२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

कांग्रेस महाधिवेशन : एकै दिन ३ हजार प्रतिनिधि छानिँदै

कलेन्द्र सेजुवाल

काठमाडौँ — कांग्रेसको नयाँ नेतृत्व छनोटमा प्रत्यक्ष सहभागी हुने महाधिवेशन प्रतिनिधिको ठूलो संख्या सोमबार चुनिँदै छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सोमबार करिब १ सय १५ निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै छ, जहाँबाट झन्डै ३ हजार महाधिवेशन प्रतिनिधि छानिनेछन् । 

कांग्रेस महाधिवेशन : एकै दिन ३ हजार प्रतिनिधि छानिँदै

एउटा निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ देखि २७ जनासम्म महाधिवेशन प्रतिनिधि चुनिन्छन् । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले अल्पसंख्यक र अपांगता भएकालाई पनि समावेशी कोटामा समेट्ने निर्णय भएकाले निर्वाचन क्षेत्रपिच्छे संख्या तलमाथि हुने बताए । उनका अनुसार सोमबार प्रदेश १ का २८ मध्ये २६ क्षेत्रमा निर्वाचन हुँदै छ । एक–एक क्षेत्र भएका ताप्लेजुङ र संखुवासभामा दसैंअघि अधिवेशन भइसकेको छ । वाग्मतीका ३३ मध्ये २८ क्षेत्रमा निर्वाचन हुँदै छ ।

दोलखामा र रामेछापमा यसअघि निर्वाचन भइसकेको छ भने एक निर्वाचन क्षेत्र भएको रसुवा र दुई निर्वाचन क्षेत्र भएको सिन्धुपाल्चोकमा पालिका र प्रदेशसभा अधिवेशनको प्रक्रिया चलिरहेको छ । गण्डकीका १८ मध्ये १४ क्षेत्रमा अधिवेशन हुँदै छ । एक–एक निर्वाचन क्षेत्र भएको मनाङ, मुस्ताङ र दुई निर्वाचन क्षेत्र भएको गोरखामा दसैंअघि निर्वाचन भइसकेको छ । लुम्बिनीका २५ निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि छनोट हुँदै छ । त्यहाँको रुकुमपूर्वमा दसैंअघि निर्वाचन भइसकेको छ । सबैभन्दा कम निर्वाचन क्षेत्र भएको कर्णालीका १२ मध्ये ८ निर्वाचन क्षेत्रमा सोमबार निर्वाचन हुँदै छ । एक–एक क्षेत्र भएको हुम्ला, मुगु, कालीकोटमा दसैंअघि र जुम्लामा आइतबार अधिवेशन भएको छ । सुदूरपश्चिमका १६ मध्ये १४ क्षेत्रमा अधिवेशन हुँदै छ ।

एक–एक निर्वाचन क्षेत्र भएको बझाङ र बाजुराबाट दसैंअघि महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन् । ३२ क्षेत्र भएको प्रदेश २ मा भने सोमबार क्षेत्रीय अधिवेशन नहुने भएको छ । त्यहाँ वडा, पालिका र प्रदेश तहको अधिवेशन चलिरहेको छ । ‘हामीले बाँकी रहेका सबै क्षेत्रको अधिवेशन एकै दिन गर्ने तालिका बनाएको भए पनि त्यो सम्भव भएन,’ निर्वाचन समितिका सचिव श्रेष्ठले भने, ‘सोमबार हुने क्षेत्रीय अधिवेशनबाट करिब ७० प्रतिशत महाधिवेशन प्रतिनिधि छानिनेछन् ।’ दसैंअघि १३ हिमाली जिल्लाका १४ निर्वाचन क्षेत्रबाट ३ सय ६२ महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला सभापतिको उम्मेदवार बन्न समेत महाधिवेशन प्रतिनिधि चुनिनुपर्ने प्रावधान छ । त्यसैले जिल्लादेखि केन्द्रसम्म आफ्नो पकड बनाउन केन्द्रीय नेताहरूले क्षेत्रीय अधिवेशनलाई महत्त्व दिने गरेका छन् । क्षेत्रीय महाधिवेशनका लागि अधिकांश नेता गृहजिल्ला गइसकेका छन् । ‘क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको संख्याले कुन नेता वा समूहको अवस्था के हुने भन्ने स्पष्ट संकेत गर्ने गर्छ,’ कांग्रेस नेता एवं तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले भने, ‘त्यसैले नेताहरू स्वाभाविक रूपमा आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् ।’

प्रदेश अधिवेशनमा प्रदेशसभा र प्रतिनिधिसभाका क्षेत्रीय प्रतिनिधि सहभागी हुन पाउने प्रावधान छ । सोमबारसम्म प्रदेश २ बाहेक अधिकांश जिल्लामा प्रदेशसभा अधिवेशन भइसकेको छ । निर्वाचन समितिका सचिव श्रेष्ठले करिब एक साताभित्र सबै महाधिवेशन प्रतिनिधिको टुंगो लागिसक्ने जानकारी दिए । कांग्रेसको १४ औं महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । तीमध्ये सबैभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट करिब ४ हजार २ सय ९० जना आउनेछन् । विदेशस्थित जनसम्पर्क समितिबाट करिब १ सय ५० जना, केन्द्रीय कार्य समितिबाट १ सय ३ जना र शुभेच्छुक संघ तथा भ्रातृ संस्थाबाट १ सय २७ जना प्रतिनिधि सहभागी हुनेछन् ।

प्रकाशित : मंसिर ६, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?