कांग्रेस महाधिवेशन : २० जिल्लाको सदस्यता अझै टुंगिएन

५३ जिल्लामा निर्वाचन सामाग्रीसहित निर्वाचन अधिकृत खटिए

भाद्र १४, २०७८

प्रकाश धौलाकोटी

काठमाडौँ — कांग्रेसले अब तीन दिनपछि वडा अधिवेशन गर्ने मिति तोकेको छ । नेताहरु अहिले पनि देशैभरि एकैसाथ वडा अधिवेशन गर्ने तयारी भएको बताइरहेका छन् । तर, अझैपनि २० जिल्लामा क्रियाशील सदस्यको टुंगो लागेको छैन । कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सैद्धान्तिक सहमति गरेर टुंगो लगाएकासहित अन्य राजनीतिक दलबाट पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेकाहरुको सदस्यताको विषय टुंगिएको छैन ।

‘हामी छलफलमै छौं । काम गरिरहेका छौं । यो प्राविधिक काम हो । अहिले सार्वजनिक भएकै नामावलीमा थपघट गर्नुपर्ने, सच्याउनुपर्ने गुनासो आइरहेको छ,’ सदस्यताको टुंगो लगाउन खटिएका एक केन्द्रीय सदस्यले भने, ‘कार्यदलले सैद्धान्तिक सहमति गरेका ठाउँको पनि काम सकिएको छैन । रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले दिएको निर्णयबमोजिमको प्राविधिक काम पनि बाँकी नै छ ।’

कांग्रेसले सोमबार साँझसम्म ५७ जिल्लाका क्रियाशील सदस्यको सूची तयार गरेको छ । ‘आजसम्म ५७ जिल्लाका सदस्यको सूची तयार भयो । त्यो निर्वाचन समितिलाई हस्तान्तरण भइसकेको छ, अब उसले सार्वजनिक गर्छ,’ केन्द्रीय सदस्य प्रदीप पौडेलले भने । बाँकी २० जिल्लाको सदस्यता टुंग्याउने विषयमा पनि काम भइरहेको उनले बताए । ‘प्रदेश २ का सबै जिल्लाको सदस्यता टुंगिएको छैन । सिन्धुपाल्चोक, रसुवा, काभ्रपलाञ्चोक लगायत जिल्लाको पनि काम बाँकी छ,’ नेता पौडेलले भने । 

सदस्यताको टुंगो नलागेका जिल्लामा १८ भदौमै वडा अधिवेशन हुने कि नहुने ? भन्ने अन्योल बढेको छ । नेता पौडेल भने सदस्यता टुंगो नलागेका जिल्लामा अर्को दिन अधिवेशन गर्ने गरी सदस्यताको टुंगो लागेका जिल्लाहरुमा १८ भदौमै अधिवेशन हुने बताउँछन् । ‘जहाँको अन्तिम नामावली तयार हुन्छ, ती जिल्लामा तोकिएकै मितिमा एकैदिन अधिवेशन हुन्छ, अन्य जिल्लामा सदस्यताको टुंगो लागेपछि क्रमश: पालिका अधिवेशनभन्दा अगाडि नै वडा अधिवेशन गरिसक्नुपर्ने हुन्छ,’ उनले भने । 

केन्द्रीय निर्वाचन समितिले भने अहिलेसम्म ५३ जिल्लाको मात्रै सदस्यता प्राप्त भएको जनाएको छ । समितिले सोमबारसम्म ५३ वटै जिल्लामा निर्वाचन सामाग्रीहरुसहित जिल्ला निर्वाचन अधिकृतहरु पठाएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । ‘हामीलाई अहिलेसम्म प्राप्त भएको सदस्यताको सूची ५३ जिल्लाको हो । हामीले ती सबै जिल्लाको सदस्यताको सूची वेबसाइटमा पनि सार्वजनिक गरिसकेका छौं,’ श्रेष्ठले भने, ‘ती जिल्लामा हामीले निर्वाचन अधिकृतहरु पनि खटाइसकेका छौँ ।’ उनले ७७ वटै जिल्लाका लागि निर्वाचन सामाग्रीहरुको प्याकिङ गरी तयारी अवस्थामा राखिएको र सदस्यताको टुंगो लाग्ने बित्तिकै बाँकी जिल्लामा पनि निर्वाचन अधिृकतहरु खटाइने जानकारी दिए ।

क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमै ८ लाख ५२ हजार ७११ जनाको नामावली छानबिन गरी केन्द्रीय समितिलाई बुझाएको थियो । त्यसबाहेक सिटौला नेतृत्वको कार्यदलले सहमति गरे बमोजिम कति जना सदस्य थपिएका छन् भन्ने यकिन भएको छैन ।

समयमा महाधिवेशन नगरेका कारण २३ भदौपछि कांग्रेसको वैधानिकता के हुने ? भन्ने अन्योल छ । विधान र संविधानको व्यवस्था बमोजिम कांग्रेसले २३ भदौभित्र निर्वाचन आयोगमा प्रदेश र संघीय कार्यसमितिको निर्वाचन गरेर निर्वाचित पदाधिकारीहरुको विवरण अद्यावधिक गरिसक्नुपर्ने हो । तर, कांग्रेसले क्रियाशील सदस्यताको विवादका कारण समयमै महाधिवेशन गर्न सकेन । कम्तिमा त्यो मितिभित्र वडा अधिवेशन सुरु गरेर भएपनि पार्टीको वैधानिकता बचाउन सकिने भन्दै नेताहरुले १८ भदौदेखि महाधिवेशन गर्ने कार्यतालिका ल्याएका हुन् । 

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १८ भदौमै सबै वडामा एकैसाथ अधिवेशन हुनुपर्ने दाबी गर्दै आएको छ भने सभापति शेरबहादुर देउवा पक्षीय नेताहरु भने भने सम्भव नभएका ठाउँमा क्रमश: पालिका अधिवेशनभन्दा अघिसम्म अधिवेशन गर्ने बताउँदै आएका छन् । कांग्रेसले गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते गर्ने कार्यतालिका छ । त्यस्तै, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ । त्यस्तै, आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ । 

कांग्रेस महाधिवेशन

प्रकाश डेढ दशकदेखि पत्रकारितामा क्रियाशील धौलाकोटी हाल ईकान्तिपुरसँग आबद्ध छन् । उनी सामाजिक तथा राजनीतिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully