कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको धर्ना

क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्न माग

भाद्र ८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूले धर्ना दिएका छन् । मंगलबार बिहानैदेखि पार्टी कार्यलयमा पुगेर उनीहरुले नामावाली सार्वजनिक गर्न माग गर्दै धर्ना दिएका हुन् । 

सोमबार राति पार्टी सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले क्रियाशील सदस्य छानबिन समितिको प्रतिवेदन बुझाएका थिए । 

जिल्ला सभापतिहरुले पटक पटक पार्टी नेतृत्वलाई नामावली सार्वजनिक गर्न माग गरे पनि वेवस्ता गरेको भन्दै आफूहरु बाध्य भएर धर्नामा बस्‍नु परेको जनाएका छन् । सदस्यताका विषयमा देखिएको विवाद मिलेपछि प्राविधिक तयारी पूरा गरी कांग्रेसले अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 

सदस्यतालाई पारदर्शी बनाउन माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता र जिल्ला सभापतिहरुले सदस्यको नामावली सार्वजनिक गर्न माग गर्दै आएका छन् । जिल्ला सभापतिहरुले त क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै सम्पूर्ण सूची सोमबारभित्रै सार्वजनिक गर्न 'अल्टिमेटम' दिएका थिए । 

सोमबारै सदस्यको नामावली सार्वजनिक नभएपछि मंगलबारदेखि केन्द्रीय कार्यालयमा उनीहरुले धर्ना दिन थालेका हुन् । 

यसपटक देशैभरिबाट क्रियाशील सदस्यको विवरण सफ्टवेयरमा इन्ट्री गर्ने व्यवस्था गरिएकाले अन्तिम नामावलीसमेत डिजिटल कपीमै तयार हुनेछ । त्यसैले त्यो सार्वजनिक गर्न समेत सहज हुने स्रोतको भनाइ छ ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully