कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कांग्रेस महाधिवेशन : प्रदेश २ अधिवेशन अन्योल

प्रदेश ब्युरो

जनकपुर — सहमति गर्ने र विवाद मिलाउन भन्दै तोकिएको निर्वाचन तालिका सार्दै आफूनिकट प्रतिनिधि छनोटमा नेताहरूले बलजफ्ती गरिरहेकाले प्रदेश २ मा कांग्रेस अधिवेशन अनिश्चित भएको छ । क्रियाशील सदस्यता विवादकै कारण प्रदेश २ का ८ जिल्लामा एक महिना ढिलो वडा अधिवेशन थालिएको थियो । 

कांग्रेस महाधिवेशन : प्रदेश २ अधिवेशन अन्योल

क्षेत्रीय अधिवेशनको अन्तिम परिणाम नआउँदै जनकपुरको तिरहुतिया गाँछीमा बिहीबार प्रदेश २ को अधिवेशन सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल उद्घाटन गरेको उद्घाटनमा उपसभापति विमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, कल्याण गुरुङलगायतको उपस्थिति थियो । प्रदेश २ मा सबैभन्दा बढी विवाद सर्लाहीमा छ । तेस्रोपटक तोकिएका निर्वाचन अधिकृत भरत राउत बिहीबार काठमाडौं फर्किएका छन् । प्रहरीले जिल्ला सचिव उपेन्द्र कुशवाहको रोहवरमा उनी बस्ने कोठा सिल गरेको छ । राउतले पनि वडा अधिवेशन सम्पन्न गर्न सकेका छैनन् ।

बलरा नगरपालिका–८ अचलगढ र ९ नम्बर वडा गडहियामा वडा अधिवेशनका क्रममा गोली चलेको थियो । अचलगढमा सांसद अमरेशकुमार सिंह र प्रदेश २ का मन्त्री वीरेन्द्रकुमार सिंह समूहबीच विवाद हुँदा मन्त्रीका अंगरक्षकले गोली चलाएका थिए । सर्लाहीका ४ निर्वाचन क्षेत्रका १० वडामा संस्थापन र इतर समूहबीच विवाद छ । ३ वटा वडामा अधिवेशन प्रक्रिया सुरु हुन सकेको छैन । सर्लाही क्षेत्र नं. ४ को बलरा नगरपालिका–८ र ९ नम्बर वडामा चुनावी प्रक्रिया अघि बढ्न सकेको छैन । क्षेत्र नं. ३ स्थित कविलासी नगरपालिका–४ मा पनि दुई पक्षबीच विवादका कारण चुनावी प्रक्रिया रोकिएको छ । क्षेत्र नं. ४ मा नेताद्वय सिंहबीच टकराव छ ।

सर्लाही क्षेत्र ४ कै कारण कांग्रेस वडा अधिवेशनमै अल्झिरहेको छ । क्षेत्र नं. ३ को कविलासी नगरपालिका–४ मा पनि संस्थापन र इतरपक्षबीच नवीकरणमा छुट भएका ७ जनाको सदस्यता विवाद छ । क्षेत्र नं. १ र २ को ५ वटा वडामा पनि विवाद देखिएको छ । इतरपक्षका नेता तथा जिल्लाका पूर्वसभापति लक्ष्मण रायले कतिपय वडामा सभापतिले घरमै बसेर प्रमाणपत्र बाँड्न लगाएको आरोप लगाएका छन् । जिल्ला सभापति नागेन्द्रकुमार रायले भने पूर्वसभापति लक्ष्मण रायले केही वडामा जबर्जस्ती गरेको आरोप लगाए ।

चार–चार क्षेत्र भएका धनुषा र महोत्तरीमा क्षेत्रीय अधिवेशन सम्पन्न भएका छन् । बारामा बिहीबार क्षेत्रीय अधिवेशन सुरु भएको हो । संस्थापन र इतरपक्षबीच वडा तहमा चुनावमार्फत नेतृत्व छान्ने कि सर्वसम्मत, अधिवेशनका बेला क्रियाशील सदस्यता थप, वडा तहको निर्वाचनमा भएको धाँधली र कुटाकुटलगायतका विषयमा विवाद बढ्दै गएपछि बारामा अधिवेशन तोकिएको मितिभन्दा पछाडि धकेलिएको त्यहाँका निर्वाचन अधिकृत राजन दाहालले बताए ।

प्रसौनी गाउँपालिकाको वडा–५, सिम्रौनगढ र पचरौता नगरपालिकाको क्रमशः वडा–३ र ५ मा भएको निर्वाचनमा धाँधली र सदस्यलाई जानकारी नदिई निर्वाचन गरिएको कारण देखाउँदै त्यसलाई बदर गर्दै दोस्रोपटक निर्वाचन गरिएको थियो । सिम्रौनगढ वडा नम्बर ३ को निर्वाचन वडामा कलैयास्थित पार्टी कार्यालयमा गरिएको थियो । यसैगरी निर्वाचन क्षेत्र नम्बर १ को अधिवेशन आदर्श कोतवालस्थित विद्यालयमा तोकिएकोमा धाँधली हुन सक्ने सिटौला समूहको आरोपपछि कलैयास्थित पन्नादेवी माविमा भएको छ ।

बाराको निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन प्रसौनी र ३ को निर्वाचन कलैयामा भइरहेको छ । क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशन स्थगित भएको दाहालले बताए । रौतहटमा पनि बिहीबार मात्रै कांग्रेसले क्षेत्रीय, प्रदेश र महाधिवेशन प्रतिनिधि छनोट टुंग्याएको छ । चार क्षेत्रमध्ये ३ वटामा सर्वसम्मत भएको छ । क्षेत्र नम्बर ४ मा भने सहमति गरे पनि बुधबार निर्वाचन भएको थियो । रौतहटका सभापति कृष्णा यादवले आफ्नो क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापतिमा देउवानिकट श्रीराम यादवलाई निर्विरोध गराएका छन् ।

सांसद मोहम्मद आफताब आलमको पकड रहेको क्षेत्र २ मा पनि उनीनिकट शेख फैजुल्लाह क्षेत्रीय सभापतिमा निर्विरोध भएका छन् । आलम अहिले कर्तव्य ज्यान मुद्दामा जेल छन् । रौतहटको क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधिमा देउवा र पौडेल पक्षले भागबन्डामा सहमति गरे पनि कार्यकर्ताले नमानेपछि बुधबार क्षेत्रीय, प्रदेश र महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन भएको छ । सप्तरीको निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा बुधबार मतदान भएको छ ।

निर्वाचन क्षेत्र नम्बर ४ मा मतदान प्रक्रियामा विवाद हुँदा क्षेत्रीय अधिवेशन हुन सकेको छैन । सिरहाका सबै क्षेत्रमा अधिवेशन सकिएको छ । पर्सामा क्षेत्रीय अधिवेशन सम्पन्न भएका छन् ।

प्रकाशित : मंसिर १७, २०७८ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?