कांग्रेसमा उम्मेदवार छान्न सुरू भयो ‘हेड काउन्टिङ’ 

‘अहिले आ–आफ्नो समूहमा छलफल भइरहेको छ, त्यो भनेको हेड काउन्टिङको समय हो । कसको कति दर्बिलो दाबेदारी छ ? कसको जनमत कति छ ? त्यो हेरेर उम्मेदवार छान्ने नेताहरूको रणनीति देखिन्छ ।’

मंसिर २२, २०७८

प्रकाश धौलाकोटी

काठमाडौँ — आगामी शुक्रबारबाट सुरू हुने कांग्रेस महाधिवेशनका लागि अहिलेसम्म उम्मेदवारको टुंगो लागेको छैन । उम्मेदवारी मनोनयनको मिति नजिकिँदै गर्दा सभापतिका आकांक्षीहरूले आफूसहित प्यानलै घोषणा गर्ने तयारी अघि बढाएका हुन् ।

उम्मेदवारको टुंगो लगाउन सभापतिका आकांक्षीहरूले आ–आफ्नो टिमभित्र छलफल थालेका छन् । सभापतिमा आकांक्षीमध्ये वर्तमान सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा सबैभन्दा बलिया उम्मेदवार छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । पौडेल समूहबाट चारमध्ये को सभापतिको प्रतिस्पर्धी बन्ने भन्ने टुंगिएको छैन । त्यसैका लागि पौडेल समूहका नेता निरन्तर छलफलमा छन् ।

सभापति देउवाले आफ्नो टिमबाट कस–कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल गर्न आफ्नो गुटको बैठक बोलाएका छन् । बूढानीलकण्ठस्थित देउवाको निजी निवासमा बस्ने बैठकमा देउवाले नेताहरूसँग परामर्श गर्ने तयारी गरेका छन् । देउवा पक्षबाट उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महामन्त्रीमा बालकृष्ण खाँण, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मा, एनपी साउदलगायत आकांक्षी छन् । आठ सहमहामन्त्रीका लागि पनि दोब्बर आकांक्षी छन् । ‘सभापतिज्यूले छलफलका लागि बोलाउनुभएको छ, तर अहिल्यै त टिम फाइनल भइहाल्ने अवस्था छैन,’ देउवानिकट एक नेताले भने, ‘अहिले सबैसँग परामर्श गर्ने र अन्तितमा निर्णय लिने गर्नुहोला ।’

पौडेल समूहमा आइतबारदेखि नै निरन्तर छलफल भइरहेको छ । सभापतिका चार आकांक्षीहरूबीच सोमबार छुट्टै छलफल भएको थियो । मंगलबार चाक्सीबारीस्थित नेता सिंहको निवासमा आकांक्षी नेताहरूले केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । छलफलले चार आकांक्षी नेताहरूलाई मिलेर अघि बढ्न दबाब दिएको केन्द्रीय सदस्य जीवन परियारले बताए । उनका अनुसार बैठकमा चारै जना आकांक्षी नेताहरूले सहमतिमा साझा उम्मेदवार तय गरेर अघि बढ्ने सहमति जनाएका छन् । छलफलका क्रममा वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले साझा उम्मेदवारी चयन गर्दा आफूहरू त्याग गर्न तयार गरेको बताएका थिए । अब नेता सिंह र अर्का नेता कोइरालाबीच सहमतिको वातावरण बनाउन बुधबार पनि विहानैदेखि नेताहरू सक्रिय बनेका छन् । उम्मेदवारी चयनकै विषयमा वरिष्ठ नेता पौडेलले बत्तीसपुतलीमा बुधबार पनि छलफल गर्दैछन् ।

बुधबारको छलफलमा सभापतिका आकांक्षाहरू शशांक–शेखर कोइराला र प्रकाशमान सिंह भने सहभागी नहुने बताइएको छ । ‘सभापतिका आकांक्षीहरू आउनुहुन्नँ । वरिष्ठ नेताको हैसियतले रामचन्द्र दाइले छलफल गर्नुहुन्छ,’ एक केन्द्रीय सदस्यले भने, ‘आजको छलफलमा हाम्रो टिमका प्रदेशका पदाधिकारीहरू र जिल्ला सभापतिहरू सहभागी बन्नुहुन्छ ।’

देउवा पक्ष र पौडेल समूह दुवैले तल्ला तहका प्रतिनिधिहरूमाझ लोकप्रियलाई टिममा उम्मेदवार बनाउन कसरत थालेका छन् । दुवै पक्षबाट कतिपय नेताहरूले उम्मेदवारी घोषणा गरिसकेका छन् भने कतिपयले टिमबाट टुंगो लागेपछि मात्रै खुल्ने बताइरहेका छन् । देउवा पक्षबाट प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री उम्मेदवारी घोषणा गरे पनि उनले त्यो पदमा उम्मेदवार बन्ने अवसर पाउने सम्भावना कम रहेको नेताहरू बताउँछन् । त्यस्तै, देउवा पक्षकै नेता एनपी साउदले पनि महामन्त्रीमा दाबी गरेका छन् । महामन्त्रीमा नपाए उपसभापति पाउनुपर्ने उनको दाबी छ । ‘उहाँ छोड्ने मनस्थितिमा हुनुहुन्न, मुख्य पदमा उम्मेदवारी दिने उहाँको तयारी छ,’ उनीनिकट स्रोत भन्छ ।

पौडेल समूहमा भने को कुन पदमा उठ्ने कुनै निश्चित छैन । साझा उम्मेदवार को बन्ने भन्ने विषयले नेताहरूलाई दबाब बनाएको छ । ‘चार आकांक्षीमध्ये जो सभापतिको साझा उम्मेदवार बन्छ, उसको वरिष्ठताको आधारमा टिम खडा हुने देखिन्छ, तर अहिल्यै को के बन्ने भन्ने छैन, चाहना सबैको छ, तर साझा टिम बनाउँदा सबै त्याग गर्न सक्ने अवस्थामा हुनुहुन्छ,’ एक नेताले भने, ‘सभापतिको टुंगो लाग्ने बित्तिकै हामी बाँकी पदमा केही घण्टामै टुंगो लगाउँछौँ ।’

पौडेल समूहमा महामन्त्रीका लागि गगन थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् । कोइरालाहरू निकट मानिने नेता महेश आचार्यले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महामन्त्रीमै मिनेन्द्र रिजाल, बलबहादुर केसी, धनराज गुरुङ लगायतको पनि दाबी छ । चन्द्र भण्डारी, रामशरण महत र अर्जुननरसिंह केसी उपसभापतिका आकांक्षी छन् । सहमहामन्त्रीमा भने बद्री पाण्डे र जीवन परियारले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

उम्मेदवारीका विषयमा पार्टीभित्रको अहिलेको रस्साकस्सीलाई राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्र गौतम ‘हेड काउन्टिङ’ को समय भएको बताउँछन् । ‘अहिले आ–आफ्नो समूहमा छलफल भइरहेको छ, त्यो भनेको हेड काउन्टिङको समय हो । कसको कति दर्बिलो दाबेदारी छ ? कसको जनमत कति छ ? त्यो हेरेर उम्मेदवार छान्ने नेताहरूको रणनीति देखिन्छ,’ उनले भने । कांग्रेस महाधिवेशनमा देशैभरिबाट चुनिएका करिब ४ हजार ५ सय महाधिवेशन प्रतिनिधिहरू मतदाता छन् ।

सभापतिका आकांक्षीहरूले मतदातामाझ जो लोकप्रिय छ, उसैलाई आफ्नो टिममा उम्मेदवार बनाएर लैजाने कसरत गरिरहेका छन् । महाधिवेशन आगामी शुक्रबारबाट सुरु हुदैछ । शुक्रबार दिउँसो १ बजे उद्घाटन गर्ने तयारी छ । निर्वाचन समितिले मंसिर २५ गते ५ बजेसम्म उम्मेदवारको मनोनयनको समय तोकेको छ भने २७ गते विहान ८ बजेबाट मतदान गर्ने कार्यतालिका छ ।

उपसभापति विमलेन्द्र निधि पनि सभापतिका लागि आफ्नो टिम बनाउने तयारीमा लागेका छन् । देउवा समूहबाट उपसभापति बनेका निधिले देउवालाई आफूलाई अघि सार्न आग्रह गर्दै आएका छन् । तर, देउवाले उनलाई सोधीखोजी गर्न छाडेपछि निधिले आफू एक्लै प्रतिस्पर्धामा जाने तयारी अघि बढाएका छन् । अघिल्लो पटक सभापतिमा लडेका नेता कृष्णप्रसाद सिटौलाले पनि यसपटक सभापतिमा प्रतिस्पर्धा गर्ने वा नगर्ने खुलाएका छैनन् । देउवा–सिटौलाबीच समीकरणको सम्भावना रहेको निकटतम नेताहरूले भन्दै आएका छन् ।

कांग्रेसमा तेस्रो पुस्ताका नेताहरूलाई मिलाउन सहमहामन्त्रीको संख्या थप्न छलफल सुरु भएको छ । संस्थापन समूह र संस्थापनबाहेक समूहमा आगामी महाधिवेशनबाट केही सहमहामन्त्री थप्ने गरी विधान संशोधन गर्नुपर्ने आवाज उठिरहेको छ । 

कांग्रेस महाधिवेशन

प्रकाश डेढ दशकदेखि पत्रकारितामा क्रियाशील धौलाकोटी हाल ईकान्तिपुरसँग आबद्ध छन् । उनी सामाजिक तथा राजनीतिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully