कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कांग्रेसमा हरेक वडाबाट समावेशी समूहको सहभागिता अनिवार्य

काठमाडौँ — कांग्रेसले छ हजार सात सय ४३ वटै वडाबाट समावेशी समूहको प्रतिनिधित्व अनिवार्य गरेको छ । निर्वाचन निर्देशिकामा संविधान र पार्टीको विधानको भावनाविपरीत कतिपय वडा र जिल्लाबाट समावेशी समूहको सहभागिता शून्य बनेको भन्दै विभिन्न भातृ संस्था र नेताहरुले विरोध गरेपछि कांग्रेसले निर्देशिकामा संशोधन गरेको हो ।

कांग्रेसमा हरेक वडाबाट समावेशी समूहको सहभागिता अनिवार्य

बिहीबार साँझ बालुवाटारमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरु प्रकाशसरण महत, मिनेन्द्र रिजाल, जीवन परियार लगायतको सहभागितामा भएको छलफलले हरेक वडाबाट समावेशी समूहतर्फ कम्तिमा एक जनाको सहभागिता अनिवार्य गर्ने गरी निर्देशिकामा संशोधन गरेको छ ।

अब छ हजार सात सय ४३ वटै वडाबाट सम्बन्धित समावेशी समूहका क्रियाशील सदस्य भएको अवस्थामा कम्तिमा एक जना क्षेत्रीय प्रतिनिधि र कार्यसमितिमा एक जनाको प्रतिनिधित्व अनिवार्य हुनेछ । कांग्रेसको विधानले महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपांगता भएका व्यक्तिलाई समावेशी समूहमा राखेको छ ।

विधानले जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको आधारमा निर्वाचन समितिले निर्देशिकामा जनसंख्यालाई आधार मानेर क्षेत्रीय प्रतिनिधि र कार्यसमिति चयन हुने व्यवस्था गरेको थियो । तर, त्यसरी गर्दा कतिपय वडा र जिल्लामा समावेशी समूहको सहभागिता शून्य बनेपछि नेताहरुले आपसी सहमतिबाट कम्तिमा हरेक समावेशी समूहबाट एक जनाको प्रतिनिधित्वलाई सुनिश्चित गरेका हुन् ।

‘निर्देशिकाको अरु व्यवस्था हुबहु कार्यान्वयन हुन्छ । जहाँ जनसंख्याको आधारमा समावेशी समूहको सहभागिता नपर्ने अवस्था थियो, त्यस्तो ठाउँमा पनि कम्तिमा एक जनाको प्रतिनिधित्वलाई अहिले हामीले अनिवार्य गरेका छौँ,’ केन्द्रीय सदस्य जीवन परियारले भने ।

निर्देशिकामा समावेशी समूहको प्रतिनिधित्व कटौती भएको र सच्याउन माग गर्दै सम्बन्धित भातृ संस्था र नेताहरु विरोध र धर्नामा उत्रिएका थिए । नेताहरुले सभापति देउवालाई भेटेर ध्यानाकर्षणसमेत गराएका थिए । नेपाल दलित संघका केन्द्रीय अध्यक्ष तथा केन्द्रीय सदस्य मीन विश्वकर्माले त्यही विषय संशोधनको माग गर्दै पदबाट राजीनामासमेत दिएका थिए ।

प्रकाशित : भाद्र १७, २०७८ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?