नेपालले भने- ‘अहिले नयाँ पार्टी खोलौं, पछि भेट पनि हुनसक्छ’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालले भने- ‘अहिले नयाँ पार्टी खोलौं, पछि भेट पनि हुनसक्छ’

कान्तिपुर संवाददाता

काठमाडौँ — दल विभाजनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि एमाले नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी खोल्ने गरी तयारी थालेको छ । आफू निकट जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब नयाँ अभ्यासमा जाने उद्घोष गरेका हुन् । उनले एजेण्डा मिल्नेहरूसँग एकताको ढोका भने सधैं खुल्ला राख्ने उल्लेख गरेका थिए ।

तस्बिर : सन्जोग मानन्धर

‘हामीले फेरि नयाँ पार्टी खोलिहाल्यौंं भने एकताको ढोका खुल्ला हुनेछ,’ नेता नेपालले भेलालाई सम्बोधन गर्दै भने, ‘तीन महिना एक वर्षपछि भेट पनि हुन सक्छ ।’ उनले चुनावमा सिटको तालमेल गरेर जान सकिने र चुनाव पछि पनि भेट हुने सम्भावना भने रहेको उल्लेख गरे । हाललाई पार्टीबाट अलग भएर तत्काल अन्य दलमा आबद्ध नहुने उनको भनाइ थियो ।

उनले देशव्यापी रुपमा संगठन विस्तार गर्न सक्रिय हुन निर्देशन दिँदै भने, ‘हाम्रो सामु समाजवाद छ । परिवर्तनको एजेण्डा छ । क्रान्तिकारी एजेण्डा र संकल्पकासाथ जुट्नुहोस्, कमिटी बनाउन अघि बढ्नुहोस्, सदस्यताको विस्तार गर्नुहोस्, प्रत्येक वडावडामा बुझ्दै जानुहोस्,’ नेता नेपालले भने, ‘प्रदेश–प्रदेशमा पनि आफ्नो संगठन बनाउन लाग्नुहोस् ।’

उनले घुमाउरो बाटोबाट हिँड्नुपर्ने हुँदा कहिले दायाँ र बायाँ लाग्नुपर्ने अवस्था आउने बताए । ‘कहिले एकता त कहिले विभाजनको प्रक्रियाबाट जुट्नुपर्छ तर, फेरि नयाँ चरणमा भेट हुनेछ । राम्रो संस्कार र बानी व्योहोरा पालना गरौं । सभ्य र सुसंस्कृत बनौं । जीत हाम्रो अवश्यम्भावी छ ।’

प्रकाशित : भाद्र १, २०७८ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री देउवा र डा. केसीबीच बालुवाटारमा छलफल

डा. केसीले दिएको पछिल्लो अल्टिमेटम सिकन दुई दिन बाँकी
कान्तिपुर संवाददाता

काठमाडौँ — डा. गोविन्द केसीले सरकारलाई दिएको अल्टिमेटम सकिन २ दिन बाँकी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीसँग सिधा छलफल अगाडि बढाएका छन् ।

प्रधानमन्त्री देउवाले उनका माग बारे छलफल गर्न बालुवाटार बाेलाएपछि डा. केसी अधिवक्ता ओमप्रकाश अर्याल, डा. जीवन क्षेत्री र आफ्ना सहयोगी प्रितम सुवेदीसहित प्रधानमन्त्री निवास पुगेका छन् । छलफलमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की तथा डा. अन्जनीकुमार झा पनि सहभागी छन् ।

डा. केसी साउन २२ गते ५ बुँदे माग राख्दै सरकारलाई अल्टिमेटम दिएका थिए । निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो र गलत बाटोमा डोर्‍याउने प्रयास गरेको बताउँदै डा. केसी राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्ता गर्नुपर्ने लगायतका माग अगाडि सारेका छन् । उनले सरकारले भदौ ३ गतेसम्म आफ्नो माग पुरा नभएर पुन: सत्याग्रह सुरु गर्ने बताएका छन् ।

डा. केसीका मागहरु :

  • स्वार्थको द्वन्द्व हुने गरी नियुक्त गरिएका स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गरियोस् । अब उपरान्त व्यापारी, व्यवसायीहरुले नेता वा तिनका परिवारका सदस्यलाई करोडौं घुस ख्वाएर चोर बाटोबाट सांसद र मन्त्री हुने, सार्वजनिक संस्थाहरु डुबाउने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआउने सुनिश्चित गर्नका लागि स्वार्थको द्वन्द्वसम्बन्धी प्रष्ट कानुनी व्यवस्था गरियोस् । अवैध रुपमा बढी शुल्क लिएको पुष्टि भइसकेका मेडिकल माफियाहरुलाई चुनावको टिकट पाउन र समानुपातिक सांसद हुनबाट वञ्चित गरियोस् ।

  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेढ महिना बढी चलेको आन्दोलनका मागहरु पूरा गर्नेबारे हालै भएको सम्झौता अक्षरशः कार्यान्वयन गर्दै चार शीर्ष पदाधिकारीलाई पदमुक्त गरियोस् । बीपी प्रतिष्ठान लगायत कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा निष्पक्ष रुपमा पदाधिकारी मापदण्ड निर्धारण कार्यदलको सिफारिस अनुसार नयाँ पदाधिकारी नियुक्त गर्दै त्यसका लागि तत्काल कानुनी व्यवस्था गरियोस् ।

  • पूर्ववर्ती सरकारको संरक्षणमा रहेर चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई धम्क्याउने, नाजायज हस्तक्षेप गर्न खोज्ने तथा हाम्रो अभियानका सदस्यलाई भौतिक आक्रमणको धम्की दिने व्यक्तिलाई कानुन अनुसार कारवाही गरियोस् ।
  • विसं. २०८५ देखि नेपालको मेडिकल शिक्षा गैर–नाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले त्यो नीति कार्यान्वयन सुनिश्चित गरियोस् । अब कुनै पनि निजी मेडिकल कलेज नखोल्ने नीति सार्वजनिक गरियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस शुरु भइसकेको अवस्थामा आगामी शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस शुरु गर्ने कुरालाई निश्चित गरियोस् । २०८० सालसम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था पुर्याउनुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा रहेकाले प्रदेश नं. २ र गण्डकी प्रदेशमा पनि तदारुकताका साथ त्यस्ता संस्था निर्माणलाई गति दिइयोस् । हामीसित सम्झौता भएबमोजिम इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोल्ने कामलाई अघि बढाइयोस् । काठमाडौं विश्वविद्यालयको आंगिक र विस्तारित कार्यक्रम रहेका कलेजहरुमा समेत चिकित्सा शिक्षा ऐन अनुसार ७५ प्रतिशत छात्रवृत्तिको प्रावधान लागू गरियोस् ।
  • यस अगाडि हामीसित भएको सबै सम्झौताहरु कार्यान्वयन गरियोस् । तीमध्ये चिकित्सा शिक्षा ऐनको संशोधन गर्दा अध्यक्ष प्रधानमन्त्री तथा सहअध्यक्ष शिक्षा र स्वास्थ्यमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिने व्यवस्था गरियोस् ।



प्रकाशित : भाद्र १, २०७८ १८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×