कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

बागलुङ कांग्रेस सभापतिमा शेरचन विजयी

प्रकाश बराल

बागलुङ — कांग्रेस जिल्ला अधिवेशनबाट जितबहादुर शेरचन सभापतिमा निर्वाचित भएका छन् । गत शुक्रबारदेखि जारी अधिवेशनमा सभापतिका लागि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदानबाट कृष्णप्रसाद सिटौला समूहका शेरचन विजयी भएका हुन् । 

बागलुङ कांग्रेस सभापतिमा शेरचन विजयी

शेरचनले प्रतिस्पर्धी जगदीशचन्द्र उपाध्यायलाई १ सय ५ मतले हराएका हुन् । बागलुङमा १ हजार ६ सय ४९ खसेको थियो । यसअघि जगदीशचन्द्र उपाध्यायले ७ सय ९०, जित शेरचनले ६ सय ८६ र अर्का उमेदवार द्रोण कुँवरले १ सय ६४ मत पाएका थिए । खसेको मतको ५१ प्रतिशत नपुगेपछि पुन: मतदान भएको थियो ।

पदाधिकारीमा उपसभापतितर्फ शेरचन प्यानलका सागर छन्त्याल र उपाध्यायका तारानाथ पौडेल विजयी भए । सचिवमा उपाध्याय प्यानलका हरिहर शर्मा र शेरचन समूहकी गण्डकी थापा अधिकारी, तथा सहसचिवमा शेरचन प्यानलकै फमबहादुर खत्री र उपाध्याय प्यानलका ज्ञानकुमारी श्रीष विजयी भए । विजयी सभापति शेरचन ताहाचल क्याम्पसका पूर्व स्ववियू सभापति हुन् भने उपाध्याय कांग्रेसका पूर्व उपसभापति र गत अधिवेशनमा निर्वतमान सभापति दिपेन्द्रबहादुर थापासँग पराजित भएका थिए ।

सदस्य पदमा भने दुवै समूहका सदस्य विजयी भए । उपाध्याय रामचन्द्र पौडेल पक्षका हुन् भने शेरचन कृष्ण सिटौला समूहका हुन् । उनलाई देउवा समूहको पनि समर्थन थियो । यसअघि भएका क्षेत्रीय अधिवेशनमा भने क्षेत्र नं १ मा पौडेल र क्षेत्र नं २ मा संस्थापनका पदाधिकारीहरु विजयी भएका छन् । प्रदेश क्षेत्रतर्फ भने बागलुङ क्षेत्र नं १ को ‘क’ मा देउवा र अन्य तीनवटा क्षेत्रमा पौडेल समूहका सभापति र पदाधिकारी विजयी भएका थिए । महाधिवेशन प्रतिनिधितर्फ जिल्लाबाट निर्वाचित ५० जनामध्ये ३२ जना पौडेल समूहका विजयी भएका छन् भने बाँकी देउवा सिटौला समूहका विजयी भएका छन् ।


प्रकाशित : मंसिर १४, २०७८ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?