ओलीले घाेषणा गरे पदाधिकारी: इश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष, शंकर पोखरेल महासचिव

रावल र भुसाल बाहिरिए

मंसिर १३, २०७८

मणि दाहाल, बबिता शर्मा

चितवन — एमालेको १० औं महाधिवेशनको बन्दसत्रमा  सर्वसम्मतिका लागि भन्दै वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव  गरिएको छ । 

 पार्टीभित्र भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरूको विरोधकाबीच अध्यक्ष ओलीले दिनभरको होमवर्कपछि प्रस्ताव ल्याएका हुन् ।  इश्वर पोखरेल एमालेको दुई कार्यकाल महासचिव भएका थिए । 

शंकर पोखरेल यसअघिको महाधिवेशनमा उपमहासचिवमा हारेका थिए । एमाले सचिव भइसकेका छन् । उनी लुम्बनी प्रदेशका पूर्व मुख्यमन्त्री पनि हुन् । 

प्रस्ताव अनुसार ६ जना उपाध्यक्षमा  युवराज ज्ञवाली अष्टलक्ष्मी शाक्य सुरेन्द्र पाण्डे रामबहादुर थापा विष्णु पौडेल र  सुवास नेम्वाङ छन् । त्यस्तै  ३ जना उपमहासचिवमा प्रदीप ज्ञवाली,पृथ्वीसुब्बा गुरुङ रविष्णु रिमाल लाई प्रस्ताव गरिएको छ । सात जना सचिवमा टोपबहादुर रायमाझी,छवीलाल विश्वकर्मा,लेखराज भट्ट, रघुविर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छन् ।  सहमतिका लागि ल्याएको प्रस्तावमा पूर्व माओवादी पक्षका रामबाहादुर थापा उपाध्यक्ष सहित टोपबहादुर र लेखराज  गरी ३ जना परेका छन् ।  वरिष्ठ उपाध्यक्षमा सुवास चन्द्र नेम्बाङ र इश्वर पोखरेल र महासचिवमा  विष्णु पौडेल र शंकर पोखरेल मध्ये कसलाई बनाउने भन्नेबारे  गलफत्ति परेको थियो । दुबै जना ओलीका विश्वास पात्र भएकाले उनीहरू मध्ये  पाैडेल उपाध्यक्षमा र पोखरेल महासचिवमा बस्न तयार भएका हुन् । 

एमाले महाधिवेशनएमाले

मणि दाहाल विगत डेढ दशकदेखि पत्रकारितामा क्रियासिल छन् । उनी हाल इकान्तिपुरसँग आवद्ध रहेका छन्।

बबिता शर्मा कान्तिपुर दैनिकमा राजनीतिक ब्यूरोमा कार्यरत छिन् ।

Link copied successfully