पौडेल समूहलाई नेताहरूको सुझाव : तपाईंहरू आफै मिल्नूस्, हामीलाई विभाजित नगर्नूस्

मंसिर २२, २०७८

प्रकाश धौलाकोटी

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट साझा उम्मेदवार चयन गर्न बसेको बैठकमा जिल्ला र प्रदेशका नेताहरूले सभापतिका आकांक्षी नेताहरूलाई  मिलेर जान सुझाव दिएका छन्। उनीहरूले सभापतिका आकांक्षी नेताहरूले आफूहरूलाई विभाजित गर्न खोजेको समेत आरोप लगाएका छन् ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको बैठकबाट सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइराला भने निस्किसकेका छन् ।

शशांकले भने सहमतिका लागि भन्दै सभापतिको दाबेदारी छाडिसकेका छन् । यतिबेला शेखर र प्रकाशमानबीच कुरा भइराखेको छ । पौडेलले पनि शेखर र प्रकाशमानबीच कुरा मिले आफूले दाबी छाड्ने बताएका छन् ।

 अहिले विभिन्न जिल्लाका नेताहरूले आफ्ना धारणा राखिरहेका  छन् । काठमाडौंका जिल्ला सभापति सबुज बानियाँले नेताहरू मिलेर जानुको विकल्प नभएको बताए । कान्तिपुरसँग उनले भने, ' उहाँहरू आफै मिल्नुपर्थ्यो । हामीलाई बोलाएर विभाजित गर्ने काम गर्नुहुँदैनथ्यो ।' बैठकमा बानियाँले सिंहको नाम सिफारिस गरेका थिए ।

त्यस्तै मोरङका सभापति डिगबहादुर लिम्बूले भने शेखर कोइरालाको नाम प्रस्ताव गरेका थिए । कर्णालीका नेता भुपेन्द्रजंग शाहीले भने नेताहरूले लोकतान्त्रिक प्रक्रिया अपनाएर राम्रो गरेको भन्दै एकताका लागि जोड दिएका छन् ।

भेलामा जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेशका उम्मेदवार र पदाधिकारीहरु सहभागी छन् । त्यस्तै बैठकमा केन्द्रीय सदस्य तथा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका गगन थापा, मिनेन्द्र रिजाल र जीवन परियारलगायतका नेताहरू पनि सहभागी छन् । 

कांग्रेस महाधिवेशन

प्रकाश डेढ दशकदेखि पत्रकारितामा क्रियाशील धौलाकोटी हाल ईकान्तिपुरसँग आबद्ध छन् । उनी सामाजिक तथा राजनीतिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully