राप्रपामा पुस्तान्तरण- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्रपामा पुस्तान्तरण

दलहरुमा पुरानै नेतृत्वले निरन्तरता पाइरहेका बेला लिङ्देनको विजयले राजनीतिक वृत्त तरंगित
मणि दाहाल

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएसँगै नेपालको राजनीतिक वृत्तमा एकखालको तरंग आएको छ । त्यसको एउटै कारण हो– राप्रपामा पुस्तान्तरण । राप्रपालाई ‘कब्जा’ मा राख्दै आएका कमल थापालाई पराजित गरेपछि लिङ्देनले आफ्नो पार्टीको महाधिवेशनलाई एमालेसँग तुलना गरेका छन् ।

अध्यक्षमा निर्वाचित भएपछिको पहिलो औपचारिक कार्यक्रममा उनले देशभरको ध्यान राप्रपातर्फ आकर्षित भएको बताए । ‘राप्रपामा मात्रै होइन, देशमै पुस्तान्तरणको मुद्दा लिएर जानेछु,’ उनले भने, ‘राप्रपाको महाधिवेशनलाई देशका अन्य पार्टीका मानिस, बुद्धिजीवी र पत्रकारको ध्यान कम आकर्षित भएको छ । यो ध्यानाकर्षण एमाले महाधिवेशनमा भन्दा कम छैन ।’

नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणासँग मिलेर लिङ्देनले उम्मेदवारी घोषणा गरेदेखि नै महाधिवेशनमा चासो निकै बढेको थियो । संसद्मा राप्रपाका एक मात्रै प्रतिनिधि लिङ्देनले पार्टी नेतृत्वमा दाबी गरेदेखि नै महाधिवेशनको विषयले समाचारमाध्यममा स्थान पाएको थियो भने नेतृत्वमा पुस्तान्तरण हुनुपर्ने माग गर्दै आएका अन्य दलका नेताहरूले समेत चासोका साथ हेरेका थिए ।

कांग्रेसभित्र नेतृत्व पुस्तान्तरण हुनुपर्ने बताउँदै आएका विमलेन्द्र निधिले निर्वाचन परिणाम सार्वजनिक हुनेबित्तिकै विज्ञप्ति जारी गर्दै लिङ्देनलाई बधाई दिए । ‘राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको सन्देश दिएको छ,’ निधिले आइतबार विज्ञप्तिमार्फत भनेका छन् । निधि अर्को साता हुने कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन् ।

पञ्चायतकालबाटै राजनीतिमा होमिएका लिङ्देनले देशभर पुस्तान्तरणको अभियान चलाउने र देशको वैकल्पिक प्रजातान्त्रिक नभई मुख्य राजनीतिक शक्तिका रूपमा पार्टीलाई स्थापित गर्ने दाबी गरेका छन् । उनी बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि गठन भएको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक अध्यक्ष बनेका थिए ।

लामो समयसम्म निवर्तमान अध्यक्ष थापाको मुख्य खम्बाका रूपमा रहेका लिङ्देन पछिल्लो समय भने टाढिँदै गएका थिए । निर्मल निवाससँग थापाको बढ्दो दूरी र पार्टीभित्र गुम्सिएर रहेको असन्तुष्टिलाई उपयोग गर्दै लिङ्देनले राप्रपाको अध्यक्षमा बाजी मारेका हुन् । राप्रपाका विषयमा पुस्तक लेखेका केन्द्रीय सदस्य गोविन्दराज खनियाँले लिङ्देनको जितले विगतमा राप्रपाका बारेमा रहेको बुझाइमा परिवर्तन आउने अपेक्षा लिएको बताए ।

‘हिजोको दिनमा मानिसको नजरमा सम्भ्रान्त वर्ग शासकहरूले स्ट्याटस राखिराख्नका लागि खोलेको क्लबजस्तो थियो, त्यही अवस्थामा राप्रपा धेरै लामो समयसम्म चल्यो,’ उनले भने, ‘क्लबका सदस्यहरूको झगडाले अर्को क्लब बन्ने र अप्ठ्यारो समयमा जोडिने जस्तो राजनीतिक संस्कार धेरै कम भएको परिस्थिति थियो । अब त्यो अवस्था र नजरमा परिवर्तन आउँछ भन्ने लागेको छ ।’ लिङ्देननिकट रहेका खनियाँले पार्टीको छवि सुधारको विषयलाई नवनिर्वाचित अध्यक्षले ध्यान दिने बताएका छन् ।

खनियाँले जापान, बेलायतमा रहेको जस्तो राजासहितको प्रजातान्त्रिक शासन व्यवस्था हुनुपर्छ भनेर राप्रपालाई उदारवादी पार्टी हुने कल्पना गरे पनि त्यसअनुसार सञ्चालन नभएको बताए ।स्थानीय स्वायत्ततासहितको हिन्दु अधिराज्य स्थापना हुनुपर्ने बताउँदै आएको छ ।

नेतृत्वमा पुगेका लिङ्देनका लागि सबैभन्दा पहिलो चुनौती आन्तरिक रूपमा आउने देखिन्छ । निर्वाचनमा पराजित भएका कमल थापा प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रममा नआएर असन्तुष्टि देखाइसकेका छन् । उनले लिङ्देनलाई बधाई दिए पनि निरन्तर रूपमा ट्वीट गर्दै आक्रोश व्यक्त गरेका छन् । पराजयबाट क्षुब्ध भएका थापा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि पनि जाइलागेका छन् ।

राजावादी दल राप्रपा सञ्चालनमा निर्मल निवासको संकेत महत्त्वपूर्ण हुने गरेको छ । ‘यो राजेन्द्र लिङ्देन र कमल थापाको होइन, ज्ञानेन्द्र शाह र कमल थापाको चुनाव हो,’ थापानिकट नेता उद्धव पौडेलले भने, ‘नत्र अन्य पोस्टमा सबै कमल थापाको मानिस आउने, कार्यकारिणी समिति सदस्यहरू सबै आउने तर कमल थापाले हार्ने हुन्छ ?’ दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आइतबार बिहान परिणामको विषयमा थापा समूहको समीक्षा बैठक भएको थियो ।

१ सय ४९ जना निर्वाचित सदस्यमा पदाधिकारी र केन्द्रीय सदस्य थापा प्यानलमा रहेका अधिकांश आएका छन् । पदाधिकारीमा महामन्त्रीमा धवलशमशेर जबरा र उपाध्यक्षमा विक्रम पाण्डेबाहेक सबै थापा प्यानलबाट निर्वाचित भएका छन् । उपाध्यक्ष पाण्डे लिङ्देन र थापा दुवै प्यानलमा रहेका थिए ।

थापा प्यानलबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, ध्रॅवबहादुर प्रधान, रोशन कार्की, महामन्त्रीमा भुवन पाठक र कुन्ती शाही विजयी भएका छन् । उनीहरूले प्रज्ञा भवनमा भएको कार्यक्रममा शपथग्रहण गरे र प्रमाणपत्र बुझ्नेबित्तिकै बाहिरिए । ‘सबैलाई समेटेर लैजाने विषयमा अध्यक्षको ध्यान हुनेछ, विगतमा जस्तो महाधिवेशनपछि राप्रपा फुट्ने भन्ने हुँदैन,’ खनियाँले भने, ‘एजेन्डा पूरा हुँदैन कि भनेरनिराश भएकाहरूमा नयाँ आशाको सञ्चार हुन्छ ।’

‘अहिलेको चासो भनेको नवनिर्वाचित अध्यक्षले कसरी पार्टीलाई अघि लैजानु हुन्छ भन्ने नै हो,’ केन्द्रीय सदस्य भरत पाठकले भने, ‘राप्रपाका लिङ्देनभन्दा धेरै सिनियर नेता हुनुहुन्छ ।’ १ सय ९९ सदस्यीय कमिटीमा अध्यक्ष लिङ्देनले पदाधिकारी र सदस्य गरी ५० जना मनोनीत गर्न सक्ने व्यवस्था छ ।

आइतबार थापानिकट पदाधिकारी कार्यक्रमबाट चाँडै बाहिरिनुको कारण पनि बुद्धिमान तामाङलाई मर्यादाक्रममा अघि नराखेकामा असन्तुष्टिको जनाउ भएको नेताहरूले बताएका छन् । शपथग्रहण कार्यक्रममा शनिबार सम्बोधन गर्दै लिङ्देनले सबैलाई समेटेर लैजाने बताएका छन् । उनले निरन्तरतासहितको परिवर्तन चाहेको बताए ।

‘कमल थापा पनि यहाँ हुनुभएको भए सुनमा सुगन्ध हुन्थ्यो, फेरि पनि पूर्ण विश्वासमा छु, हामी सँगै हुनेछौं, उहाँहरूको योगदान राप्रपाले सधैं प्राप्त गर्नेछ,’ उनले भने, ‘पार्टीका संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्दको भूमिका सदा जीवित राख्नेछौं ।’ उनले निरन्तरतासहितको परिवर्तन देशका लागि मात्रै नभएर पार्टीमा पनि लागू हुने बताए ।

प्रकाशित : मंसिर २०, २०७८ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्

आफ्नै निर्देशनविपरीत नेटवर्किङ ब्युँताउँदै संसदीय समिति

तीन दिनभित्र इजाजत दिन भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र
राजु चौधरी

काठमाडौँ — संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आफ्नै निर्देशनविपरीत नेटवर्किङ कम्पनीलाई इजाजत दिन निर्देशनसहितको पत्र काटेको छ । समितिले प्रक्रिया पूरा गरेका सबै व्यवसायीलाई तीन दिनभित्र इजाजत दिन र नमिल्ने अवस्था भए कारणसहित तीन दिनभित्रै समितिमा जानकारी गराउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

‘व्यवसाय सञ्चालनका लागि लाग्ने आवश्यक राजस्व, धरौटी तथा बैंक ग्यारेन्टी जम्मा गरेका र आवेदन दर्ता गरी व्यावसायिक योजना बुझाइसकेका व्यवसायीलाई इजाजत नदिएको भनी समितिमा निवेदन दर्ता भएका विषयमा गम्भीर ध्यानाकर्षण भएको छ,’ समितिले मंसिर १२ मा पठाएको पत्रमा भनिएको छ, ‘प्रक्रिया पूरा गरेका सबै व्यवसायीलाई तीन दिनभित्र इजाजत दिनू र दिन नमिल्ने अवस्थमा भए कारणसहित तीन दिनभित्रै उपलब्ध गराउनू ।’

यसअघि पनि पटकपटक दबाब दिएको समितिको यो पत्रले स्वार्थ झल्किएको मन्त्रालयका अधिकारी बताउँछन् । विकृति हटाउन भन्दै यसअघि कार्यविधि/निर्देशन बनाएर मात्रै दिनू भनियो । निर्देशिका जारी हुने क्रममै छ । तर समितिले इजाजत दिन समय नै तोक्यो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘समितिको दोहोरो चरित्र देखियो । निहित स्वार्थबाट प्रेरित भएर इजाजत दिन दबाब आयो ।’

ती अधिकारीका अनुसार समितिले कार्यविधि/निर्देशिका जारी गर्न निर्देशन दिनुपर्थ्यो । यसअघि इजाजत लिएर निर्देशिका कार्यान्वयन नहुँदै कारोबार गरिरहेका कम्पनीलाई नियमन गर्न निर्देशन दिनुपर्थ्यो । तर समितिले त्यता ध्यान दिएको छैन । ‘वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्यविधि/निर्देशिकाको मस्यौदा पठाएको थियो । तत्कालीन मन्त्री लेखराज भट्ट हुँदा त्यो स्वीकृत भएन । अहिले मन्त्रालय मन्त्रीविहीन छ, निर्देशिकाको मस्यौदा एक वर्षदेखि मन्त्रालयमा थन्किएको छ,’ ती अधिकारीले भने, ‘तर आफ्नै निर्देशनविपरीत निर्देशनले तलका कर्मचारी मारमा परे । निर्देशन पालना नगर्दा अटेरी गरेजस्तो हुन्छ । गरौं, जायज काम छैन ।’

विभागले छानबिनबिनै नेटवर्किङका पुरानै गिरोहलाई इजाजत दिएको र इजाजत लिनुअगावै नेटवर्किङ कारोबार गरिरहेको सार्वजनिक भएपछि समितिले छानबिन थालेको थियो । समितिअन्तर्गत सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उपसमितिले २०७७ भदौमा वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ तथा नियमावली २०७६ संशोधनसहित १८ सुझाव दिएको थियो । सोही प्रतिवेदनका आधारमा समितिले विभागलाई कार्यान्वयन गर्न भनेको थियो । ऐनमा बुँदाबुँदामा ‘वा/तर’ लगायत शब्द राखेर नेटवर्किङ घुसाउन खोजिएको छ । प्रतिवेदनमा प्रत्यक्ष वस्तु बिक्री कारोबारका नाममा विदेशी कम्पनीको शाखाका रुपमा कारोबार गर्न नपाइने र त्यस्तो गरेको पाइए उक्त कम्पनीको इजाजत खारेज गरी कानुनअनुसार कारबाही गर्नुपर्ने उल्लेख छ । ऐनको मूल मर्मबमोजिम कम्तीमा ५० प्रतिशत स्वदेशी वस्तु बिक्री गर्ने प्रतिबद्धता लिने, बढीमा २ वर्षभित्र इजाजतपत्र प्राप्त कम्पनीले स्वदेशी वस्तुको उत्पादन तथा बिक्रीवितरण अनिवार्य गर्नुपर्ने र सोअनुसार नगर्ने कम्पनीको इजाजतपत्र रद्द गर्ने व्यवस्था गर्न समितिले निर्देशन दिएको थियो ।

वस्तुको प्रत्यक्ष बिक्री गर्ने कम्पनीको न्यूनतम चुक्ता पुँजी ३ करोड पुर्‍याउन र हाल इजाजत लिइरहेका कम्पनीलाई समेत ६ महिनाभित्र सोहीबमोजिमको पुँजी बढाउन लगाउने समितिको निर्देशन छ । तर मन्त्रालय र विभागले त्यता ध्यान दिएन । न त संसदीय समितिले नै चासो दियो । ‘समितिले नीतिगत निर्णय गर्ने हो । विगतमा दिएको निर्देशन पालना भए/नभएको कुरा उठाउनुपर्थ्यो,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘तर समितिलाई नेटवर्किङ व्यवसायीले किने, समिति त्यसैमा बिक्यो । अहिले आएको निर्णय उपभोक्ताप्रतिको अपराध हो, यस विषयमा तत्काल छानबिन हुनुपर्छ ।’

समितिको निर्णयको रूप र व्यवसायीका गतिविधी हेर्दा निर्देशनका लागि ठूलो लगानी भएको प्रस्ट हुने बानियाँको आरोप छ । यस बिषयमा सभामुख र संसद्को कार्यव्यवस्था समितिले तत्काल छानबिन गर्नुपर्ने उनले बताए । यसअघि पनि समितिले २०७७ असोज ९ मा प्रक्रिया पुगेकालाई इजाजत दिन भनेको थियो । २०७७ चैत ५ मा पुनः संस्थागत संरचना बनाई कानुनी प्रक्रिया पूरा गरेकालाई इजाजत दिन भन्दै पत्र पठाएको थियो । यसरी आफ्नै निर्णयविपरित पटक/पटक निर्देशन दिँदा प्रस्ट स्वार्थ देखिने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाको भनाइ छ ।

यसअघि नेटवर्किङ कम्पनीबाट २०६८/६९ ताका लाखौं सर्वसाधारण ठगिएका थिए । ती कम्पनीले नयाँ कम्पनीमार्फत कानुनी वैधताका लागि विभागमा निवेदन पेस गरेपछि विभागले पनि पर्याप्त अध्ययन/अनुसन्धानबिनै वस्तुको प्रत्यक्ष बिक्रीका नाममा नेटवर्किङ व्यवसायको अनुमति दिएको थियो । नेचर हर्ब्स इन्टरनेसनल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि, हेल्दी लिभिङ नेपाल प्रालि, ग्लोबल ओरियन्स प्रालि, आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालि, केयर मार्ट्स इन्टरप्राइजेज प्रालि, युटर्न इन्टरनेसनल प्रालि, अपी लाइफ इन्टरनेसनल प्रालि र केयर नेसन इन्टरनेसनल प्रालिले इजाजत पाएका थिए । २०७७ असार १६ बाट पुनः इजाजत पाएका उनीहरूले सामाजिक सञ्जाल, जुम मिटिङलगायत माध्यमबाट नेटवर्किङ गरिरहेका छन् । कतिपय कम्पनीले इजाजतबिनै नेटवर्किङ धन्दा चलाइरहेका छन् । समितिले यसतर्फ त्यति चासो दिएको छैन ।

यस विषयमा बुझ्न खोज्दा समिति सभापति विमल श्रीवास्तव विगतकै निर्णय पठाइएको भनेर पन्छिन खोजे । ‘पूर्वाधार बनाएकालाई इजाजत दिने निर्णय विगतकै हो । सम्बद्ध व्यक्तिहरूले उजुरी गरेका थिए, त्यही भएर कार्यालयले पुनः चिठी पठाएको हो,’ उनले भने, ‘विगतमा सात दिनको म्याद कार्यान्वयन भएन, फेरि तीन दिनको समय तोकिएको हो ।’

समितिको निर्देशनबारे मन्त्रालयलाई पुनः पत्र पठाइएको विभागका वैदेशिक व्यापार तथा नियमन शाखा निर्देशक भेषराज कुँवरले जानकारी दिए । ‘समितिले मन्त्रालयलाई निर्देशन दिएपछि मन्त्रालयले विभागलाई पत्र पठाएको छ । निर्देशिका जारी नहुँदा काम गर्न अप्ठ्यारो भएको भनेर पुनः पत्र पठाएका छौं,’ उनले भने, ‘समितिले निर्देशिकाबारे बोलिदिएको भए सजिलो हुन्थ्यो ।’

विभागको नेतृत्व प्रकाश पौडेलले सम्हालेपछि उनले ९ वटा कम्पनीमा छापा मारी अध्ययन प्रक्रिया बढाएका थिए । वस्तुको प्रत्यक्ष बिक्रीका नाममा इजाजत लिएका कम्पनीले ऐनविपरीत कारोबार गरिरहेको प्रारम्भिक अध्ययनले देखिएको थियो । कारबाहीस्वरूप व्यवसाय नै स्थगन गर्ने/इजाजत अनुमति रद्द गर्न बताएका पौडेलको सुरुवा भएपछि भने अनुसन्धान ठप्प छ ।

प्रकाशित : मंसिर २०, २०७८ ०७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×