कांग्रेस महाधिवेशन : नेताहरू सम्पर्क कार्यालय खोल्दै प्रचारप्रसारमा 

कसको सम्पर्क कार्यालय कहाँ ? 
निधिले भने– 'म कसैलाई रिटायर्ड गर्न सभापतिको उम्मेदवार होइन'

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरूले प्रचारप्रसारका लागि सम्पर्क कार्यालय खोल्ने क्रम बढाएका छन् । नेताहरूले निवासमा लाग्ने भीडलाई व्यवस्थित गर्दै चुनावी प्रचार र सचिवालय सञ्चालन गर्न सम्पर्क कार्यालयहरुलाई सक्रिय बनाएका हुन् । उपसभापति विमलेन्द्र निधिले त शुक्रबार सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणासहित तामझामसहित बानेश्वरमा सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । 

कांग्रेस महाधिवेशन : नेताहरू सम्पर्क कार्यालय खोल्दै प्रचारप्रसारमा 

आसान्न महाधिवेशनमा कांग्रेसको सभापति पदका लागि वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य डशेखर कोइराला, नेता सुजाता कोइराला, केन्द्रीय सदस्य कल्याणकुमार गुरुङ लगायत आकांक्षी छन् ।

देउवाले बालुवाटारस्थित सरकारी निवासलाई नै सम्पर्क कार्यालय बनाएका छन् । बालुवाटारमै उनलाई भेट्नेहरूको लर्को लाग्ने गरेको छ । त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अनामनगरमा सम्पर्क कार्यालय सञ्चालन गरेका छन् । उनको निवास मण्डिखाटारमै पनि नेता कार्यकर्ताको भीड लाग्ने गर्छ ।

नेता कृष्णप्रसाद सिटौलाले पनि चण्डोलस्थित आफ्नै निवासमा पनि भेटघाट गर्छन् । तर, महाधिवेशनको प्रचारप्रसारलाई केन्द्रित गर्दै सिटौलाले पनि बत्तीसपुतलीमा सम्पर्क कार्यालय खोलेका छन् । पौडेलले एक वर्षअघिदेखि नै सम्पर्क कार्यालय सञ्चालन गरेका छन् । सिटौलाले सम्पर्क कार्यालय सञ्चालन गरेको पनि महिनौँ भइसकेको छ ।

सभापतिका अर्का आकांक्षी केन्द्रीय सदस्य शेखर कोइरालाको तयारी उस्तै तामझामसहित छ । उनका अनामनगर र बालुवाटारमा छुट्टा–छुट्टै सम्पर्क कार्यालय छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह र महामन्त्री शशांक कोइरालाले भने निजी निवासमै नेता कार्यकर्तालाई भटघाट गर्ने गरेका छन् । अन्य आकांक्षी नेताहरूले पनि निवासमै भेटघाट गर्छन् ।

उपसभापति निधिले भने शुक्रबार बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय खोलेका हुन् । निधिले केन्द्रीय सदस्यहरू, विभिन्न जिल्लाका सभापति र नेता–कार्यकर्ताको उपस्थितिका बीच सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् । त्यसअघि बिहान नौ बजे निधिले सम्पर्क कार्यालयमै पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोलेश्वरलगायत मन्दिरका पुजारी तथा पण्डितहरूबाट पूजाआजा गराएर आशीर्वाद लिएका थिए । पार्टी विभाजन हुँदादेखि अहिलेसम्म सभापति शेरबहादुर देउवालाई सघाउँदै आएका निधिले आसन्न महाधिवेशनमा देउवा टिममा विद्रोह गर्दै सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले एक वर्षअघि नै सभापति देउवालाई भेटेर आफूलाई टिमबाट सभापतिको उम्मेदवार बनाउन आग्रह गरेका थिए । तर देउवाले पुनः एकपटक आफूलाई सहयोग गर्न आग्रह गरेपछि निधि आफू पनि सभापतिमा उम्मेदवार बन्ने भन्दै अघि बढेका छन् ।

सम्पर्क कार्यालय उद्घाटनमा बोल्दै निधिले १४ औं महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरे । ‘तपाईंहरुले जुन प्रोत्साहन गर्नुभएको छ । समर्थन गर्नुभएको छ । त्यहीबाट यो आँट आएको छ । यसपटकको महाधिवेशनमा म सभापतिको पदमा उम्मेदवारी दिँदैछु । त्यसैको तयारीको क्रममा आज यो कार्यालय सुरुवात गरेको छु,’ निधिले भने ।

निधिको सम्पर्क कार्यालय उद्घाटनमा देउवाको गृहजिल्ला डडेल्धुराका सभापति कर्णबहादुर मल्ल पनि सहभागी भएका छन् । सम्पर्क कार्यालय उद्घाटनमा नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसी, धनुषाका सभापति महेश शंकर गिरी, काभ्रेका सभापति मधु आचार्य, धादिङका सभापति रमेश धमला लगायत सहभागी भएका छन् ।

त्यस्तै, संसदको सार्वजनिक लेखा समितिका सभापति भरत शाह, प्रदेश २ का मन्त्री रामसरोज यादव, नेता ओमप्रकाश शर्मा, पूर्वसांसद महेन्द्र यादव लगायत पनि सहभागी भए । निधिले उम्मेदवारी घोषणा गरेपछि निधि–देउवाबीचको दुरी भने बढ्दो छ । निधि भने देउवा र वरिष्ठ नेता पौडेल टिमबाटै नेता कार्यकर्ता बटुलेर अलग्गै टिम बनाउने दाउमा छन् । निधिकै पहलमा कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरू पूर्वमहामन्त्री प्रकाशमान सिंह र महामन्त्री शशांक कोइरालाले समेत महाधिवेशन लक्षित छलफल गरिरहेका छन् ।

निधिले भने– 'म कसैलाई रिटायर्ड गर्न सभापतिको उम्मेदवार होइन'

उपसभापति निधिले आफूले कसैलाई रिटायर्ड गर्ने गरी सभापतिमा उम्मेदवार बन्न नखोजेको बताएका छन् । ‘म कसैलाई अक्षम घोषित गर्न, कसैलाई पराजित गर्न वा कसैलाई रिटायर्ड गर्न सभापतिको उम्मेदवार हुन खोजेको होइन । म नेपाली कांग्रेसको रुख छापलाई विजयी गराउन उम्मेदवार बन्न लागेको हुँ,’ निधिले भने, ‘म त आगामी आमनिर्वाचनमा रुख छापलाई जिताउन चाहान्छु । म सबै नेपालीलाई रुख छाप हाम्रो हो भन्ने आभास होस् भन्ने चाहान्छु ।’

उनले ‘रुख छाप’ नेपालको सार्वभौमसत्ता र स्वाभिमानको रक्षा गर्ने पार्टी हो भनेर बुझाउनका लागि सभापतिमा उम्मेदवारी दिने तयारी गरेको बताए । निधिले तीन वर्षसम्म सत्तामा रहेको दलले जनतालाई निराशामात्रै दिएको भन्दै अब जनताले कांग्रेसको दूरदर्शी नेतृत्व चाहेको बताए । ‘तीन वर्षसम्म जुन दल सत्तामा आएको थियो, त्यो दल संघीयतामा विश्वास गर्ने दल थिएन । लोकतन्त्रमा विश्वास गर्ने दल थिएन । त्यहीकारणले तीन वर्षमा झण्डै दुई तिहाईको मत प्राप्त गरेर पनि जनतालाई निराशाबाहेक केही दिन सकेन,’ उनले भने, ‘अब जनताले कांग्रेसको दूरदर्शी नेतृत्व चाहेका छन् । कांग्रेसकै नेतृत्वका कारण यो संविधान बन्यो । यो संविधानको कार्यान्वयन गर्ने जिम्मेवारी पनि कांग्रेसले लिनुपर्छ । म कांग्रेसको सभापतिमा निर्वाचित भएर यो कुरा भन्न चाहान्छु, कि यो संविधान लावारिस छैन, यो संविधानको जिम्मेवारी हाम्रो हो । यसको सफल कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो हो । अब भाडभैलो हुँदैन ।’ उनले आसन्न महाधिवेशनले कांग्रेसलाई प्रष्ट वैचारिक बाटोमा अघि बढाउनुपर्ने बताए ।

निधिले पार्टी र देशमा युवा नेतृत्वको खाँचो भएको भन्दै त्यसका लागि आफू उम्मेदवार बनेको दाबी गरे । ‘कांग्रेसमा युवाहरुको संख्या ४० प्रतिशत पुगेको छ । कांग्रेस र देशको नेतृत्वमा युवा पुस्ता आउनुपर्छ । युवा नेताले देशको नेतृत्व गर्न सकोस् । म त्यसका लागि सहजकर्ता बन्न चाहान्छु, त्यसैका लागि म सभापतिमा उम्मेदवार बन्न चाहन्छु,’ निधिले घोषणा गरे ।

प्रकाशित : भाद्र ११, २०७८ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?