पार्टी प्रतिस्पर्धामा पौडेलको पूर्णविराम !

‘मैले कांग्रेसलाई जुन रुपमा बुझ्दै आइरहेको थिएँ त्यो कांग्रेसमा विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ । पार्टी सत्ताको भर्‍याङ नहोस् भनेर बीपी, गणेशमान र किसुनजीले जीवनभर आदर्श र मूल्यका लागि लड्नुभयो, संघर्ष गर्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडाबोध भइरहेछ'

मंसिर २५, २०७८

बबिता शर्मा

काठमाडौँ — संस्थापनइतर पक्षबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने अन्तिम प्रयास असफल भएपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने ‘असाधारण’ निर्णय लिए । १४ औं महाधिवेशनमा उम्मेदवारी मनोनयन गर्ने दिन शनिबार वरिष्ठ नेता पौडेल कसैको पक्षमा उभिएनन् । पार्टी प्रतिस्पर्धा राजनीतिबाट उनले स्वेच्छिक अवकाश लिए । यद्यपि ७५ वर्ष कटेका पौडेलले राष्ट्रिय राजनीतिमा आफू सक्रिय हुने चाहिँ स्पष्ट पारेका छन् ।

२०७२ को फागुन २० देखि २३ सम्म काठमाडौंमा भएका १३ औं महाधिवेशनमा नेता पौडेल तत्कालीन संस्थापनपक्षका तर्फबाट सभापतिका दाबेदार थिए । पहिलो चरणमा भएको त्रिपक्षीय प्रतिस्पर्धामा (पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला)मा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि भएको दोस्रो चरणको निर्वाचनमा सिटौलासँगको समीकरणमा देउवा सभापतिमा निर्वाचित भए ।

देउवाले १८ सय २२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी पार्टीका कार्यवाहक सभापति पौडेलले १२ सय ९६ मत ल्याएका थिए । दोस्रो चरणको मतदानमा देउवाले पौडेललाई ५ सय २६ मतले हराएका थिए । जसका कारण पार्टीको सभापति बन्ने पौडेलको चाहना सफल हुन सकेन । र, देशको पुरानो पार्टीको सभापति बन्ने उनको चाहना कम्तीमा पाँच वर्ष पछाडि धकेलिएको थियो । तर यसपटक भने करिब पूर्णविराम लागेको छ । 

पटक–पटक कार्यतालिका हेरफेर गरे पनि कांग्रेसले संवैधानिक बाध्यताअनुसार ०७८ को मंसिर २४ देखि २७ सम्म काठमाडौंमै १४ औं महाधिवेशन गर्ने निर्णय गर्‍यो । र, वरिष्ठ नेता पोडैलले पाँच वर्ष अगाडिको हारलाई जितमा बदल्ने महत्वकांक्षासहित सभापतिको उम्मेदवार बन्ने चाहना राखे । तर, परिस्थिति उनका लागि यति जटिल भइदियो, उनी उम्मेदवार समेत नबन्ने बाध्यकारी निर्णय गर्ने ठाँउमा पुगे ।

आफू सिनियर नेता हुँदा हुँदै पनि संस्थापन इतरका प्रकाशमान सिंह र शेखर कोइराला सभापतिको दाबीबाट पछाडि हटेनन् । आफ्नै समूहभित्र सबैको स्वीकार्यता नभएपछि पौडेलले विभाजित मानसिकता लिएर प्रतिस्पर्धाको मैदानमा प्रवेश गर्न चाहेनन् । तर, उनले पदाधिकारीमा नउठ्ने घोषणा गर्दै जारी गरेको विज्ञप्तीमा भने कांग्रेसभित्र पार्टी कब्जाका लागि हुने जायज–नाजायज गुटगत शक्तिसंघर्षको भने फेहरिस्त खोलेका छन् ।

‘मैले कांग्रेसलाई जुन रुपमा बुझ्दै आइरहेको थिएँ त्यो कांग्रेसमा विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ । पार्टी सत्ताको भर्‍याङ नहोस् भनेर बीपी, गणेशमान र किसुनजीले जीवनभर आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, संघर्ष गर्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडाबोध भइरहेछ’, पौडेलले विज्ञप्तिमा भनेका छन्, ‘संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको छ ।’

पौडेलले १४ औं महाधिवेशनसम्म आइपुग्दा अनेको प्रपन्च भोगेको उल्लेख गर्दै लोकतन्त्रका लागि विवेक पुर्‍याउन प्रतिनिधिसँग आग्रह गरेका छन् । ‘प्रजातन्त्रका मुल्य, मान्यता र आदर्श अंगालेर अनेक अथक प्रयत्न गर्दा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छाड्ने अवस्थामा म पुगें । तर, एउटा इमानदार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएको बिकृत्ति र गलत प्रवृत्तिविरुद्ध लडिरहनेछु’, उनले विज्ञप्तीमा भनेका छन्, ‘राष्ट्रिय राजनीतिमा मेरो भूमिका रहिरहनेछ । प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनुहुनेछ भन्ने शुभेच्छा व्यक्त गर्दछु ।’

लामो समय कोइराला परिवारको छत्रछायामा राजनीति गरेका पौडेलका लागि सुशील कोइरालाको निधनपछि कांग्रेसको नेतृत्व लिने अवसर थियो । केही समय कार्यवहाक सभापति भए । तर, कम ‘धनवल’ को र सकेसम्म निष्ठाको राजनीतिमा जोड गर्ने पौडेल सत्ता राजनीतिमा जोखिमपूर्ण खेल खेल्न सक्ने देउवाका अगाडि टिकेनन् । ०७२ को १३ औं महाधिवेशनमा पौडेलको पराजय यसैको उदाहरण थियो ।

धेरै पछाडी पनि जानु पर्दैन, पछिल्लो सत्ता राजनीतिमा पनि देउवाका अगाडि पौडेल विकल्पविहीन बने । गत पुसमा पहिलो पटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा लामो समय कांग्रेस सभापति देउवाले यसको शसक्त विरोध गरेनन् । चुनाव भए कांग्रेसकै हितमा हुन्छ भनेर देउवा मौन बसिरहदा पौडेलले भने संसद विघटन लोकतन्त्र र संविधानमाथिको प्रहार हो भनेर सडक संघर्षमा जोड दिएका थिए । 

तर, देउवाले रुचि नै राखेनन् । दोस्रो पटक संसद विघटनमा पनि पौडेलले उत्तिकै कडा विरोध गरे । परिस्थिति यस्तो बन्यो देउवा प्रधानमन्त्रीका उम्मेदवार भए । अदालतको परमादेशसँग प्रधानमन्त्रीमा पनि नियुक्त भए । पौडेल अहिले सरकार संचालनका लागि बनेको पाँच दलीय कार्यदलको दुई महिने संयोजक छन् । एक महिना संयन्त्रको एउटा बैठकमा वितिसकेको छ । अर्को बैठकको तय छैन । 

राजा महेन्द्रले ०१७ सालमा वीपी कोइरालालाई जेल हालेपछि त्यतिबेला १६ वर्षका पौडेलले राम्ररी बुझ्दै नबुझी राजनीतिको डोरी समातेका थिए । ०३३ सालमा भारतको निर्वासनबाट बीपी फर्केपछि पौडेलले नजिक बसेर काम गरेका थिए । उनले कांग्रेसको अहिलेको मात्र होइन, विगतको पनि शक्तिसंघर्ष नजिकबाट हेरेका छन् । बीपी र सुवर्णशमशेरबीच होस् वा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईबीचको तनाव होस्, उनले नजिकबाट हेरे । गिरिजा र शेरबहादुरबीचको तनाव र पार्टी विभाजन हुँदा समेत उनले कांग्रेसको आन्तरिक राजनीतिलाई राम्रोसँग देखे ।

तनहुँको तत्कालीन रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मेका पौडेल कांग्रेसद्वारा सञ्चालित ०१८ को सशस्त्र क्रान्तिमा जोडिएका थिए । ०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति थिए । ०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनामा पौडेलको भूमिका थियो । उनी पहिलोपटक ०४४ सालमा कांग्रेसको केन्द्रीय सदस्य बने । त्यसयता उनी लगातार केन्द्रीय नेतृत्वमा छन् ।

विगतमा उनले पार्टी र सरकारको मुख्य नेतृत्वबाहेक अरु पदै नपाएका होइनन् । कांग्रेस राजनीतिभित्र समन्वयकारी एवं मध्यमार्गी भूमिकामा रहेका पौडेल पार्टीमा महामन्त्री र उपसभापतिसम्म भए । पटक–पटक मन्त्री  । ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित भएका उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री बनेका थिए । उनी ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने । 

०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट निर्वाचित भएका उनी प्रतिनिधिसभामा सभामुख भए । ०५६ सालमा तनहुँ २ बाट तेस्रो पटक सांसद भए । उनी ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्री थिए । ०६३ सालमा उनी शान्ति तथा पुनर्निमाण मन्त्री थिए । ०६२ सालमा कांग्रेस महामन्त्री बन्ने मौका पाए । उनले २०५१ को मध्यवधि चुनावपछि बनेको संसदमा भने उनले सभामुख भएर मुख्य नेतृत्व नै लिए । उनको चाहना सरकारको नेतृत्व गर्ने पनि थियो । त्यो पनि पुरा हुन सकेन् । प्रजातान्त्रिक संघर्षमा लाग्दा पौडेल १४ बर्ष जेल बसेका नेता हुन् । 

‘पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भइरहेको छ, त्यो सन्दर्भमा मैले १४ औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको छु’, शनिबार उनले भनेका छन्, ‘पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने मात्र थलो होइन, यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक हुन्छ ।’ 

पौडेलको यो निर्णय तत्कालका लागि कांग्रेसको शक्ति संघर्षमा कति सार्न्दभिक हुन्छ यसै भन्न सकिन्न तर लामो समय आधारभूत रुपमा निष्ठाको राजनीति गरेकाले उनले उठाएको मुद्दा भविष्यमा वहसको विषय बन्न सक्छ । कांग्रेसको इतिहासमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको बर्हिगमन सुखद छैन । उम्मेदवारी नदिने  निर्णय गरिरहँदा पौडेलको आँखाबाट शनिबार आँसु खसेकाे छ । पौडेलको पार्टी प्रतिस्पर्धाको पूर्णविरामले कांग्रेसलाई के असर गर्छ आगामी दिनमा देखिनसक्छ । 

कांग्रेस महाधिवेशन

बबिता शर्मा कान्तिपुर दैनिकमा राजनीतिक ब्यूरोमा कार्यरत छिन् ।

Link copied successfully