७० वर्ष पूरा भएपछि पनि ओलीलाई पूर्ण कार्यकाल अध्यक्ष हुने बाटो खुल्यो

एउटै व्यक्ति उही तहको कार्यकारी पदमा दुई पटकभन्दा बढी उम्मेदवार बन्न नपाउने

आश्विन १७, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेले ७० वर्षमा कोही उम्मेदवार भएर जितेमा पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधानमा गरेको छ । ७० वर्षको उमेर हदबारे व्याख्या गर्दै संगठन विभाग प्रमुख विष्णु पौडेलले कुनै पनि व्यक्ति पार्टीको कमिटीमा ७० वर्ष पूरा नहुँदै निर्वाचित भएर कार्यकालको बीचमै ७० वर्ष पूरा भएपनि पूर्ण कार्यकाल काम गर्न पाउने बताए ।

यो व्याख्याले आगामी दशौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भए पूर्ण कार्यकाल अध्यक्ष पदमा रहेर काम गर्न पाउनेछन् । 'कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउनेछ । कार्यकालको बीचमै ७० वर्ष पुगेपनि पूरा कार्यकाल काम गर्ने पाउने व्यवस्था हुनेछ,' उनले थपे, '७० वर्ष छोएपछि हो कि ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने भन्ने कुरा यसले टुंगो लाग्यो । कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा पनि कार्यकालको जिम्मेवारी पूरा गर्न पाउने व्यवस्था हो ।'

त्यस्तै, एउटै व्यक्ति उही तहको कार्यकारी पदमा दुई पटकभन्दा बढी उम्मेदवार बन्न नपाउने व्यवस्था पनि विधान महाधिवेशनले पारित गरेको छ । 'प्रतिनिधिले जिताउँछन् कि हराउँछन् उसको कुरा भयो तर दई पटक मात्रै उम्मेदवार बन्न सक्ने व्यवस्था हो,' पौडेलले भने, 'यसमा कुनै इफ बट हुँदैन ।'

कान्तिपुर

Link copied successfully