कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कांग्रेस महाधिवेशन

क्रियाशीलको सूचीमा जिल्ला सभापतिकै नाम नभएपछि...

काठमाडौँ — कांग्रेसका संस्थापन इत्तर समूहका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न माग गर्दै चार दिनदेखि रिले अनसन गरिरहेका छन् । संस्थापन पक्षले मनोमानी ढंगले सदस्यता थपघट गरेको भन्दै नामावली सार्वजनिक गरेर त्यसमा थपघट गर्ने मौका दिनुपर्ने उनीहरुको माग छ ।

क्रियाशीलको सूचीमा जिल्ला सभापतिकै नाम नभएपछि...

त्यही सिलसिलामा शुक्रबार साँझसम्म सभापति शेरबहादुर देउवाले ४८ जिल्लाको क्रियाशील सदस्यताको सूची केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरे । समितिले पनि तत्कालै वेबसाइटमा सार्वजनिक गर्‍यो । तर, जिल्ला सभापतिको मागबमोजिम त्यहाँ थपघट गर्न पाउनुपर्ने सुविधा भने दिइएको छैन । शुक्रबार साँझ नै देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग छलफलबाट जिल्ला सभापतिहरुका मागको सम्बोधन गरेर अनसन तोडाउने र तोकिएकै मितिमा एकैसाथ वडा अधिवेशन गर्ने सहमति जुटाए ।

शनिबार जिल्ला सभापतिहरुको अनसन तोडाउने विषयमा छलफल चलिरहेको छ । तर, त्यही बेला जिल्ला सभापतिकै सदस्यता नवीकरण नभएको थाहा पाएपछि जिल्ला सभापतिहरुले पुन: अनसन र धर्नालाई चर्काएका छन् । शुक्रबार सार्वजनिक भएको क्रियाशील सदस्यताको सूचीमा रुकुम पूर्वका जिल्ला सभापति केशरमान रोकाकै नाम छैन । जिल्ला सभापतिहरुले भने नियतवश वा प्राविधिक कारणवश जसरी नाम छुटेको भएपनि त्यसलाई सच्याउने गरी क्रियाशील सदस्यता सार्वजनिक हुनुपर्ने विषयलाई थप जोड दिएर उठाएका छन् । जिल्ला सभापतिहरुको धर्ना र अनसनको नेतृत्व गरिरहेका नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले आफूहरुका जायज माग सम्बोधनमा पनि संस्थापनले बेवास्ता गरेर महाधिवेशनलाई पर धकेल्न खोजिरहेको आरोप लगाए । ‘हामीले जायज माग गरेका छौं । यो पहिल्यै सार्वजनिक गरेर सच्याउने, थपघट गर्ने मौका दिएको भए समस्या नै हुने थिएन, अहिले मतदाता नामावलीमा जिल्ला सभापतिकै नाम छैन,’ केसीले इकान्तिपुरसँग भने, ‘जिल्ला सभापतिकै सदस्यता काटिएको छ भने देशभरिका नेता कार्यकर्ताको के हालत होला ?’

आफूहरुका माग सम्बोधन गरेर अनसन तोडाउने भनिएपनि अपराह्नसम्म केन्द्रीय कार्यालयमा कोही नेताहरु नआएको केसीले बताए । ‘अहिलेसम्म कोही आएको छैन । त्यसैले हाम्रा मागहरुमा थप जोड दिएर आन्दोलनलाई अघि बढाउँछौँ,’ उनले भने, ‘बिहान दिउँसोसम्म अनसन तोड्नुपर्छ भन्ने कुरा भएको थियो । त्यो जिम्मेवारी कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदललाई दिइएको थियो । तर, मैले सुनेअनुसार संस्थापन पक्षका नेताहरुले मान्नुभएन रे, त्यसैले उहाँहरु आउनुभएन, हामीले पनि अनसनलाई निरन्तरता दियौँ ।’

शनिबार अपराह्नबाट उदयपुरका सभापति विदुर बस्नेत, संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ र काठमाडौंका सभापति कृष्ण बानियाँ २४ घण्टे रिले अनसनमा बसेका छन् । उनीहरुसँगै सवल कांग्रेसका तर्फबाट युवा नेतृद्धय गोमा केसी र प्रतिमा गौतम पनि अनसनमा बसेका छन् ।

यसअघि शुक्रबार रोल्पाका सभापति अमरसिंह पुन, सिन्धुपाल्चोकका सभापति विकास लामा र सोलुखुम्बुका सभापति विनोद बस्नेत अनसन बसेका थिए । त्यसअघि सुर्खेतका सभापति कमलराज रेग्मी, डोल्पा सभापति अंगद बुढा, तनहुका सभापति बैकुण्ठ न्यौपाने, नुवाकोट सभापति जगदिश्वरनरसिंह केसी, काभ्रे सभापति मधु आचार्य र धादिङ सभापति रमेश धमलाले २४ घण्टे अनसन पूरा गरिसकेका छन् ।

जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्नुपर्ने र त्यसमा सच्याउने समय दिनुपर्ने, जिल्ला सभापतिको उम्मेदवार बन्न तोकिएको फरक–फरक मापदण्डलाई एकरुपता दिनुपर्ने लगायत माग गरेका छन् ।

बालुवाटारमा शीर्ष नेताहरु छलफलमा

जिल्ला सभापतिका माग सम्बोधन गर्ने र अनसन तोडाउने विषयमा सिटौला नेतृत्वको कार्यदलले सहमति जुटाउन नसकेपछि बालुवाटारमा शीर्ष नेताहरु नै छलफलमा जुटेका छन् । कार्यदलले मात्रै सहमति गरेर अनसन तोडाउन नसक्ने जनाएपछि शीर्ष नेताहरुसहित कार्यदलले छलफल थालेको हो । छलफलमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु मिनेन्द्र रिजाल र रमेश लेखक लगायत सहभागी छन् ।

यसअघि शुक्रबार साँझ पनि देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग छलफल गरेका थिए । सोही छलफलबाट जिल्ला सभापतिहरुका माग सम्बोधन गर्ने र तोकिएकै मितिमा महाधिवेशन गर्ने विषयमा नेताहरुबीच समान धारणा बनेको थियो ।

प्रकाशित : भाद्र १२, २०७८ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?