प्रतिस्पर्धामा उत्रिएका नयाँ अनुहार

मंसिर २६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस महाधिवेशनबाट अधिकांश नयाँ अनुहार नेतृत्वमा आउने भएका छन् । केन्द्रीय कार्यसमिति अहिलेसम्मकै ठूलो र समावेशी बन्दैछ, जसले गर्दा कांग्रेसको केन्द्रीय समितिमा प्रशस्तै नयाँ अनुहार आउने निश्चित छ । कांग्रेसले ८५ सदस्यीय केन्द्रीय समितिलाई बढाएर १६७ पुर्‍याएको हो ।

त्यसमध्ये १३४ पदमा चुनाव हुँदैछ । सभापतिसहित १३ जना त पदाधिकारी मात्रै चुनिँदैछन् । भूगोल र समावेशी समूहसहित १२१ केन्द्रीय सदस्य पदमा ५०९ जनाले उम्मेदवारी दिएका छन् । ‘देशभरिबाट युवा प्रतिनिधिहरू आएका छन्, यसपटक केन्द्रीय समितिमा धेरै जसो नयाँ अनुहार नै आउँछन्,’ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले भन्छन् । उनले कांग्रेसको नेतृत्वमा युवा पुस्ताले हस्तक्षेपकारी ढंगले भूमिका बढाएको टिप्पणी गरे । 

कस्ता छन् नयाँ उम्मेदवार ? 

प्रतिमा गौतम

पद्मकन्या क्याम्पसदेखि विद्यार्थी राजनीति थालेकी गौतम त्यहाँको थाल ठटाउने आन्दोलनदेखि उदाएकी नेतृ हुन् । पछि ०५५ सालमा उनी पद्मकन्या क्याम्पसको स्ववियु सभापतिसमेत भइन् । त्यसपछि उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य हुँदै पहिलो महिला निर्वाचित महामन्त्री समेत बनिन् । ०६४ सालमा पार्टीको समानुपातिक उम्मेदवार बनेकी उनी ०७० को संविधानसभा सदस्यको निर्वाचनमा काठमाडौं–२ मा तत्कालिन एमालेका उम्मेदवार माधवकुमार नेपालसँग पराजित भइन् । पार्टीमा नयाँ पुस्ताले हस्तक्षेपकारी भूमिका खेल्ने बेला भएको उनको भनाइ छ । ‘पार्टीमा अब पुस्तान्तरण आवश्यक छ, पार्टीमा ०४६ पछि एउटै पुस्ता हाबी छ, जसले गर्दा पार्टीमा नयाँ पुस्ताको आकर्षण हुन सकिरहेको छैन,’ उनी भन्छिन्, ‘अब युवाहरूले शशक्त हस्तक्षेप गर्नसक्नुपर्छ ।’ 

उदय शमशेर

नेपाल तरुण दलका पूर्व अध्यक्ष उदय शमशेर १३ औं महाधिवेशनमा पराजित उम्मेदवार हुन् । २५ पदमा चुनाव भएको थियो, उनले २६ औं स्थानको मत प्राप्त गरे । ‘मलाई सभापतिज्यूले केन्द्रीय सदस्य मनोनित गर्छु भन्नुभयो, मैले लडेरै आउँछु भने,’ उनी भन्छन्, ‘म दिएको खानेमा होइन, संघर्ष गरेर लिनेमध्येमा पर्छु, कांग्रेस संघर्ष गर्ने पार्टी हो ।’ उनले यसपटक पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । ‘पार्टीलाई विधान र पद्धतिभित्र सञ्चालन गर्नुपर्नेछ, म त्यसकालागि प्रतिवद्ध छु,’ उनले भने । 

राजीव ढुंगाना

नेपाल विद्यार्थी संघका वर्तमान केन्द्रीय अध्यक्ष हुन्, ढुंगाना । उनले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । ‘देशभरिबाट युवा विद्यार्थी साथीहरूको प्रतिनिधित्व छ, ती साथीहरूको भावना र चाहनालाई सम्बोधन गर्न सक्ने इच्छाशक्ति र एजेन्डा मसँग छन्,’ उनले भने । उनले आफू विशेष परिस्थितिमा नेविसंघको अध्यक्ष भएको भन्दै नेविसंघबाट पार्टीमा आउन किन हतार गरेको भन्ने अर्थमा नबुझ्न आग्रह गरे । ‘कांग्रेसप्रति जनताको विश्वास र भरोसा छ, त्यसलाई पूरा गर्न सक्ने दृढता र सोच मैले लिएको छु,’ उनले भने । 

प्रकाश रसाइली ‘स्नेही’

बझाङबाट महाधिवेशन प्रतिनिधि बनेका रसाइली हाल प्रतिनिधिसभा सदस्य हुन् । कांग्रेस प्रतिपक्षीको भूमिकामा हुँदा संसदमा प्रभावकारी भूमिका निभाएका उनी चोटिला भाषण र संसदमा भुईं मान्छेका कुरा उठाएकै कारण कांग्रेसजनमा मात्रै होइन, आममानिस माझ लोकप्रिय छन् । नेविसंघको केन्द्रीय सदस्य र नेपाल दलित संघको केन्द्रीय महामन्त्री भएका उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । ‘यो नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन हो, हामीले नेता चुन्दै गर्दा नीति बिर्सिनुहुँदैन । नेताको नीति हेरेरै नेतृत्वमा पुर्‍याउनुपर्छ,’ उनी भन्छन्, ‘म कांग्रेसमा दलितको मात्रै होइन, भूमिहीन सुकुम्बासी, भरिया, रिक्साचालकका मुद्दा उठाउनुपर्छ भनेर उम्मेदवार बनेको छु, पार्टीभित्र विपन्न, दलित, महिला, आदिवासी, मधेशी, थारु, मुस्लिम र  पिछडिएको क्षेत्र वर्गको अधिकारको लागि म संघर्ष गर्छु ।’

लेखनाथ पोखरेल

०४५ सालमा नेपाल विद्यार्थी संघमा संगठित भएका पोखरेल केन्द्रीय कार्यवाहक अध्यक्षसमेत भए । अहिले उनी पार्टीको राजनीतिमा सक्रिय छन् । उनी अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अध्यक्षसमेत हुन् । सबल र सक्षम कांग्रेस बनाएर मुलुकलाई विकास र समुन्नतिको दिशामा अघि बढाउने उनको योजना छ । ‘मैले मेरो गाउँपालिकालाई देशभरका ४६० गाउँपालिकामध्ये नमूना बनाएको छु, त्यो अनुभव म कांग्रेसमार्फत् देशभरि पुर्‍याउन चाहन्छु,’उनी भन्छन् । उनले पार्टीमा यो महाधिवेशनबाट युवाहरूको प्रभावकारी भूमिका हुने विश्वास व्यक्त गरे । 

मनोजमणि आचार्य

नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्ष हुँदै राजनीतिमा आएका आचार्य अहिले पार्टीको केन्द्रीय सदस्य उम्मेदवार हुन् । उनी नेविसंघको केन्द्रीय सदस्य हुँदै महामन्त्री समेत भए । तर, अहिले नेविसंघलाई जरैदेखि उखेलेर फ्याँक्ने काम भएको उनको गुनासो छ । ‘नेविसंघ कांग्रेसको नर्सरी हो, तर त्यसलाई निमोठ्ने काम भइरहेको छ, पार्टीमा विधि र पद्धति भन्ने चीज अब बाँकी रहेन, त्यसैले पार्टी र भातृसंस्थाहरूको पुनर्जागरण गर्न मेरो उम्मेदवारी हो,’ उनले भने । उनले अहिलेको यथास्थितिवादी नेतृत्वले राष्ट्रिय राजनीतिका नवीन चुनौतीहरूलाई सम्बोधन गर्न नसक्ने बताए । ‘यथास्थितिवादी पुस्ताबाट अहिलेको चुनौतीको सामना हुदैन, तर हामीसँग त्यो चुनौतीविरुद्ध लड्न सक्ने सपना छ, त्यसको कार्यान्वयन गर्न जोस् जाँगर र उमेर पनि छ,’ उनले भने ।

कुन्दनराज काफ्ले

नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री काफ्लेले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । काठमाडौंको पशुपति बहुमुखी क्याम्पसमा स्ववियु सभापति भएर काम गरेका उनले थुप्रै विद्यार्थी आन्दोलनको नेतृत्व गरेर चर्चा कमाए । उनी १३ औं महाधिवेशनमा दोलखा जिल्ला सभापतिका प्रत्यासी थिए । ‘म आन्दोलनबाट आएको व्यक्ति हुँ, पार्टीमा युवा र विद्यार्थीको भरोसा चाहिन्छ,’ उनी भन्छन्, ‘मसँग ती युवा विद्यार्थीलाई पाटीमा आकर्षित गर्ने एजेन्डा र सोच छ ।’ उनले पाको पुस्तामात्रैले पार्टीको कुशल भविष्य हासिल नहुने बताए । 

डोबाटे विश्वकर्मा

दलित भएकै कारण मन्त्रीको सूचीबाट नाम काटिएपछि चर्चामा आएका विश्वकर्माले पनि कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । तनहुँका विश्वकर्मा गण्डकी प्रदेशका सांसद हुन् । गण्डकीमा कांग्रेस नेता कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बनेपछि उनलाई मन्त्रीका रुपमा सपथ खाने निम्तो पाएका थिए, तर पछि उनको नाम काटिएको थियो । पछि सभापति शेरबहादुर देउवाको निर्देशनमा उनी पुन: गण्डकी प्रदेशको मन्त्री नियुक्त भए । ‘मैले आफैँ पनि थरिथरिका विभेद भोगेको छु, पार्टीले त्यस्ता सबै खाले विभेदलाई निषेध गर्न सक्नुपर्छ,’ उनी भन्छन्, ‘मेरो अनुभव, त्याग र योगदानका आधारमा म पनि केन्द्रीय समितिमा काम गर्छु भन्ने चाहेर उम्मेदवारी दिएको छु ।’ राष्ट्रिय राजनीतिका समस्या र चुनौतीहरूको समाधानका लागि कांग्रेसले आफूलाई रुपान्तरण गर्नुपर्ने उनको भनाइ छ । 

 नैनसिंह महर

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष महर विद्यार्थी र युवामाझ लोकप्रिय छन् । उनी सभापति शेरबहादुर देउवाका विश्वासपात्र समेत हुन् । उनले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । ‘पार्टीमा रुपान्तरण आवश्यक छ, गुटबन्दीको अन्त्य गर्नुपर्नेछ,’ उनले भने, ‘सबै संरचनामा एक व्यक्ति र एक पद र हरेकमा दुई कार्यकालमात्रै लागू गर्नुपर्छ, म यो एजेन्डासहित पार्टीको राजनीतिमा अघि सरेको हुँ ।’ उनले सरकारले शिक्षा र स्वास्थ्य सेवालाई नि:शुल्क गर्नुपर्ने एजेन्डा अघि सारेका छन् ।

शंकर तिवारी

लेखक शंकर तिवारीले पनि कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । ३५ वर्षका उनी खुलातर्फका सबैभन्दा कान्छा उम्मेदवार हुन् । रत्नराज्य लक्ष्मी क्याम्पसदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएका उनले कांग्रेसको विगत र वर्तमानलाई नजिकबाट अध्ययन र विश्लेषण गरेका छन् । उनका नेपाली कांग्रेस ऐतिहासिक दस्तावेज, तरलतामा दृढता : सुशील कोइराला, कसले सुधार्छ कांग्रेस ? लगायत पुस्तकहरू प्रकाशित छन् । ‘कांग्रेस परम्परागत व्याकरणबाट चलिरहेको छ, यसलाई २१ औँ शताब्दी सुहाउँदो बनाउनुपर्छ । पूराना मान्छेहरूले अहिलेको आवश्यकताअनुसार काम गर्न सक्दैनन्,’ उनी भन्छन्, ‘अब पार्टीमा प्रवेशभन्दा पनि बहिर्गमनबारे जोड दिनुपर्ने अवस्था छ ।’ 

अजयबाबु शिवाकोटी

नेपाल प्रेस युनियनको महासचिव रहेका पत्रकार अजयबाबु शिवाकोटीले पनि कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । सक्रिय राजनीतिमा जाने निर्णयमा पुगेका उनी दोलखाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए । ‘मैले सक्रिय पत्रकारिता छाडेर सक्रिय राजनीतिमा जाने निर्णय गरेँ । राजनीतिमा पनि हामीजस्ता युवा पुस्ताको खाँचो छ, मैले हाम्रो समाज र राजनीति दुवै नजिकबाट बुझेको छु,’ उनी भन्छन्, ‘अहिलेको समाज सुहाउँदो राजनीतिक संस्कार विकासका लागि मेरो योगदान हुनेछ ।’ उनी यसअघि हाम्राकुरा डटकमका प्रधानसम्पादक थिए । 

प्रकाश पन्थ

राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थले पनि कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनले अपाङ्गता भएका व्यक्तिहरूका तर्फबाट उम्मेदवारी दिएका हुन् । ‘अपाङ्गता भएका व्यक्तिहरूका आफ्नै कठिन भोगाई र सिकाईहरू छन्, त्यसलाई राज्यले सम्बोधन गर्न सकेको छैन,’ उनी भन्छन्, ‘म कांग्रेसको केन्द्रीय कार्यसमितिमार्फत ती कुराहरूलाई राज्यका निकायहरूसम्म पुर्‍याउन चाहन्छु ।’ उनले सवल देश र कांग्रेस निर्माणका लागि कांग्रेसले सबैको अधिकारलाई सम्मान गर्न सक्नुपर्ने बताए । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully