कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३
कांग्रेस महाधिवेशन

असन्तुष्ट सभापतिहरूको अनशन स्थगित

कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसको क्रियाशील सदस्यता विवाद हटेपछि स्थानीय तहका अधिवेशन भदौ १८ देखि हुने निश्चित भएको छ । सदस्यतासम्बन्धी आशंकालाई लिएर चार दिनदेखि रिले अनशनमा रहेका संस्थापनबाहेकका जिल्ला सभापतिहरूले शनिबार रातिबाटै आन्दोलन अन्त्य गरेपछि महाधिवेशनको अन्योल हटेको हो ।

असन्तुष्ट सभापतिहरूको अनशन स्थगित

आइतबारदेखि नै अधिवेशनको तयारीका लागि जिल्ला पुग्ने उनीहरूले जनाएका छन् । पार्टीको क्रियाशील सदस्यता सार्वजनिक हुनुपर्ने र जिल्ला सभापतिको उम्मेदवारका लागि एउटै मापदण्ड लागू गर्नुपर्ने माग राखेर जिल्ला सभापतिहरू अनशनमा बसेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको शीर्ष तहको बैठकले सदस्यता र जिल्ला सभापतिले उठाएको विषयलाई सम्बोधन गरेपछि महाधिवेशन नहुने सबै आशंकाहरू हटेका छन् । ‘जिल्ला सभापतिहरूले उठाउनुभएका चासो र मागलाई सम्बोधन गर्ने गरी समझदारी भएको छ । यसले अब महाधिवेशन हुने निश्चित बनाएको छ,’ पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘संवैधानिक समयसीमाभित्रै अब महाधिवेशनको प्रक्रिया सुरु हुन्छ ।’ कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पनि भदौ १८ को वडा अधिवेशनबाट केन्द्रीय महाधिवेशनको प्रक्रिया सुरु हुने निश्चित भएको बताए । ‘अब कुनै बहानामा महाधिवेशन रोकिने अवस्था आउँदैन, आउने कुनै कारण पनि छैन,’ उनले भने ।

कांग्रेसले यसअघि संवैधानिक समयसीमाभित्र वडा अधिवेशन सुरु गरेर केन्द्रीय महाधिवेशन मंसिर ९–१३ मा गर्ने कार्यतालिका ल्याएको थियो । संविधानले साढे पाँच बर्षभित्र पार्टीको केन्द्रीय पदाधिकारी र सदस्यहरूको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । कोरोना महामारी र क्रियाशील सदस्यता विवादले साढे पाँच वर्षभित्रै केन्द्रीय पदाधिकारीको चयन गर्न नसकेपछि समयसीमाभित्र प्रक्रिया भने सुरु हुने निश्चित भएको छ । समायोजनसँग सम्बन्धित सदस्यता विवाद मिलाउन बनेको तीन सदस्यीय समितिका संयोजक कृष्णप्रसाद सिटौलाले बाँकी रहेका सानातिना समस्या सोमबारसम्म टुंगो लगाएर ७७ जिल्लाकै क्रियाशील सदस्यताको सूची सार्वजनिक हुने बताए । शनिबारसम्म ५३ जिल्लाको सदस्यता सार्वजनिक भइसकेको छ । ‘सिद्धान्तः सबै मिलिसकेको छ । त्यसलाई कार्यान्वयनमा लैजान दुई दिन लाग्न सक्छ,’ सिटौलाले भने, ‘मुख्य अविश्वास हटिसकेको छ ।’

वडाले क्षेत्रीय प्रतिनिधि चयन गर्ने र तीनै क्षेत्रीय प्रतिनिधिले केन्द्रीय महाधिवेशनका मतदाता (महाधिवेशन प्रतिनिधि) चयन गर्ने भएकाले भदौ १८ देखि सुरु हुने स्थानीय तहका अधिवेशनप्रति केन्द्रीय नेताहरूकै चासो बढेको छ । संघीय निर्वाचन क्षेत्रको अधिवेशनले केन्द्रीय महाधिवेशनका लागि ४ हजार १ सय २५ सदस्य निर्वाचित गर्छ । पदेन, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आउनेसमेत गर्दा करिव ४५ सय केन्द्रीय महाधिवेशनका मतदाता हुन्छन् ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले शनिबारसम्म ४८ जिल्लामा मतदाता अधिकृत खटाएको बताए । ‘समयभित्रै मतदाता (क्रियाशील सदस्यता सूची) र मतदान अधिकृत जिल्लामा पुग्न सकेको ठाउँमा त्यही दिनमा हुन्छ । पुग्न नसके, बाढीपहिरोले रोकिनुपर्ने अवस्था आए अर्को दिन हुन्छ,’ यादवले भने । भदौ १४ सम्म ७७ जिल्लाकै क्रियाशील सदस्यता सार्वजनिक गर्ने कार्यक्रम छ । गाउँ/नगरको अधिवेशन भदौ २७, प्रदेश क्षेत्रको असोज १ र संघीय निर्वाचन क्षेत्रको असोज ५ मा हुने तालिका छ । एक मात्रै संघीय निर्वाचन क्षेत्र रहेको जिल्लाको अधिवेशन पनि असोज ५ मै हुनेछ ।

प्रकाशित : भाद्र १३, २०७८ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?