आफ्नो समूहको बैठक छाडेर पौडेल पुगे सिटौला निवास- समाचार - कान्तिपुर समाचार

आफ्नो समूहको बैठक छाडेर पौडेल पुगे सिटौला निवास

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समूहको बैठक छाडेर चण्डोलस्थित कृष्णप्रसाद सिटौलाको निवास पुगेका छन्। बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भइरहेको बैठकबाट पौडेल खाना खान भनेर बाहिरिएका थिए।  

महाधिवेशन नजिकिँदै गर्दा सिटौला समूह पनि छलफलमा जुटेको छ। आजको छलफलबाट सिटौलाले आफैंले उमेदवारी दिने कि अर्को पक्षलाई सहयोग गर्ने भन्ने निर्णय हुनेछ। सिटौलाले सभापतिमा शेरबहादुर देउवालाई नै सहयोग गर्ने निश्चित जस्तै देखिएको छ ।

सिटौला आफैंले सभापतिमा उम्मेदवारी दिने पनि कुरा गरेका छैनन्। क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनहरु चलिरहँदा धेरै ठाउँमा सभापति देउवा र पूर्वमहामन्त्री सिटौला समूहबीच गठबन्धन बनेको छ । जिल्लादेखि प्रदेशसम्म भएको देउवा–सिटौला गठबन्धनले अपेक्षाकृत नतिजा पनि ल्याएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । पौडेल समूहबाट चारमध्ये को सभापतिको प्रतिस्पर्धी बन्ने भन्ने टुंगिएको छैन । त्यसैका लागि पौडेल समूहका नेता निरन्तर छलफलमा छन् ।

पौडेल समूहमा आइतबारदेखि नै निरन्तर छलफल भइरहेको छ । सभापतिका चार आकांक्षीहरूबीच सोमबार छुट्टै छलफल भएको थियो । मंगलबार चाक्सीबारीस्थित नेता सिंहको निवासमा आकांक्षी नेताहरूले केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । बुधबार नै पौडेल समूहले साझा उम्मेदवार खडा गर्नेगरी छलफल अगाडि बढाएको छ ।

प्रकाशित : मंसिर २२, २०७८ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्

बूढानीलकण्ठको छलफलमा मलाई नबोलाउनु स्वभाविक, म आफ्नै तयारीमा छु : निधि

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस उपसभापति विमलेन्द्र निधिले संस्थापन पक्षको बैठकमा आफूलाई नबोलाउनु स्वभाविक भएको बताएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो टिमबाट कस-कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल गर्न आफ्नो गुटको बैठक बोलाएका छन् ।

बूढानीलकण्ठस्थित देउवाको निजी निवासमा बस्ने बैठकमा देउवाले नेताहरूसँग परामर्श भइरहेको छ । तर निधि भने आफ्नै तयारी जारी रहेको भन्दै उक्त बैठकमा गएका छैनन् । १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा र सम्पर्क कार्यालय खोलेसँगै देउवाले निधिसँग छलफल गर्न छाडेका छन् । कान्तिपुरसँग कुरा गर्दै सभापति पदका आकांक्षी निधिले भने, 'म संस्थापनको टिममा छैन । मलाई नबोलाउनु ठीकै हो । म गएको छैन। म आफ्नै तयारीमा छु।'

पौडेल समूहले सभापतिमा साझा उम्मेदवार उठाएको खण्डमा निधिले उम्मेदवारी चासोको विषय हुन सक्छ । निधि पनि सभापतिका लागि आफ्नो टिम बनाउने तयारीमा लागेका छन् । देउवा समूहबाट उपसभापति बनेका निधिले देउवालाई आफूलाई अघि सार्न आग्रह गर्दै आएका छन् । तर, देउवाले उनलाई सोधीखोजी गर्न छाडेपछि निधिले आफू एक्लै प्रतिस्पर्धामा जाने तयारी अघि बढाएका छन् ।

देउवा पक्षबाट उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महामन्त्रीमा बालकृष्ण खाँण, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मा, एनपी साउदलगायत आकांक्षी छन् । आठ सहमहामन्त्रीका लागि पनि दोब्बर आकांक्षी छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । पौडेल समूहबाट चारमध्ये को सभापतिको प्रतिस्पर्धी बन्ने भन्ने टुंगिएको छैन । त्यसैका लागि पौडेल समूहका नेता निरन्तर छलफलमा छन् ।

पौडेल समूहमा आइतबारदेखि नै निरन्तर छलफल भइरहेको छ । सभापतिका चार आकांक्षीहरूबीच सोमबार छुट्टै छलफल भएको थियो । मंगलबार चाक्सीबारीस्थित नेता सिंहको निवासमा आकांक्षी नेताहरूले केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । बुधबार नै पौडेल समूहले साझा उम्मेदवार खडा गर्नेगरी छलफल अगाडि बढाएको छ ।

प्रकाशित : मंसिर २२, २०७८ ११:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×