प्यानल बनाउन अन्तिम कसरत

मंसिर २५, २०७८

प्रकाश धौलाकोटी

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार ५ बजेभित्र उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । तर, अहिलेसम्म सभापतिका उम्मदवारकै टुंगो लागेको छैन । आकांक्षी उम्मेदवारहरू साझा उम्मेदवार बन्न र समूहको आधिकारिक उम्मेदवार बन्ने अन्तिम रस्साकस्सीमा छन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आ–आफ्नो प्यानल बनाउन अन्तिम कसरत गरिरहेका छन् । दिउँसोसम्म उम्मेदवारको टुंगो लगाएर आजै उम्मेदवारी दर्ता गर्नुपर्नेछ । 

शुक्रबार साँझ देउवाले नेता कृष्णप्रसाद सिटौला पक्षसँग समीकरण बनाउने सहमति गरेको बाहिरिएपछि देउवा समूहभित्र असन्तुष्टिको चाङ लागेको छ । नेताहरूले देउवासँग असन्तुष्टि पोखेका छन् । ‘जुनियर नेताहरूलाई माथिल्लो पदमा लिएर जाने कुरा हुदैन, टिमभित्रको व्यवस्थापन हुने गरी समीकरण बनाएर जाने हो, अहिले टुंगिएको छैन,’ देउवापक्षीय एक नेताले भने । देउवापक्षीय नेताहरू बालुवाटारमा राति १ बजेसम्म बसेर छलफल गरेका थिए । बिहान ७ बजेदेखि नै फेरि छलफलमा छन् । 

शुक्रबार देउवाले सिटौलानिकट नेता प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने सहमति गरेका थिए । तर, पौडेलको उम्मेदवारीलाई  लिएर देउवाटिम भित्र असन्तुष्टि चुलिएको छ । देउवा आफूमात्रै सभापति जित्ने गरी समीकरण गरेर अघि बढ्न खोजेको भन्दै नेता शंकर भण्डारीले असन्तुष्टि जनाए । ‘सबैलाई समेटेर जानुपर्ने हो, तर लामो समयदेखि काम गरेका नेताहरूलाई छाडेर एक्लै सभापति जित्ने गरी टिम बनाउने कुरा स्वीकार्य हुदैन,’ भण्डारीले भने । 

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले साझा उम्मेदवार चयन गर्न नसकेपछि अब विभाजित भएरै प्रतिस्पर्धा गर्ने तयारीमा जुटेका छन् । नेता प्रकाशमान सिंहले आफ्नो अलग्गै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिने तयारी अघि बढाएका छन् । ‘हामी छलफलमा छौँ, प्यानलकै घोषणा हुन्छ, अहिले दिउँसोसम्म घोषणा गरेर मनोनयन दर्ता गर्छौ,’ सिंहनिकट एक नेताले भने । 

सिंह एक्लै अघि बढ्ने भएपछि पौडेल समूहले शेखर कोइरालाकै नेतृत्वमा प्यानल बनाउने तयारी गरिरहेको छ । पौडेल समूहका अन्य नेताहरू पनि छलफलमा जुटेका छन् । सिंह एक्लै अघि बढेपछि पौडेल आफू सभापतिमा प्रतिस्पर्धा गर्ने कि नगर्ने अन्योलमा परेका छन् । सिंह बाहेकबाट साझा उम्मेदवार बनाउन नेताहरू छलफलमा छन् । ‘टिम एकताबद्ध नभएपछि अब रामचन्द्र दाई लड्नुहुन्नँ । त्यसबाहेकबाट साझा उम्मेदवारको खोजी हुदैछ,’ एक नेताले भने, ‘शेखर कोइरालाको नेतृत्वमा साझा टिम बनाएर लड्ने हुनसक्छ ।’ 

देउवा पक्षबाट सभापतिमा देउवा एक्ला उम्मेदवार छन् । तर, दुई उपसभापति र दुई महामन्त्रीकालागि दर्जनौँ आकांक्षी छन् । विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशसरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र विश्वप्रकाश शर्मा आकांक्षी छन् । तर, देउवाले आफूनिकट छाडेर सिटौला निकट पौडेललाई महामन्त्री बनाउने तयारी गरेपछि सहमतिकालागि सकस परेको छ ।

पौडेल समूहमा शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउने तयारी रहेको एक नेताले बताए । पदाधिकारीमा भने मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, बलबहादुर केसी, गगन थापा, धनराज गुरुङ मध्येबाट व्यवस्थापनको तयारी रहेको छ । 

उपसभापति विमलेन्द्र निधिले पनि आफ्नो प्यानल बनाउने कसरत गरिरहेका छन् । 

‘यो अन्तिम समय हो, प्यानल बनाउन सबैको प्रयास जारी छ,’ एक नेताले भने, ‘तरल अवस्था छ, को कता जाने ? कसले कुन पदमा उम्मेदवारी दिने ? यसमा अहिल्यै टुंगो लाग्ने अवस्था छैन ।’ सभापतिका उम्मेदवारले १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३४ पदका उम्मेदवार तयार गर्नुपर्नेछ । 

कांग्रेसले यो महाधिवेशनबाट सभापति १, उपसभापति २, महामन्त्री २ र सह–महामन्त्री ८ (खसआर्य, महिला, दलित, जनजाति, मधेशी, थारु, मुस्लिम, पिछडिएको समुदायबाट १–१) गरी १३ जना पदाधिकारी निर्वाचनबाटै छान्दैछ । 

कांग्रेस महाधिवेशन

प्रकाश डेढ दशकदेखि पत्रकारितामा क्रियाशील धौलाकोटी हाल ईकान्तिपुरसँग आबद्ध छन् । उनी सामाजिक तथा राजनीतिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully