मोरङबाट मात्रै सभापतिसहित पदाधिकारीमा ९ जनाको दावेदारी

मंसिर २२, २०७८

विनोद भण्डारी

विराटनगर — नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मोरङबाट सभापतिसहित ९ जना केन्द्रीय समितिमा आकांक्षी देखिएका छन् । संस्थापन इतर पक्षका केन्द्रीय सदस्य शेखर कोइरालाले पहिले नै सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

कोइराला परिवारबाटै सुजता कोइरालाले पनि सभापतिमा उठ्ने बताउँदैआएकी छन् । यद्यपि सहमति भएमा आफू पछि हट्ने उनले बताएकी छन् । उनले सभापतिमा आकांक्षा देखाएर कुनै एक पदाधिकारी पदमा दावेदारी गर्ने उनी निकटका नेता कार्यकर्ताको बुझाइ छ ।

संस्थापन इतर पक्षकै नेता महेश आचार्यले उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । मोरङकै नेता तथा रक्षामन्त्री मिनेन्द्र रिजालले पनि महामन्त्रीमा उठ्ने बताउँदैआएका छन् ।

उक्त समूहबाट प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताउँदैआएका छन् । संस्थापन पक्षमा रहेकी केन्द्रीय सदस्य डिला संग्रौलाले सहमहामन्त्रीमा दावी गरेकी छिन् ।

त्यही समूहका केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । अर्यालले संस्थापन पक्षबाट प्रदेश सभापतिको उम्मेदवारी त्यागेर झापाका उद्धव थापालाई समर्थन गरेका थिए । थापा संस्थापन इतर पक्षका गुरुराज घिमिरेलाई २ मतले पराजित गरेर सभापति चुनिए ।

पछिल्लो समय संस्थापन पक्षमा खुलेका विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यसअघि पराजुली शेखर कोइराला र कृष्णप्रसाद सिटौला दुवैका विश्वासपात्र थिए । कांग्रेसको नगर, क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनमा कोइराला खेमामा नपरेपछि पराजुली संस्थापन पक्षमा खुलेका हुन् ।

कांग्रेस महाधिवेशन

विनोद

Link copied successfully