देउवा र दाहालसँग मैले पटक-पटक न्यायालयको विवाद टुंग्याउन भन्दै आएको छु : पौडेल


कास्की — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा देखिएको विवादबारे आफूले पटक पटक पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भन्दै आएको बताएका छन् । प्रधानन्यायीधीश विवादको विषयलाई निकास दिनुपर्ने भन्दै पटक पटक देउवा र दाहाललाई भन्दै आएपनि हालसम्म समाधान नभएको उनको भनाइ थियो ।

कांग्रेसको गण्डकी प्रदेश अधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै नेता पौडेलले भने, 'प्रधानन्यायधीशविरुद्ध भएका आन्दोलनको समस्या समाधान गर्ने जिम्मा तपाईंहरुको हो, छिट्टै विवाद टुंग्याउनुस् भन्दै आएको छु, ' उनले भने, 'चरम गुटबन्दीको शिकार न्यायलय पनि बनेको छ ।'
अदालतमा पैसावालाको मात्र सेटिङ हुने र पैसा हुनेले मात्र न्याय पाउने अवस्था सिर्जना भएको उनले बताएका थिए । सरकारमा संलग्न सबै दलसँग समाधानको विकल्प खोज्न अनुरोध गर्दै आएको उनले बताए ।
उनले नेपाली कांग्रेस पछिल्लो समय विचार र सिद्धान्त विपरीत चल्दै आएको पनि आरोप लगाए । २००७ सालदेखि कांग्रेसको आफ्नै इतिहास रहेको बताउँदै नेता पौडेलले सिद्धान्त र आर्दश अनुसार कांग्रेसमा नेतृत्व लिन नसकेको बताएका थिए ।
प्रकाशित : मंसिर १६, २०७८ १७:००