काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनको दोस्रो दिन प्रदर्शनीमार्ग भृकुटीमण्डप दिनभर व्यस्त रह्यो । उम्मेदवारका पक्षमा नाराबाजीसहित प्रचारप्रसार र उम्मेदवारी दर्ताको रौनकता छायाे ।
सीमित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रतिनिधिले निर्वाचित गर्ने परम्परा पहिलोपटक तोडिएको कांग्रेसमा उम्मेदवारी दर्ता गर्नेको बिहानैदेखि चहलपहल थियो । १३ औं महाधिवेशनसम्म उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्षमा निर्वाचित सभापतिले आफूनिकटलाई मनोनित गर्ने क्रम यो महाधिवेशनबाट तोड्ने निर्णय भएको थियो ।
पार्टीमा परिमार्जन गरिएको यो निर्वाचन प्रणालीले पनि महाधिवेशन प्रतिनिधिलाई बढी अधिकार मिलेको थियो । त्यसैले पनि उनीहरू बिहानैदेखि आफूले मत दिन चाहेका उम्मेदवारबारे एकआपसमा छलफल, प्रचारप्रसार र नाराबाजी गरिरहेका थिए । खाना खाने स्थल होस् कि उम्मेदवारी दर्ता गर्ने थलो, महाधिवेशन प्रतिनिधिहरू आफूले समर्थन गरेको नेताको योग्यता, क्षमता र आगामी योजना के हो ? भन्नेबारे अन्य प्रतिनिधिलाई विश्वस्त बनाउने प्रयास गरिरहेका देखिन्थे ।
उम्मेदवारी दर्ताको समय कांग्रेस महाधिवेशन निर्वाचन समितिले १० बजेदेखि ५ बजेसम्म तय गरेको थियो । त्यसको जानकारी राष्ट्रिय सभागृहको सिँढीबाट माइकिङ गरेर जानकारी पनि गराइएको थियो ।
पहिलो उम्मेदवारी घोषणा गर्नेमा युवा नेता कल्याणकुमार गुरुङ थिए । उनले कांग्रेसको सभापतिमा १० बजेर ४५ मिनेटमा नै उम्मेदवारी दर्ता गरिसकेका थिए । त्यतिबेला सभापतिका अन्य उम्मेदवारहरू टिम व्यवस्थापनका लागि रस्साकस्सीमै थिए ।
'परिवर्तन, न्याय र समानताको पक्षमा उठेका आवाज र नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै उम्मेदवार' बनेको गुरुङको भनाइ थियो । कांग्रेस विधानले तोकेको योग्यता पुगेका दुई सय युवाले सभापतिमा उम्मेदवारी गरे हुन्थ्यो भन्ने अपेक्षा पनि उनले व्यक्त गरेका थिए । 'केन्द्रीय सभापतिमा नै उम्मेदवारी नदिँदा युवा पुस्ता कसरी आउँछ ? कसैको फेरो समाएर, कसैको सेटिङमा बसेर आफ्नो पद जोगाउनुभन्दा नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिँदा हुन्छ,' उनले भने ।
वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्की पनि छिट्टै उम्मेदवारी दर्ता गर्नेमा थिइन् । उनले बचपनदेखि कांग्रेसमा लागेको र कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद कोइरालासम्मको संगतमा राजनीति सिकेको भन्दै खुला महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएको बताइन् । उनले आफू कुनै नातागोताबाट उम्मेदवार नबनेको तर अत्यधिक भोटले जित्ने विश्वास पनि व्यक्त गरेकी थिइन् ।
उम्मेदवारी दर्ता गर्नेमा शंकर तिवारी पनि थिए । उनले युवाहरुकाे राजनीतिमा हस्तक्षेपकारी भूमिकाको वकालत गर्दै आएका छन् । त्यही क्रममा उनले भने 'समय सुहाउँदो कांग्रेस बनाउन मैले उम्मेदवारी दिएको हुँ ।'
नेताको प्रचारप्रसार गरिरहेका नवलपरासीका लालबहादुर गुरुङले यो महाधिवेशनबाट युवा नेताहरू पदाधिकारीमा आउन लागेकोमा सन्तोष व्यक्त गरिरहेका थिए । उनले भने, 'गगन थापा, प्रदीप पौडेलले महामन्त्री जितेमा कांग्रेसमा अर्को रौनक र अर्कै जोस आउँछ । सभापति पुरानै पुस्ताको भएपनि उहाँहरूले जितेर महामन्त्रीको भूमिका राम्रोसँग खेलेमा अर्कै बाटोमा जन्छ कांग्रेस ।'
यसबीचमा केन्द्रीय सदस्यमा फाट्टफुट्ट उम्मेदवारी दर्ता भइरहेको थियो । २ बजेसम्म सभापतिमा गुरुङ, उपसभापतिमा महेश आचार्य र सहमहामन्त्रीमा ४ जना तथा केन्द्रीय सदस्यमा एक सय जनाले उम्मेदवारी दर्ता गरेका थिए ।
उपसभापतिमा कुनै प्यानलमा नरही उम्मेदवारी दर्ता गराएका आचार्यले जलवायु परिवर्तनदेखि परराष्ट्र सम्बन्ध एवं विश्व मञ्चमा नेपालको भूमिकाबारे पार्टीलाई छलफलका एजेन्डा बनाउने विश्वास दिलाए । 'उपसभापति पद कार्यकारी होइन तर पार्टीको विचार, कार्यनीति, कार्यक्रम तथा कार्यकर्तालाई वैचारिक रूपले प्रशिक्षण दिनुपर्ने ठूलो भूमिका हुन्छ,' संविधानका आधारभूत संरचना ७ वर्षमै धर्मराएको र त्यसलाई आड दिन आफू उपसभापति बन्नुपर्ने भन्दै उनले थपे, 'मेरो उम्मेदवारीलाई जित र हारको साँघुरो चिन्तनबाट हेरिनुपर्छ भन्ने लाग्दैन । पार्टीको कार्यशैली, नेताहरूले लिनुपर्ने वैचारिक र नीतिगत अग्रसरताबारे कुरा गर्न खोजेको हो ।'
आचार्यले पार्टीलाई गुटबन्दीको धमिराले खाइरहेको भन्दै चिन्ता व्यक्त गरे । पार्टी नेतृत्वमा पुग्नका लागि 'बल प्रयोग गर्ने, पदको र कार्यालयको दुरुपयोग हुने अपसंस्कृति बलियो' भएकोमा उनको असन्तुष्टि थियो । उनीजस्तै चिन्तित देखिए, रामशरण महत ।
केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेर राष्ट्रिय सभाको चौरमा घाम ताप्दै पत्रकारहरूलाई प्रतिक्रिया दिएका उनले भने, 'सभापति त हामीभन्दा जुनियर छन् । त्यसो भएर केन्द्रीय सदस्य मात्रै बसेको हो ।' प्रकाशमान र शेखरले अड्डी नछोड्दा रामचन्द्र पौडेल निराश भएर राजनीतिबाट नै अलग हुने बाटोमा लागेको र आफू पनि असन्तुष्ट रहेको महतको भनाइ थियो । 'उहाँ (पौडेल) अलग भएर बस्नुहुन्छ । राजनीतिबाट नै अलग हुनसक्छु भन्नुहुन्छ । निराश भयो उहाँलाई । मलाई पनि गुटबन्दीले वितृष्णा भइरहेको छ । पार्टीभित्र एकता कायम राम्रो हो मेलमिलाप हुनुपर्ने हो तर त्यो देखिएन,' उनले भने ।
रामचन्द्र पौडेल भन्दा केही मात्रै जुनियर रहेको तर सभापतिमा आफूलाई नमानेको महतले असन्तुष्टि राख्दै गर्दा पौडेल समूहबाट छुट्टिएर सभापतिमा उम्मेदवारी घोषणा गरेका प्रकाशमान सिंह बाजागाजासहित राष्ट्रिय सभागृहको गेटबाट भित्र प्रवेश गरिरहेका थिए । अर्कोतिर रामशरणका भाइ प्रकाशशरण महत भने शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवारी दर्ता गर्न राष्ट्रिय सभागृहतर्फ आइरहेका थिए ।
त्यसबीचमा सभापतिमा युवराज न्यौपानेले उम्मेदवारी दर्ता गरेका थिए ।
प्रकाशमान र सुजाता कोइराला उम्मेदवारी दर्ता गरीवरी माला पहिरिएर राष्ट्रिय सभाबाट बाहिरिए । त्यसैबेला महामन्त्रीमा उम्मेदवारी दर्ता गर्नका लागि विश्वप्रकाश शर्मा आइपुगे । शेरबहादुर देउवा, डा. शेखर कोइरालासम्मको महामन्त्रीको उम्मेदवार बन्ने चर्चा थियो । त्यस्तै उनले विमलेन्द्र निधिसँग पूजापाठ गरेर सँगै रहेको संकेत दिन खोजेका थिए । तर, उनी महामन्त्रीमा उम्मेदवारी घोषणा गर्न भने एक्लै सभागृह प्रवेश गरे ।
केहीबेर सिंहसँग कानेखुसी गरेर उम्मेदवारी दर्ता गर्ने हलतर्फ उनी लागेका थिए । प्रकाशमान र सुजाता विश्वप्रकाशलाई चौरमा कुरिरहे । विश्वप्रकाश उम्मेदवारी दर्ता गरेर फर्किएपछि उनीहरू कुरिरहेको चौरमा पुगे र लामो भूमिका बाँधेर आफूले किन प्रकाशमानलाई समर्थन गरेको भनेर प्रष्ट्याए ।
शनिबार मात्रै पनि विश्वप्रकाश डा. शेखर कोइरालाको प्यानलमा उम्मेदवार बनेको सार्वजनिक भएको थियो । त्यसपहिले उनी प्रकाशमान र सुजाताको उम्मेदवारी घोषणा तथा अवधारणापत्र सार्वनजिक कार्यक्रममा पनि गएका थिएनन् । देउवा र कोइरालाको प्यानलमा नपरेका उनले निधिसलाई नरोजी सिंहको प्यानलमा पुगे ।
प्रकाशमान, सुजाता र विश्वप्रकाश पदाधिकारीमा तपाईंको प्यानलमा को-को छन् भन्ने प्रश्नमा अड्किए । विश्वप्रकाशले सबै पदमा उम्मेदवार बनाउनुपर्छ भन्ने नलागेको र अरु प्यानलका उम्मेदवारलाई पनि मत दिने फराकिलो छाति आफूहरूसँग रहेको तर्क गरेका थिए ।
त्यसपछि दलबलसहित डा. शेखर, गगन र मिनेन्द्रको टिम सभागृह प्रवेश गरेको थियो । उम्मेदवारी दर्ता गरेपछि उनले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाएका थिए । अध्यादेशबाट देश चलिरहेको, न्यायपालिका र संसद्ले पनि प्रभावकारी रूपमा काम नगरेको उनको भनाइ थियो । युवा टिम बनाएको र पाकाहरूको अनुभवबाट अघि बढ्ने उनको भनाइ थियो । नयाँ कार्यशैली र जोश लिएर अगाडि बढ्ने बताएका डा. कोइरालाको टिमबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका गगन थापा भने बोलेनन् ।
डा. शेखर बाहिरिएपछि विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता गराए । एक्लै उम्मेदवारी दर्ता गराउन पुगेका उनको प्यानल ठूलो छैन भन्ने उपस्थितिले नै देखाएको थियो ।
त्यसपछि पालो आयो प्रधानमन्त्रीसमेत रहेका सभापतिका उम्मेदवार शेरबहादुर देउवाको । उनी आउँदैछन् भन्ने संकेत त्यहाँ उपस्थित सुरक्षाकर्मीको चलमलाहट र उनी निकट नेताहरूको उपस्थितिले देखाइरहेको थियो । देउवा प्यानलबाट महामन्त्री वा उपसभापति दाबी गरिरहेका एनपी साउद मिडियालाई छल्दै दर्ता गर्नेतिर लागे । त्यसपछि महामन्त्रीको नै दाबी गरिरहेका गृहमन्त्री बालकृष्ण खाँण आइपुगे । खाँणले आफू देउवाको प्रस्तावक बन्नका लागि आएको र आफ्नो उम्मेदवारी महत्वपूर्ण नरहेको बताए । आफू पनि टिममा रहेको तर कुन पदमा हो भन्ने खुलाउन उनले आनाकानी गरिरहेका थिए । आफू केन्द्रीय समितिमा पुग्दा नै गर्व गर्ने उनको भनाइ थियो । सभापतिलाई विजयी गराउने अभियानमा भएकाले कुन पदमा लड्ने भन्ने महत्वपूर्ण नरहेको भन्दै उनले देश र पार्टीको आवश्यकताले गर्दा महामन्त्री पदको दाबी छोडेको बताए । 'देउवाको नेतृतवमा हामी एकढिक्का भएर अगाडि बढेका छौं, त्यसमा केही चोट लाग्ला, प्रहार केही हुन्छसक्छ तर हामी अगाडि बढेका छौं,' उनले भने ।
देउवा प्यानलबाटै पदाधिकारीमा दाबी गरिरहेका रमेश लेखकले आफ्नो उम्मेदवारी केन्द्रीय सदस्यमा मात्रै रहेको छोटो प्रतिक्रिया दिएका थिए । सकेसम्म प्रतिक्रिया दिन नपरे हुन्थ्यो भन्ने भाव देखाइरहेका उनले भने, 'छलफल गर्दैजाँदा साथीभाइहरूका बीचमा जे सहमति हुन्छ त्यसैअनुसार अगाडि बढ्नुपर्ने हुन्छ । अर्को पटक हेरौंला ।'
उम्मेदवारी दिएपछि प्रतिक्रिया दिन बाचा गरेर गएका देउवाले फर्किएपछि भने सिटौलालाई बोल्न अगाडि सारे । सिटौलाले देउवाले सभापतिमा दिएको उम्मेदवारीलाई समर्थन गर्न आफू आएको र उनको समूहमा उम्मेदवार बनेकालाई समर्थन गरेको बताए । उनले महामन्त्रीमा प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरीलाई अगाडि सारेकोमा बढी जोड दिएका थिए ।
त्यसपछि उनलाई पत्रकारले राजनीतिबाट सन्यास लिन लाग्नुभएको हो ? भन्ने प्रश्न गरे । जवाफमा सिटौलाले भने 'मैले उम्मेदवारी दिइनँ । कांग्रेसको राजनीति बाहिरबाट गर्न सकिन्छ भन्ने लागेको छ । सडकमा बसेर कांग्रेसमार्फत धेरै राजनीति गर्न सकिन्छ भन्ने मेरो मान्यता छ ।' सिटौलाले कांग्रेसको महत्वपूर्ण पदमा नरही कति राजनीति गरेका रहेछन् भन्ने कुरा महामन्त्रीमा पौडेललाई अगाडि सारेबाटै देखिएको देउवा पक्षका नेताहरू नै बताइरहेका थिए ।
त्यसपछि देउवा बोले । उनले पत्रकारहरूलाई भने, 'तपाईंहरूले उहाँ (सिटौलातिर इंगित गर्दै) ले राजनीतिबाट सन्यास लेओस् भन्ने इच्छा पूरा गर्न सक्नुभएन है, धन्यवाद ।' त्यति भनेर देउवा अगाडि बढिरहेका थिए । त्यसै क्रममा पछाडिबाट उनका सहयोगीले 'एक पत्रमा हस्ताक्षर गर्न बाँकी रहेछ' भने । अनि देउवाले असन्तुष्टि व्यक्त गरे । 'अघि नै भन्नुपर्दैन ?' उनको प्रश्न थियो । त्यसैबीच केही प्रश्न गर्ने समय मिल्यो । अनि पत्रकारले सोधे, 'टीम कसरी टुंग्याउनुभयो ?' जवाफमा उनले भने, 'टिम टुंगियो, के गर्नुहुन्छ ?'
देउवा राष्ट्रिय सभागृहबाट बाहिरिएसँगै उम्मेदवारी दर्ताको समय पनि सकिएको थियो । त्यसबीचमा कांग्रेस केन्द्रीय कार्यसमितिका १३४ पदका लागि ५ सय ४८ नेताले उम्मेदवारी दर्ता गरेका थिए । एक सभापतिकालागि ६, दुई उपसभापतिका लागि ७ र दुई महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दर्ता गरेका थिए । सह–महामन्त्री खसआर्य, महिला, दलित, जनजाति, मधेशी, थारु, मुस्लिम, पिछडिएको समुदायबाट गरी जम्मा ८ पदका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
प्रदर्शनीमार्गमा कांग्रेसका प्रतिनिधिले भने प्रचारप्रसारका विभिन्न तौरतरिका जारी नै राखेका थिए ।
