पौडेल समूहको निष्कर्ष- सदस्यताकै कारण फेरि महाधिवेशन प्रभावित हुनुहुँदैन- समाचार - कान्तिपुर समाचार

पौडेल समूहको निष्कर्ष- सदस्यताकै कारण फेरि महाधिवेशन प्रभावित हुनुहुँदैन

पौडेल समूहबाट एकजनाले मात्रै सभापतिमा उम्मेदवारी दिने भन्ने विषयमा छलफल
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षीहरुले सामूहिक छलफल गरी क्रियाशील सदस्यताकै कारण फेरि पनि महाधिवेशनको कार्यतालिका प्रभावित पार्न नहुनेमा जोड दिएका छन् ।

सदस्यता विवादका कारण चौथोपटक तोकिएको महाधिवेशनको कार्यतालिका समेत प्रभावित हुने अवस्था आएपछि पौडेल समूहका शीर्ष नेताहरुले विवादलाई चाँडो समाधान गरेर महाधिवेशनको प्रक्रियालाई अगाडि बढाउनुपर्ने बताएका हुन् ।

कांग्रेसले अब दश दिनपछि १८ भदौमा वडा अधिवेशन गर्ने कार्यतालिका छ । तर, अहिलेसम्म पनि सदस्यताको टुंगो लगाउन भने सकेको छैन ।

क्रियाशील सदस्यताकै कारण महाधिवेशन स्थगित गर्नुपर्ने अवस्था आउन दिन नहुने, जिल्ला सभापतिहरुको माग बमोजिम क्रियाशील सदस्यताको विवरण तत्काल सार्वजनिक गर्नुपर्ने र पौडेल समूहबाट एक जनामात्रै उम्मेदवार बन्नुपर्ने भन्ने विषयमा सामूहिक छलफल केन्द्रित भएको केन्द्रीय सदस्य बलबहादुर केसीले जानकारी दिए । ‘सबै नेताहरुले धारणा राख्नुभयो । सबैको कुरा अब पनि क्रियाशील सदस्यता विवादकै कारण महाधिवेशनलाई प्रभावित गर्नुहुँदैन, चाँडोभन्दा चाँडो सदस्यताको टुंगो लगाएर महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्छ भन्ने छ,’ केसीले ईकान्तिपुरसँग भने ।

उनका अनुसार नेताहरुले जिल्ला सभापतिहरुको माग बमोजिम तत्काल क्रियाशील सदस्यको नामावली वेबसाइटमा सार्वजनिक गर्न माग गरेका छन् । ‘कसको सदस्यता छ ? छैन ? कम्तिमा त्यो कुरा त थाहा पाउनुपर्छ, सदस्यतानै छ/छैन ? भन्ने थाहा नपाई कसरी अधिवेशनको तयारी गर्ने ?,’ उनले भने ।

छलफलमा सभापतिका आकांक्षी नेताहरुले आ–आफ्नो दाबी प्रस्तुत गरेका थिए । तर, नेताहरुबीच सभापति जित्ने गरी एकजनामात्रै उम्मेदवार तय गरेर अघि बढ्नुपर्ने विषयमा समेत छलफल भएको छ ।

‘पहिलो कुरा त अधिवेशनको सुनिश्चितता नै हो । अधिवेशन समयभित्रै गर्नुपर्छ । त्यसका लागि आवश्यक तयारीमा जुट्न सबैलाई आग्रह गर्ने कुरा हो,’ केसीले भने, ‘त्योसँगै हाम्रो समूहबाट एकजनाले मात्रै सभापतिमा उम्मेदवारी दिने भन्ने विषयमा छलफल भयो । आजबाट कम्तिमा त्यो विषयमा पनि छलफल सुरुवात भएको छ ।’

नेता केसीले सम्भव भएसम्म वडा अधिवेशनभन्दा अगाडि नै एकजनाको नाममा सहमति गर्ने, नभए कम्तिमा एकजनामात्रै उम्मेदवार बन्छौं भन्नेसम्मको प्रतिवद्धतासहित कार्यकर्तामाझ सन्देश दिनुपर्ने विषयमा आफूहरुले दबाब दिएको बताए । ‘आफ्नै समूहभित्रको प्रतिष्पर्धाले पार्टीको नेतृत्व गुमाउने कुरा हुँदैन । त्यसैले बेलैमा छलफल गरेर टुंगोमा पुगौं भन्ने हाम्रो जोड हो । धेरै उम्मेदवार बन्ने कुराले वडा अधिवेशनदेखि नै नेतृत्व चयन प्रभावित हुन्छ । त्यसैले एकताको सन्देश दिनुपर्छ भनेर जोड दिएका छौं,’ केसीले भने, ‘छलफललाई निरन्तर गर्ने र वडा अधिवेशन अगावै एकजनामात्रै उम्मेदवार तयार गर्नुपर्छ भन्नेमा नेताहरुको जोड छ ।’

‘दिनदिनै महामारी बढ्दो छ । यस्तो बेला कसरी महाधिवेशन हुन्छ, यसबारे के छलफल भयो ?’ भन्ने जिज्ञासामा नेता केसीले भने, ‘सदस्यताको कारण महाधिवेशन प्रभावित हुनुहुँदैन भन्ने हो । अब महामारीको कुरा त हाम्रो काबुमा छैन । ठूलो जनधनको क्षति हुने अवस्था भयो भने त्यो हाम्रो काबुको विषय होइन ।’

नेपाल ट्रेड युनियन कांग्रेसका नेताहरुको संयोजनमा बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलको आयोजना गरिएको थियो । छलफल करिब साढे दुई घण्टासम्म चलेको थियो ।

छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र रामशरण महत, केन्द्रीय सदस्यहरु डा.शेखर कोइराला, सुजाता कोइराला, बलबहादुर केसी, जीवन परियार लगायत सहभागी थिए ।

प्रकाशित : भाद्र ७, २०७८ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्

‘ओलीसँग मिल्न न्यूनतम लोकतान्त्रिक अभ्यासको स्पेस चाहिन्छ’

संविधानले जुन शक्तिलाई पराजित गर्‍यो त्यसको अरुचि पनि बुझ्न सकिन्छ । ती शक्तिहरू कताकता समन्वयात्मक ढंगले काम गरिरहेको देखिन्छ । चीन र पश्चिमाहरूबीच जुन द्वन्द्व छ, त्यसमा हामीलाई घिसार्नका लागि कुनै शक्तिले प्रयोग गरिरहेका छैनन् ? कताकता शंका लाग्ने गरेको छ । एउटा सामाजिक आधार भएको एमाले जस्तो शक्ति तहसनहस भयो भने उनीहरूको डिजाइन लागू गर्न सकिन्छ भन्ने खेल भएको हुन सक्छ ।
मणि दाहाल

काठमाडौँ — २०३६ सालको आन्दोलनका चर्चित विद्यार्थी नेता टंक कार्की अहिले एमालेका केन्द्रीय सदस्य छन् । चीनका लागि पूर्वनेपाली राजदूत कार्की एमाले अध्यक्ष ओलीको पार्टी सञ्चालन शैलीसँग असन्तुष्ट रहेका छन् तर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल गठन गर्ने प्रक्रियामा सहभागी भएका छैनन् ।

एमालेभित्रको विवाद र नयाँ दल गठनको विषयमा उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

एमाले विभाजनको अवस्था किन आयो ?

इतिहासदेखि नै एमालेभित्र सञ्चित हुँदै आएको विकृतिहरूको विस्फोट हो । यसलाई ओली ‘भर्सेस’ माधव वा अरु केही मात्रै होइन । पार्टीको प्रणालीगत संरचनाले विकास गरेको शक्तिको केन्द्रीकरण ‘भर्सेस’ प्रजातान्त्रिकरण प्रक्रियाहरूको अन्तरविरोध अभिव्यक्त भएको हो । २०४६ सालको परिवर्तनपछि मिसन र सत्तासँगको अन्तरसंघर्षलाई समन्वयात्मक ढंगले अघि लैजानुपर्नेमा हाम्रो प्राथमिकता सत्ताका लागि मिसन छाड्ने काम भयो । सत्तामा पुग्नका लागि वाञ्छित वा अवाञ्छित शक्ति सम्झौता, लसपस र विस्तारै सत्ताले उत्सर्जन गर्ने सुविधा र शक्तिसँगको आशक्ति नेतृत्व वर्गमा अत्याधिक बढी भयो । जसले गर्दा पार्टीभित्रै दुईटा वर्ग निर्माण भए । ‘नववर्ग’को पार्टीको सिद्धान्त, विचारप्रतिको ओठेभक्ति र मिसनसँगको प्रगतिको चाहाना रहेको तल्लो तहका कार्यकर्ताबीच अन्तर विरोध भयो । कार्यकर्ताले मिसनमा कति प्रगति भयो भनेर हेर्दा त्यो देखेनन् । त्यो अझ परित्यक्त भएको पनि देखे ।

तल्लो तहमा अलिअलि रहेका संस्थागत संरचनाहरू तहसनहस हुन थाले । । भीमकाय संरचनाहरू बने, तर निर्णय गर्ने संरचना हेर्‍यौं भने एक वा दुई जनाले गर्ने परिपाटी विकास भयो । त्यसले उत्पन्न गरेको अन्तरविरोध हो । अर्कोतर्फ हामीले पाएको सत्तालाई सदुपयोग पनि गरेनौं । हामीले करिब दुई तिहाइ सिट ल्याएपछि राष्ट्रको कायापलट गर्ने ५/७ वटा योजनामा मात्रै सरकार केन्द्रित भएर अन्य खुद्रामसिना कुरा पार्टी वा अन्य कसैले हेर्ने गरि छाडिदिएको भएपनि यस्तो समस्या आउने थिएन । तर नेतृत्वले भने निर्णयको सबै क्षेत्रमा आफूमात्रै पुग्ने हर्कत गर्‍यो । त्यसले पनि अन्तरविरोध सिर्जना गर्‍यो ।

विभाजन हुँदा वा विवादको कारण एमालेमा भएको क्षतिले ल्याउने परिणाम के हो ?

भित्र वा बाहिरका एमाले इतरशक्तिहरूले एमालेको चिहानभित्र आफ्ना हितहरू देखिरहेका छन् । त्यसको प्रभाव नेकपादेखि एमालेभित्रको विवादमा भएको चलखेलबाट देखिन्छ । २०६२/०६३ को जनआन्दोलन र संविधान बनाउँदा दुईटा घटनामा नेपाली जनताले ‘रणनीतिक स्वायत्तता’ प्रयोग गरे । जनआन्दोलनमा पनि दुईखम्बे नीतिकै सल्लाह लिएर बाहिरबाट आएका हुन् । तर हामीले त्यसलाई मानेनौं । गणतन्त्रमा जानुपर्छ भनेर जनताले त्यसको अवज्ञा गरे अर्को संविधान बनाउने समयमा पनि हाम्रो ‘रणनीतिक स्वायत्तता’लाई रोक्ने कोसिस भएको थियो । एकातिर बाह्य शक्तिले हाम्रो अवज्ञाको बदला लिन पनि चाहिरहेको थियो । संविधानले जुन शक्तिलाई पराजित गर्‍यो त्यसको अरुचि पनि बुझ्न सकिन्छ । ती शक्तिहरू कताकता समन्वयात्मक ढंगले काम गरिरहेको देखिन्छ । त्यसको प्रभाव पनि देखिन्छ । एमालेभित्रको बहसमा त्यो पनि छ । अर्को विषय अन्तर्राष्ट्रिय राजनीतिमा आइरहेको फेरबदल पनि हो । चीन र पश्चिमाहरूबीच जुन द्वन्द्व छ, त्यसमा हामीलाई घिसार्नका लागि कुनै शक्तिले प्रयोग गरिरहेका छैनन् ? त्यो कताकता शंका लाग्ने गरेको छ । एउटा सामाजिक आधार भएको एमाले जस्तो शक्तिलाई तहसनहस भयो भने उनीहरूको डिजाइन लागू गर्न सकिन्छ त्यो खेल भएको हुनसक्छ ।

एमाले विभाजनको फाइदा कसलाई भइरहेको छ ?

एमाले विभाजनबाट कांग्रेस, दरबार (पूर्वराजावादी) र माओवादी र अन्य विभिन्न बाह्य शक्तिहरूलाई पनि फाइदा छ ।

अन्तरविरोधका क्रममा तपाईंहरू माधव नेपालको साथमा रहेर लामो समयदेखि ओली विरोधी खेमामा बस्नुभयो । तर अहिले नेपाललाई किन छाड्नुभयो ?

ओलीजीले अभ्यास गरेको सर्वसत्तावादी रवैयाविरुद्ध अलग–अलग सोचाइ भएपनि हामी एकै स्थानमा लडेका हौं । तर कसरी लड्ने भन्ने विषयमा भने हाम्रा भिन्नता पनि रहे । अहिले जुन बाह्यशक्तिको प्रभाव छ, त्योसँग जुध्ने विषयमा केही साथीहरूले नजरअन्दाज गरे । उहाँहरूले एकछत्र रुपमा ओलीको सर्वसत्तावादलाई मात्रै बुझ्नुभयो । मुलुकमा मडारिइरहेको संकट, संकट सिर्जना गरिरहेका शक्तिहरूको बृहत्तर आयामलाई देख्नुभएन । त्यसले केही साथीहरूलाई उत्ताउलो बन्नका लागि मद्दत गरेको छ । जति संयोजित, विवेकशील र जिम्मेवारीपूर्ण ढंगले यो अन्तरविरोधलाई समाधान गर्नका लागि लाग्नुपर्दथ्यो त्यसमा चुकेका छन् । अहिले पनि एकता विषय आत्मसमर्पण होइन । सम्मानजनक एकताको कुरा मुद्दामा आधारित न्युनतम लोकतान्त्रिक अभ्यास गर्ने स्पेस चाहिन्छ भनेको हो ।

माधवकुमार नेपालले पार्टी गठन गर्नु भएको छ, त्यसमा तपाईहरू सहभागी हुनुहुन्न ?

हामी मूलतः एकताको पक्षमा छौं । विभाजनको पक्षमा हाम्रो रुझान हुने छैन ।

ओलीको सर्वसत्तावादको पनि कुरा गर्नुभयो र फेरि ओलीसँगै रहेर काम पनि गर्ने भन्नु भएको छ । यसमा कसरी संगती मिल्छ ?

डेमोक्रयाटिक स्पेस भयो भने अन्तरसंघर्ष गर्दै अघि बढ्न सकिन्छ । त्यो स्पेस भएन भने कसरी एकैस्थानमा हौंला र ?

डेमोक्रयाटिक स्पेस भित्र के–के पर्छ ?

यसभित्र १० बुँदे सहमति पर्छ । त्यो सहमतिमा डेमोक्रयाटिक स्पेस होला । कम्तिमा पनि स्वेच्छाचारी नभई संस्थागत निर्णय हुने अवस्था हो । कम्तिमा पनि महत्त्वपूर्ण निर्णयहरूमा संस्थागत निर्णय गर्ने परिपाटी होस भन्ने हो । त्यसप्रति ओली प्रतिबद्ध हुने आधार खोजेका हौं ।

अहिले जुन रुपमा अध्यक्ष ओलीले पार्टी सञ्चालन गर्नुभएको छ । तपाईंहरूले उठाउनु भएको विषय कसरी सम्बोधन होला र ?

ओलीजीको समूहभित्र रियलाइजेसन बढ्दै गएको देखिन्छ । तर ओलीजीमा व्यक्तिगत रुपमा कति छ, त्यो थाहा छैन । उनीहरूले रियलाइजेसन गरेका छैनन् भने चाँडै बुझ्नेछन् समय बलावान हुन्छ ।

कम्युनिष्ट आन्दोलनमा पछिल्लो चरणमा विभाजनको नयाँ श्रृंखला फेरि सुरु भएको छ । यो रोकिन कति समय लाग्छ ?

नेपालको कम्युनिष्ट आन्दोलन अहिले अवसादको चरणमा प्रवेश गरेको छ । आजको भोलि नै यो अवसादको चरण समाप्त हुँदैन । अझै केही समयसम्म यो जानेछ । अहिले आत्मसमीक्षाको चरण पनि हो । यो प्रक्रिया पूरा भएपछि फेरि पुन: संगठित र पुनर्जीवनले तीव्रता लिन्छ ।

यो चरण कहिले पूरा भएर नयाँ चरण सुरु हुन्छ ?

अवसादको प्रक्रिया सकिएर पुनर्जीवनको चरणमा पुरा हुनका लागि कम्तीमा २/३ वर्ष समय लाग्छ । विचार, संगठन, संस्कृति, संरचना र संस्थामा कहाँ समस्या रह्यो भन्ने विषयमा विहंगम आत्मसमीक्षा नगरिकन यो आन्दोलन एउटा जखमले नेतालाई अघि राखेर त्यसको प्रलापमा पार्टीले पुनर्जीवन पाउँदैन ।

चुनाव आउँदैछ, विभाजनको असर कति पर्छ ?

चुनाव फेस गर्ने हो । जुन अवस्थाबाट गुज्रिएका छौं त्यसबाट अहिले नै कस्तो परिणाम आउँछ भनेर आकलन गर्न सकिन्छ, हाम्रो लागि त्यति उत्साहजनक हुँदैन ।

प्रकाशित : भाद्र ७, २०७८ १६:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×