काठमाडौँ — नेकपा (एमाले) को १०औं महाधिवेशनको बन्द सत्र राति ८ बजेदेखि सुरु हुने भएको छ । आइतबार बिहान १० बजेदेखि दोस्रो दिनको बन्दसत्रको कार्यक्रम तय भएकोमा नेतृत्वका लागि सहमति जुट्न नसक्दा साढे ९ घण्टापछि सुरु हुन लागेको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले राति ८ बजेदेखि बन्द सत्र सुरु हुने जानकारी दिए । यसअघि ७ बजे बन्दसत्र सुरु हुने पनि बताइएको थियो ।
महाधिवेशनको बन्दसत्रको दोस्रो दिनको कार्यक्रम साँझको खानपछि सुरु हुने जानकारी प्राप्त भएको प्रतिनिधि तथा नेताहरूले बताएका छन् । अध्यक्ष केपी शर्मा ओली भने पार्टीभित्र सहमति जुटाउनका लागि निरन्तर छलफलमा छन् । आइतबार दिउँसो एमालेका ४ नेताले पदाधिकारीसहित केन्द्रीय कमिटीका लागि ३०१ जनाको सूची तयार गरी अध्यक्ष ओलीलाई बुझाएका थिए ।
अध्यक्ष ओलीले प्रस्तावित नामको सूची तयार गर्न नेताहरू विष्णु पौडेल, शंकर पोखरल, प्रदीप ज्ञवालीलगायतलाई जिम्मा दिएका थिए । उक्त सूचीलाई ओलीसँग छलफल गरी अन्तिम रुपमा दिइने र बन्द सत्रमा पेस गर्ने तयारी छ ।
