काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यूआर कोडसहितको खोप प्रमाणपत्र नि:शुल्क गर्न निर्देशन दिएको छ ।
वैदेशिक रोजगारी र अन्य कार्यको लागि विदेश जानुपर्नेहरुले कोभिड–१९ विरुद्धको खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र अनलाइन फाराम भरी प्राप्त गर्नुपर्ने हुन्छ । यस्तोमा कतिपय म्यानपावर कम्पनीहरुलाई शुल्क बुझाउन परेका गुनासो मन्त्रालयमा आएको हुँदा मन्त्रालयले सार्वजनिक सूचनामार्फत यस्तो निर्देशन दिएको हो ।
सर्वसाधरणलाई मर्का पर्ने कुनै पनि किसिमका कार्यहरु नगर्न र नगराउन पनि मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
नियम विपरीत शुल्क लिएमा कडाभन्दा कडा कारबाहीको व्यवस्था गर्न सम्बन्धित सरोकारवालाहरुलाई समेत मन्त्रालयले आग्रह गरेको छ ।
