तुम्बाहाङ्फेले काठमाडौंमा सम्पन्न सातौं महाधिवेशनमा छात्रवृत्तिसम्बन्धी प्रस्ताव पेस गरेका थिए । यो प्रस्ताव गरेयता कांग्रेसका ६ महाधिवेशनहरू भइसके । तैपनि पिछडिएका जाति र महिला वर्गको सशक्तिकरण हुन सकेको छैन ।
काठमाडौँ — बिहान ६ बजे उठ्छन् । राति ९:३० बजे सुतिसक्छन् । दालभात, तरकारी र माछामासु खान रूचाउने उनी बिहान साढे ९ र साँझ साढे सात बजेभित्र खाना खाइसक्छन् । बिहान ७ र दिउँसो ३/४ बजेतिर खाजा खाने उनको बानी छ । तेह्रथुमस्थित म्याङलुङ बजार नजिकै उनको घर छ । ९७ वर्षका भए यी स्वतन्त्रता सेनानी तेजमान तुम्बाहाङ्फे ।
अहिले पनि हप्तामा २/३ दिन दिउँसो केहीबेर लौरो टेकेर म्याङलुङ बजारतिर टहलिन्छन् । कोरोना फैलिनुअघि दिनहुँ म्याङलुङस्थित देवीथान पुग्ने यिनको रूटिनमा भने आजभोलि बिराम लागेको छ ।
२०१५ सालको निर्वाचनमा त आफैं उम्मेदवार थिए उनी । त्यसयता पनि मुलुकमा ६ पटक संसदीय निर्वाचन भइसक्यो । तैपनि स्वतन्त्रता सेनानी यी कांग्रेसले ‘रूख’ मा मत हाल्न छाडेनन् । अब हुन गइरहेको निर्वाचनमा पनि ‘रूख’ मै भोट हाल्ने बताउँछन् उनी । भन्छन्, ‘कांग्रेसमा मेरो रगत–पसिना भिजेको छ । माया लाग्छ । मतदान केन्द्रमा पुगेपछि ‘रूख’ मा भोट नहाली मनै मान्दैन ।’
९७ वर्षका हुँदा पनि पहिलो संसदका सांसद तम्बाहाङ्फे राजनीतिका कुरा गर्न भने तम्सिहाल्छन् । विगतका सम्झनाहरू सुनाउने क्रममा आफ्ना पालाका बीपी, सूर्यप्रसाद, गणेशमान, सुवर्णलगायत नेताका सुझबुझपूर्ण कार्यशैलीबारे बताउँछन् । र, अहिलेका नेताहरूलाई पनि त्यसबेलाका नेताहरूले जस्तै समयअनुसार चल्न सुझाव दिन्छन् । बीपी कोइरालाको नेतृत्वमा २०१७ सालमा गठित केन्द्रीय कार्यसमितिका सदस्य थिए उनी ।
१९ सदस्यीय उक्त कार्यसमिति सदस्य तुम्बाहाङ्फेले काठमाडौंमा सम्पन्न सातौं महाधिवेशनमा छात्रवृत्तिसम्बन्धी प्रस्ताव पेस गरेका थिए । छात्रवृत्तिसम्बन्धी प्रस्तावमा भनिएको थियो, ‘नेपाली कांग्रेसको उद्देश्य र पार्टीको घोषणापत्रमा समेत स्पष्ट गरिएअनुसार पछि परेका जिल्लाका बासिन्दा, पिछडिएका जाति र महिला वर्गलाई पठनपाठनमा प्रोत्साहन गर्न छात्रवृत्ति दिइयोस् र सरकारी सेवामा पनि उनीहरूलाई ग्राह्यता दिइयोस् ।’ यसका प्रस्तावक थिए उनै तेजमान तुम्बाहाङ्फे र समर्थक थिए–बलबहादुर राई ।
उनले यो प्रस्ताव गरेयता कांग्रेसको ६ वटा महाधिवेशनहरू भइसके । तैपनि पिछडिएका जाति र महिला वर्गको सोचेजति सशक्तिकरण हुन सकेको छैन । यसपटक एकजना पनि महिला र दलितले पार्टीको जिल्ला नेतृत्वमा निर्वाचन जितेर आउन सकेका छैनन् ।
यसअघिको निर्वाचनमा पार्टी देशव्यापी रूपमा नराम्ररी पराजित हुँदा उनी निकै दुःखित बनेका रहेछन् । सातौं महाधिवेशनमा सक्रियतासाथ समावेशिताको निम्ति जुटेका तेजमानले झण्डै ७२ वर्ष बिताएको कांग्रेस यतिखेर चौधौं महाधिवेशनमा जुटिरहेको छ ।
के भन्छन् त उनी यो महाधिवेशनबारे ? उनकै शब्दमा, ‘यो महाधिवेशनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई समयसापेक्ष बनाएर पार्टी संगठन गर्न सक्ने सशक्त नेताको चयन गरेर केन्द्रीय कार्यसमिति चयन गरोस् । जसको कारण आगामी स्थानीय, प्रादेशिक र संघीय तीनै तहका निर्वाचनमा कांग्रेसले विजय हासिल गर्न सकोस्’ उनको जोड छ, ‘यो महाधिवेशनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई मजबूत बनाउने प्रस्तावहरू पारित गर्नु पर्छ ।’
२०१५ सालमा सम्पन्न पहिलो संसदीय निर्वाचनमा कांग्रेसको तर्फबाट क्षेत्र नं. २६ तेर्हथुम इलाकाबाट प्रतिनिधिसभामा विजयी भएका तुम्बाहाङ्फेले डेढ वर्षभन्दा बढी संसद्मा बस्न पाएनन् । किनकि, २०१७ साल पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्थामाथि प्रतिबन्ध लगाउँदै निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालगायत कांग्रेसका नेता/कार्यकर्ताहरूलाई जेल हालेका थिए । त्यसबेला कांग्रेसले १०९ संसदीय निर्वाचन क्षेत्रमध्ये ७४ स्थानमा विजय हासिल गरी दुई तिहाइ मतसहितको सरकार गठन गरेको थियो ।
पछिल्लो समय पार्टीमा इमान हराएको, संस्कार धर्मराएको र त्यागको भावना कम हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै तुम्बाहाङ्फेले भने, ‘अहिलेका नेताहरूले पनि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले जस्तै त्याग गर्न सक्नु पर्छ ।’ २०४७ सालमा गणेशमान सिंहले आफूलाई प्राप्त प्रधानमन्त्री पद आफ्ना अनन्य मित्र कृष्णप्रसादलाई छाडिदिएको र २०५६ सालमा कृष्णप्रसादले संसद्मा आफ्नै पार्टीका साथीहरूले अलिकति विरोध गर्नासाथ प्रधानमन्त्रीबाट राजीनामा गरेर लोकतान्त्रिक संस्कार देखाएको स्मरण गर्दै उनले भने, ‘त्याग त गर्न सक्नु पर्छ नि । सधैंभरि एकैजनाले पद ओगटिरहने हो भने अरूले के गर्ने त ? रूखमा नयाँ पालुवा पलाउन दिनु पर्छ ।’
को हुन् तेजमान ?
जन्म: १९८४ फागुन ६, तेह्रथुम
कांग्रेसमा आबद्ध: २००६ साल
२००७ सालको जनक्रान्तिमा पूर्वी पहाडी जिल्लाहरूमा नेतृत्वदायी भूमिका
२००७–०१५ सालसम्म तेह्रथुम कांग्रेस सभापति
२०१५ सालमा क्षेत्र नं. २६ बाट प्रतिनिधिसभामा निर्वाचित
२०१७ सालको शाही ‘कू’ पछि एकवर्ष जति भारत प्रवास
२०३६ सालको जनमतसंग्रहका बेला बहुदलको पक्षमा सक्रिय
२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनाको जनआन्दोलनमा सक्रिय
२०६२/६३ को जनआन्दोलनमा समेत तेह्रथुममा सक्रिय
