एमसीसीमा विवाद गर्नु दुर्भाग्यपूर्ण : भट्टराई- समाचार - कान्तिपुर समाचार

एमसीसीमा विवाद गर्नु दुर्भाग्यपूर्ण : भट्टराई

राजकुमार कार्की

सिन्धुली — जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय सहमति जुटाएर एमसीसी पास गर्नुपर्ने बताएका छन् । जनता समाजवादीले सिन्धुलीमाढीमा मंगलबार आयोजना गरेको कार्यक्रममा भट्टराईले एमसीसी सहयोगको विरोध हुनु दुर्भाग्यपूर्ण भएको बताए ।

‘म नै प्रधानमन्त्री भएको बेलामा एमसीसी प्रक्रिया सुरु भएको थियो,’ उनले भने, ‘त्यसपछि बनेका सबै सरकारले यसलाई अगाडि बढाएका हुन् । अहिले आएर एमसीसीमा विवाद गर्नु बडो दुर्भाग्यपूर्ण भएको छ ।’ भट्टराईले प्रमुख दलहरुबीच छिटो राष्ट्रिय सहमति गरेर यो अनुदान सहयोग लिएर जाँदा नै नेपाललाई उपयुक्त हुन्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको बताए ।

‘फेरि हामी कहाँ त जसले जे गरेपनि शंकैशंकाले लंका खान्छ भने जस्तो सबै थोकमा विरोध गर्ने चलन छ,’ उनले भने, ‘सुरुदेखि भएका सम्झौता यस्तै भएका छन् ।’ एमसीसीलाई लिएर यतिधेरै बहस र विवाद गर्नु आवश्यक नभएको चर्चा गदै नेता भट्टराईले भने,'हाम्रो संविधान अनुसार यस्ता जुन अनुदान सहयोग हुन्छन्, त्यस निम्ती संसद्बाट अनुमोदन गर्ने आवश्यकता थिएन । तर यो ठूलो सहयोग भएकाले हाम्रैतर्फबाट संसद्बाट अनुमोदन भन्ने राखिएकाले राष्ट्रिय सहमति आवश्यक भएको हो ।'

अहिलेसम्म विदेशी सहयोग पूरै बन्द गर्ने भन्ने नेपालको कुनै नीति र संविधानको मर्ममा पनि नभएको उनले बताए ।

प्रकाशित : भाद्र २९, २०७८ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्

२४ घण्टामा १ हजार १८० जना कोरोना संक्रमित थपिए, १ हजार ५८९ संक्रमणमुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा १ हजार १८० जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार २६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै, ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३८२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १ हजार ५८९ जना संक्रमणमुक्त भएका छन् । १९ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ छ ।

हालसम्म नेपालमा कोरोनाबाट ७ लाख ७९ हजार ४९२ जनामा संक्रमण भएको छ भने ७ लाख ४२ हजार ३०६ जना निको भएका छन् । यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।

प्रकाशित : भाद्र २९, २०७८ १६:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×