३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कांग्रेस महाधिवेशनलाई कोरोनाले छेक्दैन ?

जनताको जिउधनको रक्षामा जोड दिनुपर्ने बेला पाँचौपटक प्रधानमन्त्री भएपछि देउवाले कोरोनाविरुद्धको खोपलाई सरकारको प्राथमिकतामा राख्नेबाहेक नियन्त्रण, रोकथाम र उपचारका लागि न कुनै ठोस् योजना ल्याएका छन्, न जनतालाई आश्वास्त पार्ने कार्यक्रम नै ।
प्रकाश धौलाकोटी

काठमाडौँ — ‘कोरोनाको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरु हुने लक्षण देखिन थालेका छन् । सरकारको एक्लो प्रयासले मात्रै कोरोना महामारी नियन्त्रण सम्भव छैन । त्यसैले अत्यन्त आवश्यक परेको बेलामा मात्रै बाहिर निस्कऔं । मास्क अनिवार्य लगाऔं । भीडभाड हुने कार्यक्रम नगरौं ।’ प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले दुई साताअघि नै भिडियो सन्देशमार्फत गरेको सार्वजनिक अनुरोध हो यो ।

कांग्रेस महाधिवेशनलाई कोरोनाले छेक्दैन ?

भिडियोमा देउवाले सबै राजनीतिक दल, निजी क्षेत्र, गैरसरकारी संघसंस्थाहरुलाई पनि भीडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु अपनाएर मात्र आफ्नो पेशा व्यवसाय र गतिविधि गर्न अपिल गरेका थिए । तर, त्यसको एक साता नबित्दै उनको पार्टी नेपाली कांग्रेसले महामारीकै बीच अधिवेशन गर्ने र एकैदिन ९ लाख नेता–कार्यकर्तालाई फिल्डमा उतार्ने योजना बनाएको छ ।

जनताको जिउधनको रक्षामा जोड दिनुपर्ने बेला पाँचौपटक प्रधानमन्त्री भएपछि देउवाले कोरोनाविरुद्धको खोपलाई सरकारको प्राथमिकतामा राख्नेबाहेक नियन्त्रण, रोकथाम र उपचारका लागि न कुनै ठोस् योजना ल्याएका छन्, न जनतालाई आश्वास्त पार्ने कार्यक्रम नै । तर, ‘भीडभाड नगरौं’ भनेर सार्वजनिक अनुरोध गर्ने देउवा आफैँले हजारौँको भीड गरेर वडा अधिवेशन गर्ने निर्णय किन गरे त ?

देउवानिकट एक केन्द्रीय सदस्यका अनुसार यसका दुई कारण छन् । एउटा– भदौ २३ भित्रै महाधिवेशन गर्नैपर्ने कांग्रेसको बाध्यता र अर्को– अहिले पनि महाधिवेशनको प्रक्रिया अघि नबढाए पार्टीमा थप अलोकप्रिय भइएला भन्ने डर । त्यहीकारण देउवा अहिले धर्मसंकटमा परेका छन् । उनलाई भदौमै महाधिवेशनको प्रक्रिया सुरु गरेर भएपनि पार्टीको वैधानिकता बचाउनुपर्छ भन्ने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको दबाब छ । अर्कोतिर अधिवेशनका कारण हुने भीडमा कोभिड–१९ को संक्रमण फैलिने जोखिम ।

प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस महाधिवेशनतर्फ अघि बढिसकेको बताए । ‘कोभिड–१९ महामारी कांग्रेसका लागि अवश्य चुनौती हो । हामी अहिलेसम्म कोभिडसमेतकै कारण महाधिवेशन गर्न ढिला भयौं । फेरि संवैधानिक सीमाभित्र हामीले कम्तिमा महाधिवेशन सुरु गर्नैपर्ने अवस्था छ,’ प्रवक्ता शर्माले भने, ‘त्यसैले चुनौतीहरुका बीच स्वास्थय सावधानी अपनाएर महाधिवेशनको प्रक्रिया अघि बढाउँछौं ।’

शर्माले कोभिडको जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहमा क्रियाशील सदस्य मतदाता हुने व्यवस्थालाई खारेज गरिएको बताए । ‘एकैदिन ९ लाख मान्छे जम्मा हुने हो । तर, एकैठाउँमा होइन, ६ हजार ७४३ वडामा हो । त्यसैले कोरोनाको प्रतिकूलताका बीच पनि अधिवेशन गर्नुपर्छ र वैधानिकता बचाउन सकिन्छ भन्ने हाम्रो तयारी हो,’ शर्माले भने ।

कांग्रेसले २०७२ सालको फागुन २० देखि २३ गतेसम्म १३ औं महाधिवेशन गरेको थियो । विधानअनुसार चार वर्षभित्र अर्थात् ०७६ फागुनभित्र १४ औं महाधिवेशन भइसक्नुपर्ने थियो । तर, सभापति देउवाले त्यसबेला सामान्य अवस्थामै विधानको विशेष व्यवस्था उपयोग गरे र एक वर्षे कार्यकाल लम्ब्याए । त्यसपछि ०७७ फागुन ७–१० का लागि महाधिवेशनको कार्यतालिका तोकियो । तर, त्यो मितिमा पनि महाधिवेशन हुन सकेन । त्यो बेला महाधिवेशन नहुनुको कारण क्रियाशील सदस्यता नै थियो । त्यसपछि संविधानको ६ महिना थप गर्न सकिने व्यवस्था उपभोग गर्दै कांग्रेसले ०७८ भदौ ७–१० कालागि महाधिवेशन तोक्यो । तर, त्यो मितिमा पनि सदस्यताकै कारण महाधिवेशन भएन । असार पहिलो साता अर्को मिति तोकियो भदौ १६–१९ का लागि । अन्तत: यो मितिमा पनि सदस्यताकै कारण महाधिवेशन भएन । यसपटक २३ भदौमा महाधिवेशनको प्रक्रिया मात्रै थालेपनि वैधानिकता बचाउन सकिने तर्कसहित नेताहरुले मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएका छन् । यो चौथो कार्यतालिका हो ।

जसअनुसार वडा तहको अधिवेशनका अब पाँच दिनमात्रै बाँकी छ । अहिलेसम्म क्रियाशीलकै कारण महाधिवेशन सार्दै आएपनि यसपटक भने देउवा र पौडेल तोकिएकै मितिमा महाधिवेशनको प्रक्रिया अघि बढाउने विषयमा एकमत देखिएका छन् । महाधिवेशनकै लागि सभापति देउवाले लचकता समेत देखाएका छन् । वरिष्ठ नेता पौडेलसहित शुक्रबार साँझ भएको पदाधिकारी र पूर्वपदाधिकारीको छलफलमा देउवाले पार्टी कार्यालयमा सदस्यताको विषयमा जारी धर्ना र जिल्ला सभापतिको अनशनलाई तोडेर तोकिएकै मितिमा अधिवेशनको प्रक्रिया अघि बढाउन आग्रह गरे ।

त्यही छलफलको सहमतिबमोजिम शनिबार जिल्ला सभापतिको रिले अनसन तोडाउने र दुई दिनभित्र सबै जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेर तोकिएकै मितिमै अधिवेशन गर्ने तयारी अघि बढेको नेता प्रकाशमान सिंहले बताए । ‘अधिवेशनको माहोल बनेको छ । एकैदिन देशैभरि वडा अधिवेशन हुने प्रक्रिया अघि बढेको छ, हामीले पनि अब एकजुट भएर महाधिवेशनको प्रक्रियामा सामेल हुने सबै साथीहरुलाई आग्रह गर्ने निर्णय गरेका छौं,’ शनिबार बिहान उनकै निवासमा बसेको पौडेल समूहको बैठकपछि नेता सिंहले भने ।

देउवाले ४८ जिल्लाको क्रियाशील सदस्यको नामावली निर्वाचन समितिलाई हस्तान्तरण गरिसकेका छन् । समितिले त्यो विवरण कांग्रेसको वेबसाइटमा प्रकाशित समेत गरिसकेको छ । ‘हामीले क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्ने मात्रै होइन, निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण र निर्वाचन सामाग्रीहरुसहित ती जिल्लातर्फ पठाइसकेका छौं, अब कांग्रेस अधिवेशनको बाटोतर्फ अघि बढिसक्यो,’ प्रवक्ता शर्माले भने ।

तर, कांग्रेसकै नेता कार्यकर्तामा भने महाधिवेशन समयमै हुन्छ भन्ने विश्वास जागेको छैन । बरु नेताहरुले कोभिडको यस्तो महामारीका बीच महाधिवेशन गर्नु गलत हुने तर्क गरिरहेका छन् । बढ्दो महामारीकै बीच अधिवेशन गर्दा संक्रमणको जोखिम फैलिने भन्दै कांग्रेसभित्रै नेता–कार्यकर्ताको ज्यान ठूलो कि पार्टी ? भन्ने बहस छ । कार्यतालिका तोक्ने सन्दर्भमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवा स्वयम्ले अहिले महामारी बढ्दो अवस्थामा रहेकाले तत्काल महाधिवेशन गर्न नसकिने भनेका थिए । तर, अन्तिममा त्यही बैठकले तत्कालै महाधिवेशन सुरु गर्ने गरी कार्यतालिका ल्यायो ।

क्रियाशील सदस्यतालाई कारण देखाएर विगतमा पटक–पटक महाधिवेशन सारेका नेताहरु अहिले कोभिड–१९ को महामारीबाट पनि उत्तिकै आतंकित छन् । तर, त्यहीकारण महाधिवेशन सार्ने पं्रस्ताव गर्दा पार्टीभित्र अलोकप्रिय भइएला ? भन्ने त्रास नेताहरुमा देखिएको छ । कोरोनाका कारण ठाउँ–ठाउँमा निषेधाज्ञा र लकडाउननै गरिएको अवस्थामा सरकार आफैँले २५ जनाभन्दा बढी भीड नगर्नू भन्ने आदेश गरेको छ । त्यहीकारण काठमाडौँमा तयारी गरिएको दर्जनौँ कार्यक्रमहरु स्थगित भएका छन् । यस्तो बेला कांग्रेसले अधिवेशन कसरी गर्ला त ? त्यहीकारण नेता कार्यकर्तामाझ महाधिवेशन हुने वा नहुने ? अझै अन्योल छ ।

केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी त यस्तो बेला महाधिवेशन गर्ने निर्णय गर्नु कार्यकर्ताकाप्रतिको अत्यन्तै विवेकहीन र क्रुर निर्णय भएको बताउँछन् । ‘अधिवेशन समयमा गर्नुपर्ने हो । सकेको भए पाँच वर्षमै गरिसक्नुपर्थ्यो । तर वैधानिकता बचाउने नाममा अब अन्तिम समयमा आएर असामान्य परिस्थितिमा जनताको जिउ ज्यानमाथि खेलवाड गर्ने कुरा राम्रो होइन,’ जोशीले भने, ‘हामीले मान्छेलाई मन्दिर जान रोकेका छौं । साँझ पसल बन्द गर्न लगाएका छौं । २० जना मान्छेलाई भेला भएर बस्न दिएका छैनौं । अनि देशैभरि एकैसाथ कसरी भीड उतार्ने ?’

प्रवक्ता शर्मा भने अब कोभिडकै कारण महाधिवेशन प्रभावित नहुने दाबी गर्छन् । ‘देशैभरि कोभिडको समस्या छ । तर, आवश्यक स्वास्थ्य सावधानी अपनाएर अधिवेशन हुन्छ,’ उनले भने, ‘जहाँ–जहाँ निषेधाज्ञा छ, अधिवेशन गर्न सकिने अवस्था नै छैन, त्यस्ता ठाउँमा अर्को मितिमा हुनसक्छ ।’

२३ भदौभित्र पनि महाधिवेशनको प्रक्रिया अघि नबढाए असहज हुने भएकाले नेताहरुले कोभिडको चुनौतीभन्दा महाधिवेशनलाई जोड दिएका छन् । तर, सह–महामन्त्री डा.प्रकाशसरण महत भने वैधानिकताको विषयलाई जबरजस्ती महत्व दिइएको बताउँछन् । ‘हामीले विगतमा नियमित अधिवेशन गर्दै आएका हौँ । अहिले पनि गर्नुपर्छ भन्ने चाहान्छौँ । तर, अहिले नगरे वैधानिकता नै खारेज भइहाल्ने होइन । यो कुरा गलत हो । फेरि त्यो कुरा कांग्रेसका लागि मात्रै लागू हुने होइन । कम्युनिष्ट पार्टीहरुको हकमा पनि लागू हुने हो,’ उनले भने ।

महामारी र वैधानिकता दुवैलाई छल्ने गरी विशेष महाधिवेशन गर्नुपर्ने अर्काथरी नेताहरुको प्रस्ताव छ । पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले अहिले महामारीलाई ध्यानमा राखेर विवेकपूर्ण निर्णय लिनुपर्ने बताए । ‘अहिले महामारी छल्नुपर्ने र पार्टीको वैधानिकता पनि बचाउनुपर्ने बाध्यता छ, त्यसैले विशेष महाधिवेशन उपयुक्त छ, मैले यो परिस्थिति बुझेरै छ महिना पहिले नै विशेष अधिवेशनको प्रस्ताव गरेको हुा,’ उनले भने ।

विज्ञ भन्छन्, ‘परिस्थिति जोखिमपूर्ण छ, तेस्रो लहर फैलिने मौका बन्नसक्छ’

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार शुक्रबारसम्म पाँच सयभन्दा धेरै सक्रिय संक्रमित भएका जिल्लाको संख्या दुई दर्जन हाराहारी छ । यस्तो, बेला ठूला भीड, सभा, सम्मेलन, गोष्ठी र राजनीतिक गतिविधि गर्नु चुनौतीपूर्ण हुने विज्ञहरुको भनाइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालका डा. शेरबहादुर पुनले परिस्थिति जोखिमपूर्ण रहेको र थप भीडभाड गर्दा अर्को संक्रामक भेरियन्ट फैलिन सक्ने बताए । ‘अहिले धेरै जमघट गर्नुहुन्‍न । भीडभाड गर्नुहुन्‍न । संक्रमणको जोखिम हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । यो ओपन सेक्रेट नै हो । तर, हामी अटेरी छौं,’ उनले भने, ‘उहाँहरु सत्तारुढ दल नै हो । त्यसैले केहि महिना पहिले दोस्रो लहरको याद गरे हुन्छ । त्यसबेला नारा जुलुस, भीडभाड र सडक प्रदर्शन भइरहेको थियो । त्यही बीचमा डेल्टा भेरियन्ट फैलियो । जसले छाटो समयमै धेरै नेपालीले ज्यान गुमाउनुपर्‍यो । अहिले गर्ने भीड पनि त्यस्तै मौका बन्नसक्छ ।’ उनले अहिले नयाँ भेरियन्टको प्रवेश वा प्रादुर्भाव हुनसक्ने र त्यो धेरै खतरनाक हुनसक्ने बताए ।

अर्का डा. सन्तोष दुलालले पनि राजनीतिक गतिविधि र भीडभाडका कारण तेस्रो लहरको जोखिम बढ्ने बताए । ‘यो महामारी हो । सकिएको छैन । अहिलेसम्म विश्वभरि २१ करोड मान्छेहरु संक्रमित भएका छन् । ४४ लाख मान्छेहरु मरेका छन् भने योबाट कति संयमित हुने ? भन्ने कुरा आफैंले बुझ्नुपर्ने हो,’ उनले भने, ‘फेरि अहिलेको अवस्था तेस्रो लहर सुरु भएको जस्तो देखिन्छ । थप सतर्क हुनुपर्ने अवस्था छ ।’

प्रकाशित : भाद्र १२, २०७८ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?