काठमाडौँ — नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीको उम्मेदवारको रुपमा चर्चा गरिएका नेता बालकृष्ण खाँणले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे ।
यसअघि नै सहमहामन्त्री र पार्टीको सचेतक बनिसकेका नेता खाँणले अनपेक्षित रुपमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे । उम्मेदवारी दर्ता गर्नासाथ पत्रकारहरूसँग अन्तर्वार्ता दिँदै उनले आफूहरूले सहमतिबाटै प्यानल बनाएको बताए ।
साथै आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिन पाउँदा पनि खुसी नै रहेको उनको भनाइ थियो । जवकि खाँणले यसअघि महामन्त्री पदका लागि सभापति शेरबहादुर देउवासँग लबी गर्दैआएका थिए ।
सञ्चारकर्मीहरूले भने नेता कृष्ण प्रसाद सिटौलाको भूमिकाका कारण देउवा प्यानलमा दावेदार ठानिएका थुप्रै नेताहरू बाहिरिएको वा पछि हटेको भन्दै प्रश्न गरेका थिए । केहीले भने देउवा निकट नेताहरू सिटौलाको रणनीतिको शिकार बनेको भन्दै व्यंग्य गरेका थिए ।
खाँणले त्यसलाई सहज रुपमा छलफल र सल्लाह अनुसार नै प्यानल बनाएको संकेत व्यक्त गरेका थिए । यद्यपि १३औं महाधिवेशनमा भने आफूहरूले सिटौलासँग सहयोग लिएको र समन्वय गरेको नेता खाँणको भनाइ थियो ।
उनले भनेका थिए, 'बीपी कोइराला, किसुनजी, गणेशमान, गिरिजाबाबुहरूले बनाएको पार्टी हो । म यस पार्टीको कार्यसमितिमा मात्रै हुनु पनि गौरवको कुरा हो । म खुसी छु,' खाँणले भनेका थिए । खाँणले झैँ महामन्त्रीका उम्मेदवार प्रकासशरण महतले पनि उम्मेदवारी दर्ता गरेर फर्किँदै गर्दा आफूहरू कोही पनि असन्तुष्ट नरहेको प्रतिक्रिया दिए ।
केन्द्रीय सदस्यका उम्मेदवार खाँण र नेता महतले त्यसो भनिरहँदा विश्वप्रकाश शर्मा भने देउवा प्यानललाई रातारात छाडेर प्रकाशमान सिंहको प्यानलमा महामन्त्री बन्न पुगे । शुक्रबार साँझसम्म देउवा प्यानलकै उम्मेदवार बन्ने तयारी गरेका शर्मा शनिबार बिहानसम्म प्रकाशमान प्यानलमा पुगिसकेका थिए ।
शर्मासँगै देउवा निकटका थुप्रै नेताहरूले अन्तिम अवधिमा पदाधिकारीबाट पछि हटे । तीमध्ये केहीले असन्तुष्टि पोख्न थालिसकेका छन् । तनहुँका नेता शंकर भण्डारीले त सार्वजनिक रुपमै कृष्ण प्रसाद सिटौलाको कडा आलोचना गर्न थालेका छन् ।
देउवा निकट स्रोतका अनुसार वर्षौंदेखि देउवालाई साथ दिँदैआएका केही नेताहरूले त केन्द्रीय सदस्यमा पनि उम्मेदवारी नदिने भन्दै घुर्की लगाएका थिए । रमेश लेखक, एनपी साउद, नारायण खड्का, सीता गुरुङ, शंकर भण्डारी, गोपालमान श्रेष्ठ, गोविन्द भट्टराई, रामहरि खतिवडा लगायत नेताहरू वर्षौंदेखि देउवाको नजिक रहेका थिए ।
सिटौला हाबी
तैपनि प्यानल बनाउने अन्तिम अवस्थामा सिटौला 'हाबी' भएपछि देउवा आफैँले चाहेको भन्दा पनि भिन्न संरचना बनेको छ । विगतमा नेतृत्वको व्यापक आलोचना भइरहेका बेला युवा नेता विश्वप्रकाश शर्माले आफ्नो गुट छाड्दै देउवालाई साथ दिएका थिए । गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल लगायत युवा नेताहरूको समूह छोडेर शर्मा देउवासँग नजिकिएपछि त्यो समूह नै भंग भएको थियो ।
तिनै शर्मालाई पछि पारेर देउवाले उनीभन्दा 'जुनियर' नेता प्रदीप पौडेललाई महामन्त्री पदमा उम्मेदवार बनाइदिएपछि संस्थापन पक्षभित्रै मिश्रित प्रतिक्रिया आउन थालेका छन् । अघिल्लो महाधिवेशनमा पनि दोस्रो चरणमा पुगेर सिटौलाकै सहयोगमा देउवा सभापति बनेका थिए ।
देउवाले सायद त्यही गुन तिर्नका लागि पनि यसपटक सिटौलाको सुझाव सल्लाह बमोजिम प्यानल बनाएको बुझिन्छ । लामो समय नेतृत्व निकट रहँदैआएका सिटौला पछिल्लो समय निस्क्रिय रहे पनि प्यानल बनाउन भने सक्रिय नै देखिए । तर उनले बनाएको प्यानलले पार्टीमा लामो समय संघर्ष गरेका र नयाँहरूबीच सन्तुलन नमिलाएको भन्दै देउवा प्यानलभित्रै आलोचित बनेका छन् ।
