फुटको संघारमा जसपा : दल दर्ताको तयारी पूरा गरी अध्यादेशको पर्खाइमा ठाकुर पक्ष


काठमाडौँ — सरकारले राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएर दल विभाजनको कानुनी व्यवस्था खुकुलो बनाउने सिफारिस गरेसँगै संसद्को तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) पनि विभाजनको संघारमा पुगेको छ ।

जसपाको महन्थ ठाकुर पक्षले दल विभाजनका लागि तयारी अन्तिम चरणमा पुर्याएको छ । साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पनि विपक्षमा बसेको ठाकुर पक्षले पार्टीभित्रको विवादका कारण दल विभाजन गर्न लागेको हो ।
जसपाको ठाकुर पक्ष दल विभाजनबारे बुधबार बिहानैदेखि बैठक गरिरहेको छ । ठाकुरका स्वकीय सचिव सत्येन्द्र मिश्रले संघीय सांसद र केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू बिहान ८ बजेदेखि पार्टी कार्यालय बबरमहलमा बैठक चलिरहेको जानकारी दिए । उनले पार्टीभित्रको पछिल्लो अवस्था र राजनीतिक दलसम्बन्धि अध्यादेश अगाडि बढेको बारेमा छलफल भइरहेको जानकारी दिए ।
जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाले दल विभाजनबारे छलफल भइरहेको बताए । ‘हामीहरू अहिले पनि छलफलमा नै छौं । अब राष्ट्रपति कार्यालयबाट कतिबेला अध्यादेश जारी हुन्छ त्यसको पर्खाइमा हामी छौं ।’
दल विभाजन गर्न लाग्नुभएको हो भन्ने प्रश्नमा अरगरियाले भने, ‘त्यसबारे नै छलफल भइरहेको छ ।’
ठाकुर पक्षले दलको नाम र विधान लगायतका विषयमा छलफल गरिरहेको नेताहरूले जानकारी दिएका छन् ।
त्यस्तै, जसपाको आधिकारिक पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि बसिरहेको छ । मंगलबारदेखि जारी बैठकमा पार्टीभित्रका समस्या र संगठनका बारेमा छलफल भइरहेको सांसद मोहम्मद इस्तियाक राइले जानकारी दिए । पार्टी विभाजन गर्न लागेको पक्ष तयारी पनि बैठकको एजेन्डा छ कि ? भन्ने प्रश्नको जवाफमा राइले भने, ‘त्यसबारे केही एजेन्डा छैन । कोही जान चाहन्छ भने जानुहोला । दलविहीन किन हुन दिनु ।’
जसपाको विवाद निर्वाचन आयोग पुगेको थियो । निर्वाचन आयोगले साउन ११ गते केन्द्रीय कार्यकारिणी समितिका ५१ सदस्यहरूको सनाखत (हेड काउन्ट) गरेर आधिकारिता उपेन्द्र यादव पक्षलाई दिएको थियो । त्यतिबेला यादवको पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्य उभिएका थिए भने ठाकुरको पक्षमा १६ र एकजना तटस्थ बसेका थिए । तटस्थ बसेका रेशम चौधरी पछि यादव पक्षमा खुलेका थिए ।
प्रतिनिधिसभाका ३२ सांसदमध्ये यादवको पक्षमा २० र ठाकुरको पक्षमा १२ जना छन् ।
निर्वाचन आयोगबाट अल्पमतमा परेपछि ठाकुर सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले उनको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । यसबीचमा ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरू मधेसका जिल्लमा गएर कार्यकर्ता भेला गरेका थिए भने अर्कोतिर यादवले उनीहरूको पद खोसेर साधारण सदस्य र सांसदमा मात्रै कायम राखेको थियो ।
यादवले बोलाएका बैठकमा ठाकुर पक्ष जान छोडेका थिए । मन्त्रिपरिषद्को मंगलबारको बैठकले राजनीतिक दल विभाजन अध्यादेश राष्ट्रपतिकहाा सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश अध्ययन गरिरहेको भन्दै जारी गरेकी छैनन् ।
अध्यादेश सिफारिस भएसागै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जसपा विभाजनको संघारमा पुगेका हुन् । एमालेको माधवकुमार नेपाल पक्ष पनि विभाजनको तयारीमा रहेको छ ।
प्रकाशित : भाद्र २, २०७८ १२:५५