाको संलग्नताले प्रभावितहरु अस्पतालसम्म आइरहेको बताउँछिन् पाटन अस्पतालकी ओसीएमसीकी फोकल पर्सन प्रतिक्षा नेपाल । ‘घरेलु हिंसाको घटना नदोहोरियोस् भनेर हामीले पीडित र पीडक दुवैलाई परामर्श दिने गरेका छौं, ’ उनले भनिन्, ‘कसैले उपचार मात्र गराउँछु आश्रय लिन्न भन्ने पनि छन् । उनीहरुको खुसी अनुसार गर्छौँ । प्रहरीमा गए इज्जतको डर हुन्छ, अस्पतालमा गोपनियता हुन्छ भनेर पनि पहिलेभन्दा अहिले सेवा लिने बढेका छन् ।’
पुनर्स्थापना केन्द्र र फलोअपको कमी
हालसम्म देशभरीमा एकमात्र दीर्घकालीन पुनर्स्थापना केन्द्र र १७ वटा अल्पकालीन आश्रय केन्द्र तथा मानवबेचबिखनबाट पीडित उद्धार गर्ने १० वटा पुनर्स्थापना केन्द्र रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ओसीएमसीकी वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्माचार्यका अनुसार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ७ वटै प्रदेशमा दीर्घकालिन पुनर्स्थापना केन्द्र बनाउने भन्ने योजना थालेको छ ।
‘प्रदेश १ मा बनाउन सुरुवात भइसकेको छ । खासमा हरेक जिल्लामा पुनर्स्थापना केन्द्र हुनुपर्ने हो । अभाव पक्कै छ,’ उनले भनिन्, ‘हिंसा पीडित धेरैजना घरबाट नै पीडित छन् । घर फर्किन झन् गाह्रो छ । पुनर्स्थापनाको लागि समन्वय गर्दिने हो । तर, अपुग छन् बढाउनुपर्ने छ,’ उनले भनिन् ।
सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालकी ओसीएमसीकी फोकल पर्सन मनिषा सिंह पनि पुनर्स्थापनाको समस्या भएको औल्याउँछिन् । उनका अनुसार पुनर्स्थापना केन्द्र टाढा हुने र स्थानीय तहको समन्वय राम्रो नहुँदा पनि अप्ठ्यारो भइरहेको छ ।
‘पुनर्स्थापना गर्न एकदम गाह्रो भएको अवस्था छ । केशहरु पठाउनकालागि स्थानीय तह बलियो भइदिनुपर्छ,’ उनले भनिन्, ‘स्थानीय तहले यसमा त्यति राम्रो सम्बोधन गर्नुभएको छैन । सेफ होम पनि टाढा छन् अस्पतालबाट । केस पठाउन पनि गाह्रो छ ।’
त्यसैगरी अर्को समस्या देखिन्छ फलोअपको । निर्देशिकाका अनुसार एकजना प्रभावितलाई कम्तीमा ३ देखि ४ चोटी फलोअपमा बोलाउनुपर्छ । ‘फलोअप हामीले एकदम प्रभावकारी रुपमा गर्न सकेका छैनौँ । हामीले सेवा दिइसकेका बिरामीको अवस्था के कस्तो छ भनेर बुझ्न जरुरी छ । यो सुधार्नेपर्ने पाटो हो,’ पाटनकी डा. कुँवरले भनिन् ।
विराटनगरस्थित कोसी अस्पताल ओसीएमसीकी फोकल पर्सन कृति गुप्ताका अनुसार फलोअपको चुनौतीसँगै बेवारिसे बिरामी स्याहार्न स्टाफको कमी भएको बताउँछिन् ।
पाटन अस्पतालको ओसीएसी टिम ।
‘हाम्रो रेफरल अस्पताल भएर पनि चाप हुन्छ । यो आर्थिक वर्षमा नयाँ केश र फलोअप गरी ५१९ जति केशहरु हामीले हेरेका थियौँ,’ उनले भनिन्, ‘पुनर्स्थापनाको समस्या नआएपनि कुरुवाका लागि हामीलाई समस्या हुन्छ । टेक्निकल स्टाफ कम नै छन् । यसमा पनि माग गरिरहेका छौँ । फलोअपमा बोलाएका धेरै आउँदैनन् ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ओसीएसीसँग यो केन्द्रले हालसम्म कतिलाई सेवा दियो भने यकिन तथ्यांक छैन । केन्द्रकी अधिकृत सुनालक्ष्मी कर्माचार्यका अनुसार देशभरीको यकिन तथ्यांक नभएपनि एक आर्थिक वर्षमा एउटा अस्पतालबाट २०० देखि ३०० केसहरु अस्पतालले हेरेका छन् । मन्त्रालयका अनुसार केसलोडका आधारमा यो केन्द्र सञ्चालन गर्न प्रत्येक अस्पताललाई वार्षिक १२ लाखसम्मको बजेट प्रदान गर्दै आएको छ ।
यो कार्यक्रमको अर्को चुनौती हो दक्ष जनशक्ति अभाव । यो सेवा २४ घण्टे भनिएपनि धेरै जिल्लामा जनशक्ति अपुगले कहिलेकाहीँ सेवा प्रभावित बन्ने गरेका छन् । करारमा खटाइएका मेडिको लिगल तालिम प्राप्त चिकित्सक तथा नर्सको पद खाली हुन पुग्दा सेवाहरु प्रभावित बन्ने गरेका छन् ।
‘हामीले ओसीएमसी भएको हरेक अस्पतालमा तालिम दिएका छौँ । तालिम नलिएका छैनन् । धेरैजसो छात्रवृत्ति करारमा जिल्लामा जाने गर्छन् । २ वर्षको हुन्छ त्यसपछि अर्को जाने हुँदा समय लाग्छ त्यतिबेला खाली हुन पुग्छ । साथै जनशक्ति कम हुँदा कहीकतै २४ घण्टै सेवा पनि कठिन छ,’ कर्मचार्यले भनिन् ।
उनका अनुसार मन्त्रालयले यसबन्धी सूचना प्रवाह तथा हिंसासम्बन्धी जनचेतना बढाउनमा जोड दिइरहेको छ । ‘अझै पनि धेरै गर्न बाँकी छ । समुदायमा पुग्न एकदम जरुरी छ त्यसपछि लैंगिक हिंसाका घटनाहरु घट्थे होला । सबै संयन्त्रको समन्वय जरुरी छ,’ उनले भनिन् ।
नेपाल प्रहरीका अनुसार आव २०७७/७८ मा महिला तथा बालबालिकाविरुद्ध आएका अपराधको तथ्यांक १८ हजार ९६१ रहेको छ । जबरजस्ती करणी, घरेलु हिंसा, बहुविवाहका घटनाहरु बढी रिपोर्टिङ भएको देखिएका छन् ।
