कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसका जिल्ला सभापतिहरूले अनशन तोडे

काठमाडौँ — चार दिनदेखि रिले अनशनमा रहेका कांग्रेसका जिल्ला सभापतिहरूले अनशन तोडेका छन् । शनिबार साँझ बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले जिल्ला सभापतिहरूको माग सम्बोधन गर्ने निर्णय गरेको थियो ।

कांग्रेसका जिल्ला सभापतिहरूले अनशन तोडे

त्यहीअनुसार कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलका नेताहरूले सानेपास्थित केन्द्रीय कार्यालयमा पुगेर माग सम्बोधन गर्ने सहमतिपछि जिल्ला सभापतिहरूले अनशन तोडेका हुन् । कार्यदलमा मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य छन् ।

संस्थापन पक्षले मनोमानी ढंगले सदस्यता थप गरेको भन्दै नामावली सार्वजनिक गरेर त्यसमा थपघट गर्ने मौका दिनुपर्नेसहित तीन बुँदे माग राखेर पौडेल समूहका जिल्ला सभापतिहरू चार दिनदेखि रिले अनशनमा थिए ।

शनिबार अपरान्हबाट उदयपुरका सभापति विदुर बस्नेत, संखुवासभाका दिपनकुमार श्रेष्ठ र काठमाडौंका कृष्ण (सबुज) बानियाँ अनशनमा बसेका थिए । कार्यदलसँग सहमतिपछि अनशन तोडिएको काठमाडौंका सभापति बानियाँले जानकारी दिए ।

यसअघि शुक्रबार रोल्पाका सभापति अमरसिंह पुन, सिन्धुपाल्चोकका विकास लामा र सोलुखुम्बुका विनोद बस्नेत अनशन बसेका थिए । त्यसअघि सुर्खेतका सभापति कमलराज रेग्मी, डोल्पा सभापति अंगद बुढा, तनहुँका सभापति बैकुण्ठ न्यौपाने, नुवाकोट सभापति जगदिश्वरनरसिंह केसी, काभ्रे सभापति मधु आचार्य र धादिङ सभापति रमेश धमलाले २४ घण्टे अनशन पूरा गरेका थिए ।

केन्द्रीय सदस्य रमेश लेखकले जिल्ला सभापतिहरुसँग सहमतिपछि अनशन तोडिएको जानकारी दिए । ‘उहाँहरुले विभिन्न माग राख्नुभएको थियो । त्यसमध्ये क्रियाशील सदस्यको नामावली सार्वजनिक हुने कुरा अघि बढिसकेको छ । अहिलेसम्म ५३ जिल्लाका सदस्यको नामावली नै सार्वजनिक भइसक्यो । अरु पनि सार्वजनिक हुन्छ,’ लेखकले भने, ‘त्यसबाहेक अन्य मागहरु सम्बोधनको कुरा पनि सकारात्मकरुपमा अघि बढेको छ ।’

प्रकाशित : भाद्र १२, २०७८ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?