१३४ पदमा उम्मेदवारको मनोनयन आज

मंसिर २५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया आजदेखि सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार बेलुका मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । शनिबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेका छ ।

शनिबार केन्द्रीय सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित १३४ पदमा उम्मेदवारको मनोनयन गर्ने कार्यक्रम रहेको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । ‘शनिबार मनोनयन दर्ता हुन्छ, आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन्छ,’ उनले भने, ‘सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यतालिका बनाएका छौं ।’ उनले मतदान सकिएपछि सभापतिको मत गणना तत्काल मतदान स्थलमै हुने र बाँकी पदको मतगणना केन्द्रीय कार्यालयमा हुने जानकारी दिए ।

समितिले अहिले बिहान १० बजेबाट ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्दैछ । मनोनयन दर्ताका लागि १० वटा टेबल तयार गरिएको समितिले जनाएको छ । त्यसपछि उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ बेलुका ५ देखि ७ बजेसम्म, दाबी विरोधउपर निर्णय बेलुका ७ देखि ९ बजेसम्म र उम्मेदवारको नामावली प्रकाशन बेलुकी १२ सम्ममा गर्ने कार्यसूची छ । 

त्यस्तै, कोही उम्मेदवारले मनोनयन फिर्ता लिन चाहेमा आइबार बिहान ११ बजेसम्ममा फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली आइतबार दिउँसो १२ बजे प्रकाशित गर्ने समितिले जनाएको छ । मतदान भने सोमबार बिहान ८ बजेबाट हुनेछ । 

मतदानका राष्ट्रिय सभा गृह र भृकुटी मण्डपमा हुनेछ । कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदाता छन् । 

कस्तो बन्छ अब बन्ने केन्द्रीय कार्यसमिति ?

१४ औं महाधिवेशनबाट बन्ने केन्द्रीय कार्यसमिति: १६७ सदस्यीय

सभापति- १

उपसभापति- २

महामन्त्री -२

सह–महामन्त्री-८ (खसआर्य, महिला, दलित, जनजाति, मधेशी, थारु, मुस्लिम, पिछडिएको समुदायबाट १–१)

खुला केन्द्रीय सदस्य- ३५

सात प्रदेशबाट ३/३ गरी २१ जना (हरेक प्रदेशबाट १ महिला अनिवार्य)

महिला- ९

जनजाति- १५ (७ महिला अनिवार्य)

खसआर्य -१३ (६ महिला अनिवार्य)

मधेशी- ९ (४ महिला अनिवार्य)

दलित- ९ (४ महिला अनिवार्य)

थारु -४ (२ महिला अनिवार्य)

मुस्लिम- ३ (१ महिला अनिवार्य)

पिछडिएको समुदाय - १

अल्पसंख्यक- १

अपाङ्गता भएकामध्येबाट १ 

सभापतिले मनोनित गर्ने केन्द्रीय सदस्यको संख्या - ३३

कोषाध्यक्ष - १ (निर्वाचित सदस्यमध्येबाट सभापतिले मनोनित गर्ने)

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully