लिङ्देनको विजय : नेतृत्व पुस्तान्तरण कि निर्मल निवासको शक्ति आर्जन ? - विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिङ्देनको विजय : नेतृत्व पुस्तान्तरण कि निर्मल निवासको शक्ति आर्जन ? 

नेतृत्व पुस्तान्तरणको कोणबाट हेर्दा थापाको 'मुसा प्रवृत्ति' माथि लिङ्देनको विजय राम्रो सन्देश हो । तर दक्षिणपन्थी विचारलाई थप संगठित गर्दै राजतन्त्र फर्काउने शक्ति आर्जन गर्ने उद्देश्यले मात्र नेतृत्व परिवर्तन भएको हो भने लिङ्देनको आवरणमा ज्ञानेन्द्र शाहको उदयकाे अर्थ हुने छैन ।
दुर्गा खनाल

काठमाडौँ — पञ्चायतकालदेखि अहिलेसम्म कहिले दरबार त कहिले दलसँग मिलेर राजकीय एवं पार्टी सत्ताको सुखभोग गर्दै आएका कमल थापा राप्रपाको नेतृत्वबाट बाहिरिएका छन् । राजेन्द्र लिङ्देनको विजयसँगै जीवनको अन्तिम क्षणसम्म पार्टी नेतृत्व र सत्ताका लागि मरिहत्ते गरिरहने नेपाली राजनीतिको एउटा प्रवृत्तिको हार भएको छ ।

एमालेको हालै सम्पन्न महाधिवेशनबाट ७० वर्ष उमेर हाराहारीका केपी शर्मा ओली चुनिइरहँदा, कांग्रेसमा ७५ वर्ष कटिसकेका शेरबहादुर देउवा नेतृत्व लिनका लागि फेरि तम्सिइरहँदा, अनि झण्डै ३५ वर्षदेखि पार्टी सत्तामा बसेर सुखसयल गरिरहेका पुष्पकमल दाहाल माओवादी केन्द्रको फेरि अध्यक्ष बन्ने तयारी गरिरहँदा थापामाथि लिङ्देनको विजय नेतृत्व परिवर्तनको आकांक्षा राख्ने युवापुस्ताका लागि सुखद सन्देश हो ।

नेपाली राजनीतिमा युवावयका व्यक्तिले पार्टीको नेतृत्वमा आँखा लगाउँदा खिसिट्यूरी हुन्छ । जस्तो, अध्यक्षको उम्मेद्वारी घोषणा गरिरहँदा थापाले पनि लिङ्देनलाई होच्याउँदै भनेका थिए, ‘युवा भनेर हुँदैन टुँडिखेलमा दौडौं जसले जित्छ त्यो अध्यक्ष !’ आफूविरुद्ध उभिन खोज्नेमाथि ‘लिगलिगे दौड’को निम्तो दिने थापालाई महाधिवेशन प्रतिनिधिहरूले गतिलो पाठ पढाएका छन् । थापाको पराजयसँगै पञ्चायत पृष्ठभूमि हुँदै बुहदलपछि अहिलेसम्म नेतृत्व गर्दै आएको एउटा पुस्ता नै अब राप्रपाबाट बाहिरिएको छ ।

नेतृत्वमा बसिरहन खोज्ने सूर्यबहादुर थापा बितिगए । लोकेन्द्रबहादुर चन्द यसअघि नै नेतृत्वको दौडबाट बाहिरिइसकेका थिए । निवर्तमान अध्यक्षहरू पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीले पनि यसपटकबाट नेतृत्वबाट अवकाश लिने घोषणा गरेपछि पुरानो पुस्ताका थापा मात्र थिए । उनी पनि महाधिवेशनबाट हारेपछि राप्रपाको नेतृत्व दोस्रो पुस्तामा आइपुगेको हो ।

संसदीय मोर्चाबाट करिब बिलिन भइसकेको राप्रपाको बिउ जोगाउने काम अघिल्लो चुनावमा राजेन्द्र लिङ्देन र धवलशमशेर राणाले गरेका थिए । गत स्थानीय तहको चुनावमा राणाले नेपालगन्ज उपमहानगरपालिकाको मेयर जिते । यता लिङदेनले झापाबाट प्रतिनिधि सभामा सांसद जिते । जनमतसहितको पृष्ठभूमि भएका यी दुवैले यसपटक महाधिवेशन अघि नै गठबन्धन गरेर थापालाई चुनौती दिएका थिए । लिङ्देनले अध्यक्ष र राणाले महामन्त्री जितेर आफ्नो पार्टीभित्रको गठबन्धनलाई मजबुत बनाएका छन् । यद्यपि थापाले हारेपनि पार्टीभित्र उनको पक्षबाट जित्नेहरूकै वर्चस्व छ । जसलाई सन्तुलन मिलाएर लैजान लिङ्देन र राणालाई चुनौती छ ।

नेतृत्व पुस्तान्तरणको कोणबाट लिङ्देन–राणाको विजय राम्रो सन्देश हो, तर राजनीतिक एजेण्डाको हिसाबले भने शंकास्पद र उत्तिकै घातक देखिन्छ । चुनाव हारेपछि कमल थापाले नै त्यसको संकेत गरेका छन् । थापाले ट्विट् गर्दै भनेका छन्, ‘प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु । पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपको भत्सर्ना गर्दछु । बधाई जीबीबी शाह धन्यवाद ।’ थापाले नै महाधिवेशनमा निर्मल निवासको नांगो हस्तक्षेप देख्नु र लिङ्देन जितेकोमा ज्ञानेन्द्र शाहलाई धन्यवाद दिनुको गम्भीर राजनीतिक अर्थ छ ।

महाधिवेशन अगावै नै राप्रपामा को बढी राजावादी देखिने भन्ने होडबाजी चलेको थियो । प्रचार प्रसारकै क्रममा नेताहरू आफ्नो जित भएमा राजतन्त्र फिर्ता गर्न सहज हुने भन्दै आन्तरिक गठजोड मिलाइरहेका थिए । यसका लागि थापा भन्दा लिङ्देनको समूह बढ्ता राजावादी देखिने कोसिस गरिरहेको थियो ।

राजतन्त्र स्थापनाको एजेण्डालाई थापाले राम्ररी बोकेर नहिँडेको भन्दै दरबारनिकटहरूमा एकप्रकारको मोहभंग भएको थियो । यो बीचमा राजतन्त्र स्थापना गर्न भन्दै थापाले गणतन्त्रवादी दलहरूसँग मिलेर पटक–पटक सत्ताको भोग गरेका थिए । परिस्थितिअनुसार आफू केन्द्रित अवसर छोप्न थापा माहिर छन् । त्यसैले राजनीतिमा उनको शैली ‘मुसा प्रवृत्ति’ले परिपचित पनि छ । यो प्रवृत्तिबाट राजतन्त्र पुन:स्थापनाको एजेण्डा स्थापित हुन नसक्ने दबारबार निकटहरूले देखेका थिए । त्यसैले महाधिवेशनमा लिङ्देन उनीहरूका लागि उपयुक्त पात्र बनेका हुनसक्छन् । यता थापा हटाउने प्रयोजनका लागि लिङ्देनलाई पनि कुनै न कुनै शक्तिको समर्थन आवश्यक पर्‍थ्यो । जसलाई लिङ्देनले प्रयोग पनि गरे ।

अहिले गणतन्त्रवादी राजनीतिक शक्तिहरूका आन्तरिक गतिविधि र सत्ताको छिनाझपटीले दक्षिणपन्थी प्रवृत्तिहरू सल्बलाइरहेका छन् । राजतन्त्र फर्काउने, हिन्दु राष्ट्र कामय गर्ने, संघीयता उल्टाउने नाममा स–साना समूह बनेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह बुहारी हिमानी शाहको नाममा खोलेको ट्रस्ट मार्फत् धार्मिक र सामाजिक काममा जोडिएर आफ्नो शक्ति आँकलन गरिरहेका छन् ।

यो अवस्थामा राप्रपामा झन् दक्षिणपन्थी विचारलाई संगठित गर्दै राजतन्त्र फर्काउने शक्ति आर्जन गर्ने उद्देश्यले नेतृत्व परिवर्तन भएको हो भने घातक हो । लिङ्देनको आवरणमा ज्ञानेन्द्र शाहको विजय भएको हो भने नेतृत्व पुस्तान्तरणको कुनै अर्थ हुनेछैन ।

लिङ्देन र राणाका लागि गणतन्त्रभित्रै पनि एउटा राजनीतिक दलको रुपमा शक्ति संगठित गर्दै अघि बढ्ने पर्याप्त अवसर छ । पूर्वपञ्चायत पृष्ठभूमि भएपनि २०४६ सालपछि राप्रपाले पटक–पटक संसदीय चुनाव जितेर सत्तामा पुगेको थियो । गणतन्त्र स्थापनापछि पनि पटक–पटक सत्तामा पुगेको हो । जस्तो अवस्थमा पनि तल्लो तहमा काम गरेर जनमत प्राप्त गरेरै आउन सकिन्छ भन्ने उदाहरण त अहिले लिङ्देन र राणा आफैं नै हुन् । त्यसैले मरिसकेको राजतन्त्र ब्यूँत्याउने मिसन भन्दा राष्ट्रवादी एजेण्डा बोकेर एउटा दलको रुपमै राप्रपालाई लैजाने सके लिङ्देनको विजय अर्थपूर्ण हुनसक्छ । नत्र थापाको ठाँउमा लिङ्देन आउनुको के फरक हुन्छ र ?

प्रकाशित : मंसिर १९, २०७८ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्

एक महिनादेखि पचरौता नगरपालिका ठप्प

नगर प्रमुख–उपप्रमुखबीच अधिकार बाँडफाँट र अनियमितताको मुद्दाले विवाद
लक्ष्मी साह

बारा — बाराको पचरौता नगरपालिका विवादका कारण एक महिनादेखि ठप्प छ । पचरौता उच्च माविका विद्यार्थीहरूले शिक्षक पदपूर्ति गर्नुपर्ने, ल्याब र प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्ने माग गर्दै पालिकालाई गुहार्दा पूरा नभएपछि कार्यालयमा तोडफोड गरेका थिए । गत कात्तिक ९ मा विद्यार्थीले तोडफोड गरेपछि पालिका ठप्प भएको हो ।

विद्यालयको मात्र नभई अन्य विवादका कारण पनि नगरपालिकामा राजनीतिक दलबीचको टकराव बढ्दो छ । जनप्रतिनिधिको कार्यकाल अन्तिम वर्षसम्म आइपुग्दा विवाद कायमै रहनुले पालिकावासी पीडित छन् । ‘विवादले सधैं जेलिरहँदा त्यसको स्थायी समाधान कहिल्यै भएन, जसले नगरको विकास निर्माण, नगरवासीको प्रत्यक्ष सरोकारका कार्य प्रभावित हुँदै आएका छन्,’ गत चुनावमा नगर प्रमुखका प्रत्यासी जलन्धर सिंहले भने, ‘नगरमा कहिले विद्यार्थीले शिक्षक र पठनपाठनको लागि आन्दोलन गर्नु परेको छ त कहिले संघर्ष समिति बनाएर जनसरोकारका विषयलगायत अनियमितता– विरुद्ध आन्दोलित हुनु परेको छ ।’

नगर प्रमुख–उपप्रमुखबीचमा अधिकार बाँडफाँट, कहिले एक पक्षले अर्को पक्षमाथि गरिरहने मुद्दामामिला त कहिले विकास निर्माणमा भएको अनियमितताको विवादबाट पालिका उम्किन सकेको छैन । पालिकाको अनियमितताविरुद्ध कैयौं उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ । जसले नगरपालिकाभित्र जनप्रतिनिधिहरूबीच रस्साकसी हुँदै आएको हो । अख्तियारको छापासँगै घुससहित पालिकाका कर्मचारी रंगेहात पक्राउसमेत परेका छन् ।

गत कात्तिक ९ मा कार्यालयमा तोडफोडको क्रममा प्रहरी र विद्यार्थीबीच झडप भएको थियो । प्रहरीको कुटाइबाट विद्यार्थी घाइतेसमेत भए । तोडफोडबाट कम्प्युटर, फर्निचर, झ्यालढोका फुट्दा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भयो । घटनाबारे छानबिन गर्न प्रमुख जिल्ला अधिकारीबाट ३ सदस्यीय छानबिन समिति बने पनि टुंगोमा पुग्न नसकेको छैन । २ वर्षअघि नगर अस्पताल बनाउने विषयमा पनि नगर प्रमुख र विपक्षीबीच विवाद भयो । विवाद झडपमा परिणत भयो । जसलाई मत्थर पार्न प्रहरीले पचासौं सेल अश्रुग्यास र २ दर्जनभन्दा बढी पटक हवाई फायर गरेको थियो । त्यस क्रममा थुप्रै घाइते भएका थिए ।

नगरमा बजेट परिचालनमा अनियमिततासँगै कार्यालयमै बलात्कार प्रयास भएको घटनासमेत बाहिर आएको छ । उपप्रमुख इन्दुकुमारी यादव पनि पालिका अस्तव्यस्था भएको स्विकार्छिन् । ‘असल व्यवहार हराएको छ, दुराचार र भ्रष्टाचार बढेको छ । कार्यालयमै बलात्कार प्रयासका घटना पनि हुन थालेका छन्,’ उनले भनिन् । विवादबाट पालिका सुरुदेखि नै घेरिएको उनको भनाइ छ । ‘कहिले उपप्रमुखलाई बाइपास त कहिले अनावश्यक लाभले पालिका सधैं विवादित रह्यो,’ उनले भनिन्, ‘नगर प्रमुखले दम्भका साथ मनोमानी र गैरकानुनी कार्य गर्नुहुन्छ, मचाहिँ त्यसको विरोधमा उभिँदै आएकोले हाम्रोबीच विवाद भइरहन्छ ।’

पालिका कार्यालयभित्रै कार्यालय सहायक ३२ वर्षीय सञ्जय पासवानले महिला कर्मचारीमाथि गत बिहीबार बलात्कार प्रयास गरेको आरोप लागेको हो । यसबारे प्रहरीमा उजुरी पर्दासमेत आरोपित पक्राउ परेका छैनन् । पालिका कार्यालय नजिकै कोठा लिएर बस्दै आएकी ती महिला पालिकामा कागजात लिन गएको बेला पासवानले बलात्कार प्रयास गरेको पीडित परिवारको दाबी छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिपेन्द्रबहादुर शाहीले बताए । ‘महिलाको सुरक्षाप्रति संवेदनशील छौं,’ उनले भने, ‘घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउँछौं ।’ घटना बाहिरिएसँगै नगर प्रमुख रमेश यादव भने सम्पर्कविहीन छन् ।

उनले घटना भएपछि पीडितलाई २ पटक छलफलका लागि बोलाएका थिए । तर आफू सहभागी नभई मेलमिलाप गराउन आफ्ना खास व्यक्तिलाई परिचालन गरेको पीडितको भनाइ छ । ‘नगर प्रमुख सम्पर्कमा हुनुहुन्न,’ प्रमुख प्रशासकीय अधिकृत श्याम यादवले भने । नगर प्रमुख यादव र उपप्रमुख इन्दुले चुनाव जितेदेखि सुरु भएको विवाद अहिलेसम्म सुल्झिएको छैन । तत्कालीन संघीय समाजवादी फोरमबाट रमेश र तत्कालीन राजपाबाट इन्दु निर्वाचित भएका हुन् । प्रमुख यादवले आफ्नो जित विपक्षीलाई नपचेको र विकास निर्माण हेर्न नचाहेको समूहको गतिविधिले नगरपालिका सधैं अस्तव्यस्त रहँदै आएको दाबी गर्दै आएका छन् ।

प्रकाशित : मंसिर १९, २०७८ १०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×