कांग्रेसका पाका नेता भन्छन्- ‘ठूलो अपेक्षा छैन’

‘विचारशून्य महाधिवेशनले उपलब्धि दिँदैन, कांग्रेसमा परिवर्तन खोज्नु निरर्थक’

मंसिर २५, २०७८

ऋषिराम पौड्याल

काठमाडौँ — पार्टीको महाधिवेशन नेतृत्व चयन गर्ने थलो मात्रै होइन नेता–कार्यकर्ताका लागि उत्साह र उमंगको महापर्व पनि हो । शुक्रबारदेखि सुरु भएको कांग्रेसको यही महापर्वमा पुराना नेता कुलबहादुर गुरुङ भने अटाउन सकेनन् । उनी मात्रै होइन, कांग्रेसमा पुरानो पुस्ताको ठूलो समूह नै अहिले पार्टीको मूल प्रवाहबाट बाहिर पुगेको छ ।

गुरुङ कांग्रेसका पुराना, त्यागी र सादगी नेता त हुँदै हुन्, २०६२/६३ को जनआन्दोलनपछि गणतन्त्र घोषणा गर्ने ऐतिहासिक व्यक्ति पनि हुन् । गुरुङलाई कांग्रेसले २०७४ को निर्वाचनमा राष्ट्रपतिको उम्मेदवारसमेत बनाएको थियो । 

भृकुटीमण्डपमा महाधिवेशनको कुम्भमेला चलिरहेका बेला उनी भने घरमै बसिरहेका छन् । ‘महाधिवेशनका बारेमा अहिले मलाई केही बोल्नु छैन,’ गुनासो मिश्रित स्वरमा उनले भने, ‘बोल्न परे पछि बोलूँला, अहिलेलाई केही बोल्दिनँ ।’ 

गुरुङजस्तै पुराना र चर्चित नेताहरूको तर्क छ, ‘धनवाद र डनवादले घेरिएको महाधिवेशनबाट हामीले धेरै अपेक्षा गरेका छैनौं ।’ लक्ष्मण घिमिरे, गोविन्दराज जोशी, विनयध्वज चन्द, ढुण्डीराज शास्त्रीलगायत नेता महाधिवेशनस्थलमै गएनन् । कांग्रेस प्रशिक्षण विभागमा पूर्वसंयोजक तथा पहिलो संविधानसभामा कांग्रेसका सचेतक घिमिरे महाधिवेशनप्रति आफ्नो धेरै चासो नभएको बताउँछन् । २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्मा जलस्रोतमन्त्रीसमेत भएका घिमिरे यो महाधिवेशनलाई ‘डनवाद र धनवाद’ ले घेरिएको निरर्थक प्रयासको संज्ञा दिन्छन् । १३ औं महाधिवेशनपछि नेतृत्वले जे गतिविधि गर्‍यो त्यसबाट सबै निराश भएको तर्क उनको छ । ‘कांग्रेस अहिले भाइ कम्युनिस्ट भइसक्यो,’ उनले भने, ‘पार्टीमा ठेकेदारहरू हाबी भए ।’ 

पूर्वसहमहामन्त्री गोविन्दराज जोशी भने यतिबेला गृहजिल्ला तनहुँमा छन् । जिल्लाका स्थानीय तहका ४२ मध्ये ३२ वडा घुमिसकेको उनले बताए । ‘कांग्रेस कार्यकर्तामा महाधिवेशनको खासै चासो पाइँदैन,’ उनले भने । वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको झगडाका कारण जोशीले गाउँ अधिवेशन नै बहिष्कार गरेका थिए । उनले क्रियाशील सदस्यता वितरणमै धाँधली भएको दाबी गरेका छन् । २०२६ सालदेखि कांग्रेसमा लागेका जोशी २०४६ सालको परिवर्तनपछि चर्चित नेताका रूपमा परिचित थिए । कांग्रेस संसदीय दलको प्रमुख सचेतक जोशी गिरिजाप्रसादको विश्वास पात्र पनि बने । गृह, शिक्षालगायत मन्त्रालयको नेतृत्व लिएको अनुभव पनि उनीसँग छ । 

कुनै बेला अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज र विजयकुमार गच्छदार पार्टीमा ‘एकेजीबी’ समूहको नामबाट निकै चर्चित थिए । चर्चित समूहका नेता जोशी कांग्रेसले आफ्नो पहिचान गुमाउँदै गएको धारणा राख्छन् । भन्छन्, ‘महाधिवेशनबाट कांग्रेसका परिवर्तन खोज्नु निरर्थक प्रयास मात्र हो । विचारशून्य महाधिवेशनले उपलब्धि दिँदैन ।’ महाधिवेशन शेरबहादुर देउवाको सभापति नवीकरण गर्ने भेला भएको उनले तर्क गरे । 

अर्का नेता विनयध्वज चन्दले पनि महाधिवेशनस्थल टेकेनन् । कांग्रेस संसदीय दलको नेतासमेत भएका चन्द २०३७/३८ सालदेखि पार्टीमा क्रियाशील थिए । २०३७ देखि २०४६ को परिवर्तनसम्म उनी बैतडीको कार्यवाहक सभापति बने । पूर्वकेन्द्रीय सदस्यसमेत रहेका उनले राजनीतिलाई व्यापारिक बनाइएकाले पार्टीमा परिवर्तन सम्भव नभएको धारणा राखे । ‘म किन कांग्रेस भएँ, अब के गर्नुपर्छ भन्ने सोचको विकास हुनुपर्नेमा कसरी लाभ लिन सकिन्छ भनेर चलखेल हुने गरेको छ,’ उनले भने, ‘सिद्धान्त र विचारका आधारमा राजनीति हुनुपर्नेमा त्यस्तो अवस्था हराइसक्यो ।’ चन्द जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए । 

पुरानो पुस्तामा शालीन नेताका रूपमा परिचित ढुण्डीराज शास्त्री राजनीतिमा त्याग गर्ने चलन हराएको बताउँछन् । कांग्रेसको अहिलेको पुस्ता पनि चाकडीका भरमा माथि पुगेको उनको बुझाइ छ । ‘उनीहरूबाट मुलुकले ठूलो अपेक्षा गर्न हुँदैन,’ उनले भने ।

कांग्रेस महाधिवेशन

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully