कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस महाधिवेशन प्रतिनिधिमा रिनाशाको उम्मेदवारी

विप्लव भट्टराई

इलाम — फिल्मी क्षेत्रमा व्यस्त रिनाशा बान्तवा केही दिनदेखि गृहजिल्ला इलाममा छिन् । चलचित्र छायांकन या पेशागत व्यस्तताले उनी राजाधानी बाहर पुगेकी हैनन् ।

कांग्रेस महाधिवेशन प्रतिनिधिमा रिनाशाको उम्मेदवारी

शनिबार साँझ उनी इलाम चोक बजार छेउको सिटीमार्ट पार्कमा देखिँदा फ्यानहरूले सेल्फी खिच्नसम्म भ्याए । धेरैले उनलाई देख्नासाथ फिल्म सुटिङको लागि आएको हुनसक्ने आकलन गरे ।

जब उनी इलामका सञ्चारकर्मीमाझ पुगिन् बल्ल उनको इलाम आगमनको रहस्य खुल्यो । सयौं गीतकी कोरियाग्राफ तथा ‘इन्टुमिन्टु लन्डनमा’ निर्देशक रिनाशाको इलाम आगमन राजनीतिक मिसन थियो ।

चर्चित कोरियोग्राफर तथा चलचित्र निर्देशक रिनाशाको घर इलामको चुलाचुली गाउँपालिका ४ आइतबारे हो । १५ वर्षदेखि निरन्तर कलाकारिता क्षेत्रमा क्रियाशील उनी आफ्नो क्षेत्रमा स्थापित छिन् ।

सेलीब्रिटीहरू राजनीतिमा प्रवेश गर्ने र हराउने लुकामारीबीच रिनाशाको राजनीतिक डेब्यू देखिएको छ । ‘गाउँ समाजको परिवेश र समाजसेवा गर्ने ध्येयले मलाई राजनीतिमा सक्रिय बन्न प्रेरित गर्‍यो,’ उनले भनिन्, ‘नाम कमाउन कार्यरत क्षेत्र नै काफी छ तर मेरो गाउँ र जिल्लालाई म केही गर्न सक्छु भन्ने उद्देश्यले राजनीतिमा लागेकी हुँ ।’

पुस्तौनी कांग्रेस परिवारकी रिनाशाले राजनीतिक यात्राका लागि त्यही बाटो पहिल्याएको बताइन् । १३ वर्षअघि बिएस्सी नर्सिङको अध्ययन गर्दागर्दै उनी कलाकारितामा लागेकी थिइन् । ‘पढाइ एकातिर आफ्नो इच्छा र चाहना फरक । मैले रोजेको क्षेत्रमा सोचेभन्दा धेरै सफलता हासिल गरेको ठान्छु । अब मलाई राजनीतिमार्फत् सामाजिक रुपान्तरणको अभियान चलाउनु छ ।’

कांग्रेस कार्यकर्ता नरेन्द्र कुमार वान्तवाकी छोरी रिनाशाले चुलाचुलीबाट धाएरै झापा दमकको विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेकी हुन् ।

'आइएम ट्वान्टीवान' चलचित्र निर्देशन गर्दै गरेकी रिनाशा यसपटक नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी भएकी छन् । उनले महाधिवेशन प्रतिनिधिका लागि इलाम क्षेत्र नं. २ बाट उम्मेदवारीसमेत दिएकी छन् ।

तर कलाकारिता छाडेर पूर्णकालीन राजनीतिमा प्रवेश गरेको हो वा महाधिवेशनमा प्रतिनिधि बन्नकै लागि उम्मेदवारी दिएको भन्नेबारे रिनाशाले केही खुलाएकी छैनन् । यद्यपि यसअघि ठूलो संख्यामा कलाकारहरू राजनीतिक दलमा प्रवेश गर्दा रिनाशा भने खासै खुलेकी थिइनन् ।

प्रकाशित : मंसिर ५, २०७८ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?