काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । दिउँसो २ बजेपछि उद्घाटन कार्यक्रम सुरु भएको हो ।
कांग्रेसको महाधिवेशनले नेतृत्व चयन गर्नेछ । विधान संशोधन, नीति तथा कार्यक्रम तय गर्नका लागि कांग्रेसले छुट्टै महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । त्यसैले महाधिवेशन सुरु हुनु पहिल्यै कांग्रेसका नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गरेका नेताहरूले महाधिवेशन उद्घाटन स्थलमा प्रचारप्रसार पनि गरिरहेका छन् ।
कतिपय नेताहरूले प्रचार-प्रसार पनि सुरु गरेका छन् । उम्मेदवारी घोषणा गरेका नेताहरूको प्रचारप्रसार महाधिवेशनको उद्घाटन कार्यक्रम सुरु हुनु पहिल्यै भइसकेको थियो । शुक्रबार बिहानैदेखि विभिन्न उम्मेदवारका पक्षधरले नारबाजी गर्दै, पर्चा, पम्पलेट बाँड्दै र पुस्तक वितरण गर्दै उम्मेदवारहरूको प्रचारप्रसार भइरहेको छ ।
महाधिवेशन प्रतिनिधिहरूलाई उम्मेदवारका पक्षधरले विभिन्न प्रचार सामग्री वितरण गरिरहेका छन् । महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका गगन थापा, केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका उदयशमशेर राणा, नैनसिंह महरका पक्षधरहरूले उद्घाटन कार्यक्रम सुरु हुनु पहिल्यै भृकुटीमण्डपमा घुमेर नाराबाजी गरिरहेका थिए ।
अरु उम्मेदवारहरूले पनि प्रचारप्रसारका विभिन्न उपाय अपनाइरहेका छन् । उनीहरूले आफू किन उम्मेदवार बन्न लागेको हो भन्ने अवधारणापत्र पनि वितरण गरिरहेका छन् ।
कांग्रेसको उद्घाटनसत्र पछि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
