आफूनिकट नेताहरूलाई देउवाको प्रश्न : सभापति कसरी जितिन्छ ?

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूसँग आगामी महाधिवेशनमा सभापतिमा जितको सुनिश्चितता खोजेका छन् । बूढानीलकण्ठस्थित निजी निवासमा आफूनिकट नेताहरूसँग यतिबेला देउवाले छलफल गरिरहेका छन् ।

देउवाले नेताहरूसँग मुलुकको राजनीतिक अवस्था, पार्टीको आन्तरिक शक्ति संघर्ष र जिल्ला तथा प्रदेश अधिवेशनको नतिजा बारे ब्रिफिङ गरेका थिए । सभापति देउवाले नेताहरूलाई कुन पदमा उठ्न चाहनुहुन्छ भनेरसमेत सोधेका थिए । देउवाको भनाइ उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भने, 'तपाईंको आकांक्षा के हो ? सभापति कसरी जितिन्छ ?' देउवाले नेताहरूलाई 'तपाईंलाई उम्मेदवार बनाउँदा सभापति कसरी जितिन्छ ?' भनेर सोधेका थिए ।

उम्मेदवारको टुंगो लगाउन सभापतिका आकांक्षीहरूले आ–आफ्नो टिमभित्र छलफल थालेका छन् । सभापतिका आकांक्षीमध्ये देउवा सबैभन्दा बलिया उम्मेदवारको रुपमा देखिएकाछन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । पौडेल समूहबाट तीनमध्ये को सभापतिको प्रतिस्पर्धी बन्ने भन्ने टुंगिएको छैन ।

त्यसैका लागि पौडेल समूहका नेता निरन्तर छलफलमा छन् । शशांक कोइरालाले दाबी छाडे पनि अरुबीच सहमति हुन सकेको छैन । बुधबार साँझसम्म पौडेल समूहले साझा उम्मेदवार तय गर्ने दाबी गरेको छ । चाक्सीबारीस्थित सिंह निवासमा दिउँसो ३ बजे बस्ने बैठकले केही टुंगो लगाउने अपेक्षा गरिएको छ ।

प्रकाशित : मंसिर २२, २०७८ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्

भक्तपुरस्थित जर्मन होममा एमाले केन्द्रीय कमिटी बैठक बस्‍ने

रासस

काठमाडौँ — नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले ठाउँको अभावले भक्तपुरको गट्ठाघरस्थित जर्मन होममा बैठक बस्ने जानकारी दिए ।

यसअघि ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरेको थियो ।

यही मंसिर २५ र २६ गते एमालेको केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी गठन, पोलिटब्यूरो गठन, विभिन्न विभाग गठनलगायत एजेन्डा रहेका छन् ।

मंसिर १० देखि १४ गतेसम्म भएको एमालेको दसौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो ।

प्रकाशित : मंसिर २२, २०७८ १३:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×