बूढानीलकण्ठको छलफलमा मलाई नबोलाउनु स्वभाविक, म आफ्नै तयारीमा छु : निधि- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बूढानीलकण्ठको छलफलमा मलाई नबोलाउनु स्वभाविक, म आफ्नै तयारीमा छु : निधि

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस उपसभापति विमलेन्द्र निधिले संस्थापन पक्षको बैठकमा आफूलाई नबोलाउनु स्वभाविक भएको बताएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो टिमबाट कस-कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल गर्न आफ्नो गुटको बैठक बोलाएका छन् ।

बूढानीलकण्ठस्थित देउवाको निजी निवासमा बस्ने बैठकमा देउवाले नेताहरूसँग परामर्श भइरहेको छ । तर निधि भने आफ्नै तयारी जारी रहेको भन्दै उक्त बैठकमा गएका छैनन् । १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा र सम्पर्क कार्यालय खोलेसँगै देउवाले निधिसँग छलफल गर्न छाडेका छन् । कान्तिपुरसँग कुरा गर्दै सभापति पदका आकांक्षी निधिले भने, 'म संस्थापनको टिममा छैन । मलाई नबोलाउनु ठीकै हो । म गएको छैन। म आफ्नै तयारीमा छु।'

पौडेल समूहले सभापतिमा साझा उम्मेदवार उठाएको खण्डमा निधिले उम्मेदवारी चासोको विषय हुन सक्छ । निधि पनि सभापतिका लागि आफ्नो टिम बनाउने तयारीमा लागेका छन् । देउवा समूहबाट उपसभापति बनेका निधिले देउवालाई आफूलाई अघि सार्न आग्रह गर्दै आएका छन् । तर, देउवाले उनलाई सोधीखोजी गर्न छाडेपछि निधिले आफू एक्लै प्रतिस्पर्धामा जाने तयारी अघि बढाएका छन् ।

देउवा पक्षबाट उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महामन्त्रीमा बालकृष्ण खाँण, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मा, एनपी साउदलगायत आकांक्षी छन् । आठ सहमहामन्त्रीका लागि पनि दोब्बर आकांक्षी छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । पौडेल समूहबाट चारमध्ये को सभापतिको प्रतिस्पर्धी बन्ने भन्ने टुंगिएको छैन । त्यसैका लागि पौडेल समूहका नेता निरन्तर छलफलमा छन् ।

पौडेल समूहमा आइतबारदेखि नै निरन्तर छलफल भइरहेको छ । सभापतिका चार आकांक्षीहरूबीच सोमबार छुट्टै छलफल भएको थियो । मंगलबार चाक्सीबारीस्थित नेता सिंहको निवासमा आकांक्षी नेताहरूले केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । बुधबार नै पौडेल समूहले साझा उम्मेदवार खडा गर्नेगरी छलफल अगाडि बढाएको छ ।

प्रकाशित : मंसिर २२, २०७८ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्

आईसीसीद्वारा क्यानको बजेटमा व्यापक वृद्धि

अरु राष्ट्रलाई बजेट बढाएकोबारे हामीलाई थाहा छैन, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता भइसकेपछि अन्य देशले जस्तो पाउने रकम आर्थिक रुपमा निलम्बनकै हिसाबले हुनसक्छ हामीले पाइरहेका थिएनौं, तर वृद्धि गरेको बजेटको पैसा हिजो (सोमबार) आइसकेको छ : रोशन सिंह, कोषाध्यक्ष
विनोद पाण्डे

काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक बजेटमा व्यापक वृद्धि गरेको छ । ‘तोकिएको मापदण्ड पूरा गरेको’ भन्दै आईसीसीले नेपालको वार्षिक बजेटमा झन्डै दोब्बर वृद्धि गरेको हो । 

क्यान पूर्ण रूपमा आईसीसीको बजेटमा निर्भर रहँदै आएको छ । आईसीसीले नेपाललाई वार्षिक रूपमा ७ लाख ४८ हजार डलर ‘कम्पिटिसन ग्रान्ट’ दिँदै आएको थियो । ‘आईसीसीले क्यानको वार्षिक बजेट वृद्धि गरेर १३ लाख २० हजार डलर पुर्‍याइदिएको छ । यो बजेट प्रतियोगिताहरूमै केन्द्रित भएर खर्च गर्नुपर्छ,’ क्यानका कोषाध्यक्ष रोशन सिंहले कान्तिपुरसँग भने ।

उनका अनुसार आईसीसीले कम्पिटिसन ग्रान्टमा १२ हजार डलर वृद्धि गर्दै ‘स्कोरकार्ड ग्रान्ट’ ५ लाख ६० हजार डलर दिने निर्णय गरेको हो । क्यानको कार्यशैलीबाट प्रभावित भएर आईसीसीले वार्षिक बजेट बढाएको कोषाध्यक्ष सिंहको दाबी छ ।

‘उनीहरूले दिएको निर्देशिकाअनुरुप क्यानले कार्य गर्दै आएको थियो । त्यसअनुरूप पनि हाम्रो बजेटमा वृद्धि भएको हो,’ उनले भने, ‘अरू राष्ट्रलाई बजेट बढाएकोबारे हामीलाई थाहा छैन, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता भइसकेपछि अन्य देशले जस्तो पाउने रकम आर्थिक रूपमा निलम्बनकै हिसाबले हुनसक्छ हामीले पाइरहेका थिएनौं, तर वृद्धि गरेको बजेटको पैसा हिजो (सोमबार) आइसकेको छ ।’

आईसीसीले सन् २०१६ देखि २०१९ सम्म क्यान प्रशासनलाई निलम्बन गरेको थियो । २०१४ को अन्त्यदेखि आईसीसीले क्यानलाई दिँदै आएको अनुदानमा नियन्त्रण गरेको थियो, जुन अहिलेसम्म जारी छ । क्यानमाथिको निलम्बन फुकुवा भए पनि आईसीसीले तोकेको बजेटमा क्यानले इभेन्टहरू आयोजना गर्दै आएको छ ।

आईसीसीले तोकेको मापदण्डअनुरुप क्यानले वर्ष २०२१ भर चिफ फाइनान्स अफिसर, जनरल म्यानेजर, क्रिकेट म्यानेजर नियुक्त गर्नुका साथै दाङमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट, काठमाडौंमा पीएम कप र मेयर कप राष्ट्रिय क्रिकेट, काठमाडौंमा त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो । साथै सात प्रदेशमा १० प्रशिक्षक नियुक्त गर्दै क्यानले आफैं लेभल वान अनलाइन प्रशिक्षण कोर्स सञ्चालन गरेको थियो ।

‘हामीले आईसीसीले तोकेको न्युनतम संख्याभन्दा बढी इभेन्ट गर्न सफल भयौं, जसका कारण हामी यो बजेट ल्याउन सफल भएका हौं,’ सिंहले भने, ‘क्यानको बजेट अहिलेसम्म घाटाको बजेट थियो, नयाँ वृद्धि बजेटले ठूलो उत्साह दिएको छ ।’ उनका अनुसार प्रदेश प्रशिक्षक, महिला प्रशिक्षक र मुख्य प्रशिक्षकमा मात्र क्यानले वार्षिक २ करोड हाराहारी खर्च गर्दै आएको छ ।

क्यानले २०२० यता आफ्नोमातहात ३९ जिल्लालाई वार्षिक १ लाख, सात प्रदेशलाई ३ लाख दिँदै आएकोमा २०२२ को बजेटबाट त्यसमा वृद्धि गरिनुका साथै महिला क्रिकेटको ग्रेडिङमा वृद्धि गरिने सिंहले बताए । सात प्रदेशमा प्रशिक्षक क्यानले यसै वर्ष प्रशिक्षक नियुक्त गरेको थियो, जसका कारण पनि ‘स्कोरकार्ड ग्रान्ट’ का लागि नेपाल हकदार बनेको सिंहको दाबी थियो ।

सिंहले भने, ‘आईसीसीले तोकेका सबै गाइडलाइन मिट गरेका थियौं । २०२२ को बजेट हामीले केही समयअघि राम्रै बनाएर आइसीसीमा पठाएका थियौं । त्यहाँबाट हामीले १५ लाख डलर (१८ करोड रुपैयाँ) बजेट माग गरेका थियौं भने ४ देखि ५ करोड रुपैयाँ क्यानले आफ्नै स्रोत (प्रायोजक लगायतबाट भित्र्याउने गरी) बजेट बनाएका थियौं । त्यसमा पनि आईसीसी सकारात्मक छ ।’

अब क्यानले यू–१६ र यू–१९ को महिला र पुरुष राष्ट्रिय प्रतियोगिता पनि गर्ने सिंहले जनाए । क्यानले ७ वर्षपछि यू–१९ पुरुष राष्ट्रिय प्रतियोगिता भर्खर सम्पन्न गरेको हो । महिलाको यू–१६ र यू–१९ प्रतियोगिता पनि आयोजना नभएको त्योभन्दा बढी भइसकेको छ ।

प्रकाशित : मंसिर २२, २०७८ १०:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×