नेताहरू टिम निर्माणमा व्यस्त, प्रदेश १ मा अधिवेशन स्थगित

मंसिर १७, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — समूहका नेताहरू टिम निर्माणमा व्यस्त भएपछि कांग्रेसको प्रदेश १ को अधिवेशन उद्घाटन हुन सकेन । देउवा–सिटौला र पौडेल–कोइराला समूहका नेताहरू दिनभर उम्मेदवारको नाम टुंग्याउन व्यस्त थिए ।

कांग्रेसका एक नेताले भने संस्थापनबाहेक समूहका नेतालाई बोल्नेमा सूचीमा नराखिएपछि अधिवेशन उद्घाटन रोकिएको बताए । सभापति देउवाले भर्चुअल माध्यमबाट अधिवेशन उद्घाटन गरेपछि कार्यक्रमको सभापतित्व गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समापन गर्ने तय भएको थियो । तर संस्थापनबाहेक समूहका केन्द्रीय सदस्यहरू शेखर कोइराला, महेश आचार्य, बलबहादुर केसीलगायतले बोल्न पाउनुपर्ने माग राखेपछि उद्घाटन समारोह हुन सकेन ।

शुक्रबार बिहान अधिवेशन उद्घाटन कार्यक्रम राखिएको छ । गण्डकीमा पनि उद्घाटन समारोहमा बोल्न नदिइएको भन्दै पौडेल समूहका नेताहरूले देउवाविरुद्ध नाराबाजी गरेका छन् । कर्णालीमा उद्घाटन समारोहमा निम्तो नगरिएको भन्दै संस्थापनबाहेक समूहका नेताहरू सहभागी भएनन् । 

१६ जिल्ला अधिवेशन महाधिवेशनपछि

कांग्रेस निर्वाचन समितिले १६ जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने गरी स्थगन गरेको छ । क्षेत्रीय अधिवेशन हुन नसकेका र अधिवेशन भएर पनि प्रदेश अधिवेशनका कारण समय अपुग भएका केही जिल्लाको अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, रौतहट, महोत्तरी, सप्तरी, चितवन, सिन्धुपाल्चोक, बाँके, अछाम, कैलाली, नवलपुर, मकवानपुर र सिन्धुलीका जिल्ला अधिवेशन स्थगित गरिएका हुन् ।

‘तीमध्ये सर्लाही र सप्तरीका केही क्षेत्रबाट मात्र महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी छन्, अन्य जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन्,’ निर्वाचन समितिका संयोजक घिमिरेले भने, ‘जिल्ला अधिवेशन नहुँदैमा महाधिवेशन प्रक्रिया प्रभावित हुँदैन ।’

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully