एमाले विधान महाधिवेशन तयारी तीव्र, प्रतिनिधिलाई सातदोबाटोबाटै ‘पिक अप’को व्यवस्था 

महाधिवेशन समय बिहान ११ देखि ५ बजेसम्म  

आश्विन १२, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेले आगामी शुक्रबारबाट सुरु हुने पहिलो विधान महाधिवेशनको तयारी तीव्र पारेको छ । असोज १५ देखि १७ सम्म हुने महाधिवेशनमा लागि ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा आवश्यक प्रबन्ध सुरु गरिएको एमालेले जनाएको छ ।

सम्मेलनको केन्द्रमा मुख्य हल ३ हजार सीट क्षमता भए पनि सो स्थानमा ५ हजार प्रतिनिधि बस्ने व्यवस्था गरिएको महाधिवेशन आयोजक कमिटीका मिडिया संयोजक खिमलाल भट्टराईले  जानकारी दिए । 

‘नवनिर्मित भवनको मुख्य हलमा तीन हजार सीट छन् । साइडका २ वटा प्यासेजमा पर्याप्त ठाउँ रहेको छ । त्यहीँ थप २ हजार प्रतिनिधिलाई व्यवस्था गरेका छौं’ भट्टराईले भने, ’हलमा काम तीव्र गतिमा अघि बढेको छ ।’ 

गत वैशाखमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन केन्द्रको उद्घाटन गरेका थिए । सो हलमा पहिलो पटक ठूलो सम्मेलनमा आयोजना गर्न लागिएको हो । देशभरबाट करिब ५७ सय प्रतिनिधिहरूको सहभागीता रहने एमालेले जनाएको छ । 

जसमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य, केन्द्रीय निकाय, विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रको प्रतिनिधि, संघीय र प्रदेशका सांसद, पालिकाका प्रमुख तथा उपप्रमुखहरू र केन्द्रले मनोनीत गर्ने १० प्रतिशत प्रतिनिधिको सहभागिता रहनेछ । 

भट्टराईकाअनुसार कोरोना संक्रमण रहेकाले स्वास्थ्य मापदण्डलाई कडाईकासाथ लागू गरिनेछ । ‘प्रतिनिधिहरूलाई स्यानिटाइजर र मास्क अनिवार्य गरिएको छ’ भट्टराईले भने, ‘महाधिवेशनमा आउने प्रतिनिधिहरूको स्वास्थ्यलाई ध्यान दिइनेछ ।’ स्वास्थ्यको संयोजन सुजिता शाक्यले गरिरहेकी छन् । 

एमालेले स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा महाधिवेशनमा व्यवस्थापन कमिटी गठन गरेको छ । जसमा कृष्णगोपाल श्रेष्ठ, सुशीला नेपाल, पासाङ शेर्पा, खिमलाल भट्टराई, विनोद श्रेष्ठ, सुजिता शाक्य रहेका छन् । कमिटीका सचिवमा शेरबहादुर तामाङ तोकिएका छन् । जसमा भट्टराईले सञ्चार, शेर्पाले खाद्य, कृष्णगोपालले यातायात र विनोद श्रेष्ठले हल व्यवस्थापन र सुशील नेपालले स्थानीय व्यवस्थापनको जिम्मेवारी पाएका छन् । 

सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि एमालेले ललितपुरको सातदोबाटोबाट महाधिवेशन स्थलसम्म पुर्‍याउन मोटरको व्यवस्था गरेको छ । 

‘प्रतिनिधिहरूलाई सातदोबाटोबाट महाधिवेशनस्थलसम्म पार्टीले पुर्‍याउने गरेका छौं,’ भट्टराईले भने, ‘अन्यको मोटरलाई भने सातदोबाटोमै राख्ने व्यवस्था गरेका छौं ।’

एमालेले कार्यक्रम भने बिहान ११ बजेबाट दिउँसो ५ बजेसम्म मात्रै चलाउने गरी व्यवस्था गरेको भट्टराईले बताए । ‘बिहानका ९ देखि ११ बजेसम्म सबै प्रतिनिधिहरूलाई खाना खाइसक्ने गरी व्यवस्था गरेका छौं । त्यसपछि सम्मेलन सुरु हुन्छ । दिउँसो खाजाका लागि एक घण्टाको ब्रेकको व्यवस्था गरेका छौ’ भट्टराईले भने, ‘साँझ ५ बजे सम्मेलन सकिने छ । निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाएका छौं ।’ 

क्याटरिङका लागि एमालेले विभिन्न कम्पनीसँग टेण्डर आह्वान गरेको छ । ‘अहिलेसम्म कसलाई दिने भने छानिसकेका छैनौ,’ भट्टराईले भने, ‘हामीले प्रतिनिधिहरूको स्वास्थ्य अवस्थालाई ख्यालमा राख्दै खानाको व्यवस्था हुन्छ ।’ 

अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रममा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव तथा विधान संशोधन प्रस्तुत हुनेछ । जसले आगामी ५ वर्षसम्म एमालेले अख्तियार गर्ने नीतिहरूको तर्जुमा गर्नेछ ।

एमाले विधान महाधिवेशनएमाले

कान्तिपुर

Link copied successfully