रावलको आशंका- संसद्को अवरोध एमसीसी सम्झौता अनुमोदन गर्ने खेल त होइन ?

मंसिर २९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)ले गरिरहेको संसद्को अवरोधलाई लिएर सोही पार्टीका नेता भीमबहादुर रावलले आशंका व्यक्त गरेका छन् । उनले एमसीसीसँग नेपाल सरकारले गरेको सम्झौता पास गर्नका लागि एमालेले उक्त अवरोध गरिरहेको त हैन भन्ने आशंका व्यक्त गरेका हुन् । 

रावलले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत संसद्मा एमालेको अवरोध र एमसीसी सम्झौतालाई जोडेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, 'सरकारका कामकारबाही गर्न दिएर संसद्का बैठकहरू अवरूद्ध गर्ने कुराको औचित्य के हो ? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ?'

एमाले नेतृत्व त्यस्तो खेलमा सहभागी भएमा राम्रो नहुने रावलको भनाइ छ । 'यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ,' उनले भनेका छन् । 

सरकारका कामकारबाही चल्न दिई संसद् अवरोध गरेर सांसदहरूलाई बोल्न नदिएकोप्रति रावलले यसअघि पनि आपत्ति जनाइसकेका छन् । एमालेले गरेको संसद्को अवरोधको औचित्यबारे उनले बारम्बार प्रश्न उठाइरहेका छन् । संसद्मा विधेयक पास हुन दिने तर सांसदहरूलाई छलफलमा भाग लिनबाट रोकेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । 

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने माग पूरा नभएसम्म संसद्को अवरोध जारी रहने अभिव्यक्ति दिएका थिए । मंगलबारदेखि सुरु भएको संसद्को अधिवेशनको पहिलो दिन एमालेले विरोध जनाएको थियो । एमालेको विरोधका बीच सरकारले अध्यादेश पेस गरेको थियो । 

एमालेले माधवकुमार नेपाललगायत १४ सांसदलाई कारबाही गर्नुपर्ने भन्दै संसद्मा विरोध जनाउँदै आएको छ । 

एमसीसी

कान्तिपुर

Link copied successfully