लिङ्देनको फड्को- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिङ्देनको फड्को

राष्ट्रिय राजनीतिको मूलधारमा दक्षिणपन्थको किल्लाका रुपमा रहेको पार्टीको कमान्डर बनेका लिङ्देन अन्य पार्टीका अध्यक्षको तुलनामा कम उमेरका छन्
पर्वत पाेर्तेल

काँकडभिट्टा — लामो समय राप्रपा शक्ति संरचनाको माथिल्लो तहमा रहेका नेता कमल थापालाई १ सय ९९ मतान्तरले हराएर झापाका राजेन्द्र लिङ्देन नयाँ अध्यक्ष बनेका छन् । लिङ्देन दुई वर्षदेखि अध्यक्ष बन्ने योजना बनाएर नेतृत्व र कार्यकर्ताबीच खटिएका थिए ।

२०६४ मा राप्रपाको केन्द्रीय सदस्य बनेका उनले २०७० को महाधिवेशनबाट महामन्त्रीमा फड्को मारेका थिए । राष्ट्रिय राजनीतिको मूलधारमा दक्षिणपन्थको किल्लाका रूपमा रहेको पार्टीको कमान्डर बनेका लिङ्देन अन्य पार्टीका अध्यक्षको तुलनामा कम उमेरका छन् ।

पञ्चायतदेखि गणतन्त्रसम्मै काण्डैकाण्ड झेलेका जनजाति समुदायका ५६ वर्षीय लिङ्देनको उदय रोचक छ । पञ्चायतकालमा राप्रपानिकट विद्यार्थी संगठनको अध्यक्ष बनेपछि लिङ्देन जिल्लामा चिनिन थालेका थिए । तत्कालीन गोलधाप गाविस–३ बाट दुईपटक (२०४९ र २०५४) वडाध्यक्ष निर्वाचित उनी शाहीकालमा (२०६० मा) जिल्ला विकास समितिको सभापति मनोनीत भएका थिए । लिङ्देनसँगै जोडिएको ०३८/३९ सालतिरको ‘देउसी काण्ड’ बारे अहिले पनि गोलधाप भेगमा चर्चा हुन्छ । उक्त घटनामा स्थानीय प्रजापति सापकोटा मारिएका थिए, जसमा संलग्न भएको आरोप नेता लिङ्देनलाई लाग्यो ।

सापकोटा मारिएकै समयमा लिङ्देनले पहिलोपटक भेटेका थिए, नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई । सिटौला झापामा वकालत गर्थे । लिङ्देनलाई निर्दोष साबित गर्न सिटौलाले वकिलको रूपमा भूमिका खेलेका थिए । ०४६ सालपछि भने राजनीतिक पक्षधरताका कारण सिटौला र लिङ्देनबीच टकराव बढ्यो । सधैं जित्ने क्षेत्रमा गत निर्वाचनमा भने लिङ्देनले सिटौलालाई हराएका थिए ।

राजेन्द्र लिङ्देनको नामसँग जोडिएर झापामा अर्को काण्डको पनि स्मरण गरिन्छ । विद्यार्थी राम थापा हत्याकाण्डमा तिनताक राष्ट्रवादी विद्यार्थी मण्डलका नेताका रूपमा लिङ्देनले योजनाकारको भूमिका खेलेको आरोप लागेको थियो । यो काण्डमा भने सिटौलाले आफूलाई फसाउन विशेष भूमिका खेलेको लिङ्देनको दाबी छ ।

२०४६ चैत १३ मा पञ्चायतसमर्थित राष्ट्रवादी विद्यार्थी मण्डल र पञ्चायतविरोधी आन्दोलनमा लागेका दलका विद्यार्थीबीच भद्रपुरको मेची क्याम्पसमा दोहोरो झडप भएको थियो । पञ्चायतको पुतलादहन गर्ने विद्यार्थीलाई मण्डलका विद्यार्थीले रोक्न खोज्दा झडप भएको थियो । झडपका क्रममा कुनै अज्ञात व्यक्तिको छुरा प्रहारबाट विद्यार्थी राम थापा मारिएका थिए । लिङ्देनको नाम मुछिने उक्त काण्डबारे केही समयपहिले कान्तिपुरले प्रश्न गर्दा उनले भनेका थिए, ‘त्यो घटना हुँदा म क्याम्पसमै थिइनँ, राम थापा हत्यामा मेरो संलग्नता कसैले पुष्टि गर्छ भने म त्यसको आजीवन नोकर बस्न तयार छु ।’ उनी उक्त काण्डपछि करिब पाँच महिना जेल परेका थिए ।

मुलुकमा राजनीतिक परिवर्तन भएपछि लिङ्देन गणतन्त्रवादी दलहरूको ‘तारो’ बने । २०६२/०६३ पछि उनीमाथि दुर्व्यवहार र भौतिक आक्रमण नै भयो । ०६४ मा पूर्वमन्त्री रवीन्द्रनाथ शर्मा बिर्तामोड आएका बेला माओवादीले कालोमोसो दल्ने प्रयास गरे तर सकेनन् । बदलामा लिङ्देनमाथि मरणासन्न हुनेगरी कुटपिट भएको थियो । ‘हिप्नोटाइज गरिएका मान्छेको जत्थाले आक्रमण गरेका थिए’, लिङ्देनले त्यस घटनाको स्मरण गर्दै भने, ‘त्यो घटनालाई मैले भयानक सपनाको रूपमा बिर्सिने प्रयत्न गरिरहेको छु ।’

संयोग नै भन्नुपर्छ यो घटनामा पनि प्रत्यक्ष रूपमा सिटौला जोडिन्छन् । त्यसबेला उनी गृहमन्त्री थिए । घटनापछि उनकै आदेशमा प्रहरी नपठाएको आरोप लिङ्देनले लगाउँदै आएका छन् । सिटौला–लिङ्देन चुनावी टकराव धेरैपटक चल्यो । २०७० को संविधानसभा निर्वाचनमा लिङ्देन पराजित भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा राजावादी नेताको छवि बनाएका लिङ्देनले गणतन्त्रवादी नेता सिटौलालाई कांग्रेसकै ‘गढ’ मानिने झापा– ३ मा ठूलो मतान्तरले पराजित गरे । लिङ्देनले ४४ हजार ६ सय १४ मत पाउँदा सिटौलाले ३१ हजार १ सय ५९ मत मात्रै पाएका थिए । यस मतान्तरको कारण एमाले नेता ओली र लिङ्देनबीचको चुनावी सहकार्य पनि थियो ।

सिटौला र लिङ्देनबीच पहिलो चुनावी भिडन्त २०५६ को आमनिर्वाचनमा भएको थियो । दुईपटक पराजय बेहोरेका लिङ्देन सिटौलाको ह्याट्रिक यात्रामा पूर्णविराम लगाउँदै राप्रपाका एक्ला प्रतिनिधिसभा सदस्य बनेका थिए । पार्टीका तत्कालीन अध्यक्ष कमल थापासमेतलाई कम्युनिस्ट गठबन्धनको भेलले बगाउँदा लिङ्देनचाहिँ एमालेको समर्थनमा सांसद बनेका थिए ।

पहिले केपी ओलीको साथले सांसद जितेका लिङ्देनलाई यसपटक पार्टीको चुनावमा पूर्वराजा ज्ञानेन्द्र शाहले अतिरिक्त सहयोग गरेर जिताएको पराजित नेता कमल थापाको आरोप छ । ‘जित स्वाभाविक थियो,’ अध्यक्ष जितेपछि लिङ्देनले हाँकका साथ भने, ‘जनताले नेतृत्व परिवर्तन चाहिरहेका थिए । त्यो परिवर्तनको भेलले मलाई रोज्यो ।’

प्रकाशित : मंसिर २०, २०७८ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

पलेशालाई स्वर्ण

कुशल तिमल्सिना

काठमाडौँ — ओलम्पियन पलेशा गोवर्द्धनले एसियन युथ पारा गेम्समा पारा तेक्वान्दोतर्फ स्वर्ण जितेकी छन् । गत भदौमा जापानमा भएको पारा ओलम्पिकमा कांस्य जित्न चुकेकी पलेशा बहराइनमा भइरहेको प्रतियोगितामा स्वर्ण जित्न सफल भइन् ।

एसियाली पाराओलम्पिक कमिटी र बहराइन सरकारको संयुक्त आयोजनामा जारी एसियन युथ पारा गेम्समा नेपालबाट सहभागी चारमध्ये तीन खेलाडी पदक जित्न सफल रहे । पारा तेक्वान्दोबाटै पलेशाले स्वर्ण जित्दा सृजना घिसिङले रजत र विशाल गर्बुजाले कांस्य पदक जिते । आइतबार भएको प्रतिस्पर्धामा महिला के–४४ विधाअन्तर्गत ५७ केजीमुनि तौल समूहको खेलमा पलेशाले इरानकी इब्राहिमी रोजालाई ६–० अंकका आधारमा पराजित गरी स्वर्ण जितेकी हुन् ।

पारा तेक्वान्दोमा के–४४ भनेको कम्तीमा एउटा हातको कुहिनाभन्दा तलको भाग नहुनु हो । बहराइनबाट प्रशिक्षक कविराज नेगी लामाले दिएको जानकारीअनुसार यो तौल समूहमा ५ खेलाडीको सहभागिता थियो । दुई खेलाडी सुरुआती छनोट (वेइङ) बाटै फालिएपछि बाँकी तीन खेलाडीबीच प्रतिस्पर्धा हुँदा वरीयताका आधारमा पलेशा बाई पाएर सिधै फाइनलमा पुगिन् । फाइनल मात्र खेलेर उनले ऐतिहासिक स्वर्ण जितेकी हुन् । एसियालीस्तरको आधिकारिक पारा खेलकुदमा नेपाली खेलाडीले स्वर्ण जितेको यो पहिलोपल्ट हो । सन् २०१७ देखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेकी १८ वर्षीया पलेशाले यसअघि सन् २०१९ मा भियतनाममा भएको पाँचौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन् ।

के–४४ विधाकै ५२ केजीमुनि तौल समूहमा सृजना फाइनलमा पराजित भइन् । पलेशाजस्तै बाई पाएर सिधै फाइनल पुगेकी सृजनाले इरानकी धानबारिकोमिसानी सहरसँग १८–० अंकका आधारमा पराजय बेहोरेकी हुन् । पुरुषतर्फ के–४४ विधामै ५८ केजीमुनि तौल समूहका विशाल गर्बुजा सेमिफाइनलमै पराजित हुँदै कांस्य पदक जिते । उनी उज्वेकिस्तानका सोनाजारोभ कुड्राटिलोसँग ३२–६ अंकका आधारमा पराजित भए । यी सबै खेलाडी करिब एक वर्षदेखि नियमित प्रशिक्षणमा थिए । ओलम्पिक छनोट प्रतियोगिताको तयारीका क्रममा तेक्वान्दो संघले उनीहरूलाई बन्द प्रशिक्षणमा राखेको थियो । सृजनाले ओलम्पिक तयारीका क्रममा पलेशाको स्पाइरिङ पार्टनरका रूपमा थिइन् ।

‘यो हाम्रो लामो समयदेखिको तयारीको प्रतिफल हो । हामीले ओलम्पिक छनोटदेखि नै यी खेलाडीलाई नियमित प्रशिक्षणमा राखेका थियौं,’ बहराइनबाट प्रशिक्षक लामाले कान्तिपुरसँग भने, ‘यो प्रतियोगिताअघि पनि दुई साताको बन्द प्रशिक्षण गरेका थियौं । यसपल्ट भाग्यले पनि साथ दियो ।’ प्रशिक्षक लामाले पलेशाले स्वर्ण जित्नुमा ओलम्पिकको अनुभवले पनि सहयोग गरेको बताए ।

के–४४ कै ५८ केजीमुनि तौल समूहमा पाराओलम्पिकमा प्रतिस्पर्धा गरेकी पलेशाले ऐतिहासिक रूपमा दुई खेल जितेकी थिइन् । कांस्य पदकका लागि भएको निर्णायक प्रतिस्पर्धामा उनी चीनकी खेलाडीसँग पराजित भएकी थिइन् । एसियन युथ पारा गेम्समा नेपालबाट दुई खेलका चार खेलाडीको सहभागिता छ । तेक्वान्दोबाट सहभागी तीनै खेलाडी पदक विजेता बनेका छन् । उनीहरूबाहेक ब्याडमिन्टनबाट प्रकाश अधिकारीको पनि सहभागिता छ ।

प्रकाशित : मंसिर २०, २०७८ ०७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×