कांग्रेस क्रियाशील सदस्यता प्रतिवेदन सभापतिलाई- समाचार - कान्तिपुर समाचार

कांग्रेस क्रियाशील सदस्यता प्रतिवेदन सभापतिलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अन्तिम प्रतिवेदन सोमबार राति पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा मीनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय टोलीले सदस्यता विवादका विषयमा नीतिगत समझदारी जुटाएर प्रतिवेदन बुझाएको हो । अब सभापति देउवाले प्रतिवेदनअनुसार सदस्यताको सूची निर्वाचन आयोगलाई बुझाएपछि मात्रै महाधिवेशनको प्रक्रिया सुरु हुन्छ । त्यसअघि तीन नेताले तय गरेको नीतिगत समझदारीलाई कार्यान्वयनमा लैजान लेखक संयोजक रहेको छानबिन समितिलाई जिम्मेवारी दिइएको छ ।

यता, संस्थापनबाहेकका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने माग राख्दै पार्टी केन्द्रीय कार्यालयमा मंगलबारदेखि धर्ना बस्ने तयारी गरेका छन् । क्रियाशील सदस्यताको विवरण पार्टीको वेबसाइटमा इन्ट्री गर्दा धाँधली गरिएको उनीहरूको आशंका छ । सदस्यताको सूची सार्वजनिक भएपछि मात्रै अधिवेशनको प्रक्रिया अघि बढाइनुपर्ने उनीहरूको माग छ ।

प्रकाशित : भाद्र ८, २०७८ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्

१० बुँदे कार्यान्वयनमा ओली तयार

मोडालिटी तयार गर्ने जिम्मा तीन नेतालाई
बबिता शर्मा

काठमाडौँ — एमालेका मध्यमार्गी नेताहरूले पार्टी एकताका लागि अघि सारेका माग पूरा गर्न एमाले अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् । बालकोटमा सोमबार भएको मध्यमार्गी धारका नेतासँगको छलफलमा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न आफू तयार रहेको बताएका हुन् ।

‘१० बुँदे कार्यान्वयन गर्न म प्रतिबद्ध छु, यसमा मेरो व्यक्तिगत कुरा हैन, पार्टीभित्र देखिएको समस्या समाधान गर्ने उपाय तपाईंहरूले पहिल्याउनुभएको हो, यसको कार्यान्वयन गर्न म तयार छु,’ ओलीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘कार्यान्वयन कसरी गर्ने तपाईंहरू तय गर्नुस् । त्यसपछि संयुक्त बैठकले अनुमोदन गरेर तलसम्म पठाऔं ।’

ओली तयार भएपछि १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी तयार गर्ने जिम्मा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको ती नेताले बताए । तीन नेताले तयार गरेको मोडालिटी मंगलबार संयुक्त रूपमा बस्ने स्थायी कमिटी बैठकमा पेस गर्ने तयारी छ । बैठकमा मध्यमार्गी नेताहरू पनि सहभागी हुने भएका छन् । यद्यपि स्थायी कमिटीमा रहेका पूर्वमाओवादी नेताहरू सहभागी हुने/नहुने भन्ने टुंगो छैन । ती नेताका अनुसार १० बुँदे सहमति कार्यान्वयनको मोडालिटीमा पार्टीलाई माओवादी केन्द्रसँग एकता हुनुपूर्वको अवस्थाबाट सक्रिय बनाउनेदेखि फागुन २८ यता भएका निर्णयहरू खारेजको प्रक्रिया के हुने भन्ने विषय तयार हुनेछ ।

‘तीन नेताले तयार गर्ने मोडालिटीमा पार्टीलाई २०७५ जेठ २ मा फर्काएर सबै तहका पार्टी कमिटी, जनसंगठनलाई सर्लक्क पुरानै अवस्थामा क्रियाशील हुन कसरी निर्णय गर्ने भन्ने हुन्छ । दोस्रो, फागुन २८ यता भएका एकपक्षीय निर्णयहरू कसरी बदर गर्ने भन्ने सन्दर्भमा पनि ठोस रूपमा नै हुनुपर्छ,’ मध्यमार्गी धारका ती नेताले भने, ‘तेस्रो, यो बीचमा भएका समानान्तर कमिटीहरूका सन्दर्भमा एउटा निर्णय हुन्छ । चौथो, सदस्यता नवीकरण, विधान महाधिवेशनको मिति तय भइसकेको छ, त्यसको पुनः कार्यतालिका बनाउनेलगायतका विषय मसिनो गरी तयार गर्नुपर्छ । मोडालिटी तयार भएपछि मध्यमार्गी नेताहरूबीच स्थायी कमिटी बैठकअघि छुट्टै छलफल हुने ती नेताले बताए ।

मध्यमार्गी धारका नेता रावलसहित स्थायी कमिटीका ९ सदस्यले बिहीबार वक्तव्यमार्फत १० बुँदे कार्यान्वयन र नेपालसहित १४ सांसदमाथिको कारबाही फिर्ता लिन ओलीसँग माग राखेका थिए । ओलीसँगको भेटमा पनि नेताहरूले १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन आग्रह गरेका थिए । ‘माधवजीहरू पार्टी दर्ताको प्रक्रियाबाट पछाडि हट्नुहुन्छ भने कारबाही फिर्ताको अर्थ हुन्छ, नभए कारबाही फिर्ता भन्नु कसरी जायज हुन्छ र ?’ नेताहरूको आग्रहपछि ओलीले भनेका थिए, ‘तर मैले व्यक्तिगत रूपमा धेरैपटक अपिल गरें । बरु स्थायी कमिटी बैठकबाट औपचारिक रूपमा एकताका लागि अपिल गरौं, त्यसमा म तयार छु ।’

विगतका अन्तर्द्वन्द्वलाई लिएर कसैलाई पनि पक्षपातपूर्ण व्यवहार नहुने दाबी पनि ओलीले गरेका छन् । बालकोटमा भएको छलफलपछि एमाले सचिव योगेश भट्टराईले भने, ‘अध्यक्ष कमरेडले पार्टीलाई एकताबद्ध बनाउन जिम्मेवार छु, कसैप्रति भेदभाव र अन्याय हुँदैन भन्ने सुनिश्चितता अब स्थायी कमिटी बैठकले गर्छ भन्नुभएको छ ।’

बालकोटमा भएको छलफलमा अध्यक्ष ओली र महासचिव पोखरेलसहित उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य, भट्टराई, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघु पन्त थिए । मध्यमार्गी नेताहरूले एमाले विभाजन गरी नयाँ पार्टी दर्ताको प्रक्रियामा रहेका नेता माधवकुमार नेपाललाई पनि पछाडि हट्न माग गरेका थिए । तर, नेपाल पक्ष पार्टी दर्ता प्रक्रियाबाट पछाडि नहट्ने बताइसकेको छ ।

प्रकाशित : भाद्र ८, २०७८ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×